Comments Add Comment

अब दुई हजार ट्याक्सीको एउटै मोबाइल एप, अनलाइन बुकिङ सहज हुने


८ फागुन, काठमाडौं । नेपाल मिटर ट्याक्सी व्यवसायी संघले आफ्नै ‘अनलाइन ट्याक्सी बुकिङ’ सेवा सुरु गर्ने भएको छ । निजी क्षेत्रबाट विभिन्न कम्पनीले ट्याक्सीको अनलाइन बुकिङ थालेपछि ब्यवसायी संघ नयाँ प्रविधिको प्रयोगतर्फ आकषिर्त भएको हो ।

संघले तयार पार्ने मोबाइल एप प्रयोगमा आएपछि झण्डै २ हजार ट्याक्सी यसमा आवद्ध हुनेछन् । ट्याक्सीको प्रयोगलाई प्रविधिक र उपभोक्ता मैत्री बनाउन एप निर्माण सकेर परीक्षण भइरहेको नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष चेतप्रसाद गौतमले अनलाइनखबरलाई जानकारी दिए ।

अहिले चाहिएकै समयमा आफ्नो क्षेत्रमा ट्याक्सी नपाउने समस्या हल गर्न यो उपयोगी हुने संघको विश्वास छ । अहिले त झन मिटरमा जानै नमान्ने र बढी भाडा असुल्ने प्रवृत्तिबाट यात्रुहरु दिक्क छन् ।

थुप्रै ट्याक्सी आवद्ध रहेको व्यवसायीको संघमार्फत नै यो प्रविधिको प्रयोग सुरु भएपछि आफूलाई ट्याक्सी चाहिएकै बेला अनलाइनमा गएर एपमार्फत बुकिङ गर्न सकिने छ ।

धेरै ट्याक्सीले एकैपटक एपको प्रयोग सुरु गरेमा यात्रुलाई अनलाइनमा बुकिङ अझ सहज हुनेछ । आफ्नो क्षेत्र वरपरका नै ट्याक्सी सहजै अनलाइनबाट सेवका लागि बोलाउन सकिनेछ भने विकल्पहरु पनि प्रशस्त रहनेछ ।
अहिले पनि अनभर लगायत केही निजी कम्पनीले स्वरोजगार ट्याक्सीको प्रयोग गरेर अनलाइन बुकिङको सेवा सेवा दिइरहेका छन् ।

यस्ता एपमार्फत जोसुकैले ट्याक्सीलाई आफू भएको स्थानमा बोलाउन सक्छन् । यी ट्याक्सीले अरुले जस्तो किच-किच गर्ने छैनन् र मिटरकै आधारमा उठेको रकम लिनेछन् । किनभने बुकिङ गर्दा नै जानेस्थानसम्मको दूरी र भाडा एपमार्फत नै पहिले तपाईंलाई अटोमेटिक जानकारी दिइन्छ ।

संघले एपको सुरुवात गरेपछि झण्डै २ हजार ट्याक्सीले एपमार्फत आएको अनुरोधअनुसार तपाईंलाई सेवा दिनेछन् । यो सेवा दिन चाहाने ट्याक्सीले आपःुलाई यात्रु चाहिएका बेला जीपीएस अन गर्नेछन् । एपमार्फत यात्रुले अनुरोध गरेपछि उनीहरु स्मार्टफोनमा देखिने म्यापका आधारमा सेवाका यात्रु भएकै स्थानमा सेवा दिन पुग्छन् र गन्तब्यसम्म पुर्‍याउनेछन् ।

यस्ता एप डाउनलोड गरेपछि एकपटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर दर्ता गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएका बेला आफ्नो स्मार्टफोनबाट एप खोल्नुपर्छ ।

एप खुल्नासाथ आफू रहेको स्थानसहितको नक्सा देखाउँछ । र, ट्याक्सीमार्फत आफू कुन गन्तव्यमा पुग्ने हो, त्यही नक्साअनुसार क्लिक गर्नुपर्छ । आफू जाने गन्तव्यलाई अक्षरमा टाइप गर्ने सुविधा पनि हुनेछ । यस्तो एपले यात्रु पुग्नुपर्ने गन्तब्यको लागि सबैभन्दा छोटो रुट र लाग्ने भाडा स्वतः जानकारी दिन्छ ।

त्यसपछि एपमा यत्राु रहेको क्षेत्र वरपर रहेका ट्याक्सीहरु देखाउँछ । आफूबाट सबैभन्दा कम दूरीमा रहेको ट्याक्सीलाई सेवाका लागि अनुरोध गर्न सकिनेछ । ट्याक्सी चालकले यात्रुको ‘रिक्वेष्ट’ स्वीकारेपछि सेवा दिन त्यहीँ आइपुग्नेछ ।

अहिले प्रयोगमा रहेका अनलाइन ट्याक्सीका एपमा नेपाली यात्रुको भन्दा विदेशबाट आएका पर्यटकको बढी चासो देखिएको छ ।

विदेशमा यस्तो प्रविधि निकै प्रचलनमा छ । धेरै ट्याक्सी कम्पनीहरुले आफ्नै ट्याक्सीलाई यो सिस्टमबाट चलाउँछन् । तर, नेपालमा भने यो प्रविधि बिल्कुलै नयाँ रुपमा विकास हुँदैछ ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष गौतम नयाँ प्रविधि भएकाले सबै ट्याक्सीले प्रयोग गर्ने ग्यारेन्टी नहुने बताउँछन् ।

तर, प्रविधिलाई आत्मसात नगर्नेहरु अबपछि पर्ने भएकाले संघले नै आफ्नै एप बनाउन लागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment