Comments Add Comment

पुराण उदघाटन गर्न हेलिकोप्टरमा प्रधानमन्त्रीको सयर !

प्रदीप गिरी भन्छन्- 'गाउँका केटाले भने, मैले प्रधानमन्त्रीलाई भनें

८ फागुन, काठमाडौं । अबदेखि रिबन काट्ने काममा जान्न भनेर प्रतिवद्धता जनाएका कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा आयोजना गरिएको सप्ताह पुराणको उदघाटनमा गएका छन् ।

प्रधानमन्त्री सिराहा जाने कार्यक्रमबारे सोध्दा उनको सचिवलायले अनलाइनखबरसँग भन्यो- ‘कांग्रेस नेता प्रदीप गिरीको आग्रहमा प्रधानमन्त्री सिराहा जान लाग्नुभएको हो, त्यहाँ सप्ताह पुराणको उदघाटन गरेर उहाँ एक घण्टामै काठमाडौं फर्किइहाल्नुहुन्छ ।’

हामीले कांग्रेस नेता प्रदीप गिरीलाई सोध्यौं- ‘के तपाईंले प्रधानमन्त्रीलाई पुराण उदघाटनका लागि सिराहा लैजान लाग्नुभएको हो ?’

जवाफमा गिरीले यसमा आफूलाई नमुछ्न आग्रह गरे । उनले भने-‘ यसमा मलाई नमुछ्नोस् । गाउँका केटाहरुले पुराण लगाउँदैछौं, उदघाटनका लागि प्रधानमन्त्रीलाई भनिदिनुपर्‍यो भने, मैले प्रधानमन्त्रीलाई भनिदिएँ । म त माध्यम मात्रै हुँ, म आफूले पुराण लगाउन लागेको होइन ।’

सांसद गिरीले पुराणजस्तो विषयमा समाचार लेखिरहन जरुरी नभएको बताए । तर, प्रधानमन्त्री कहाँ जाँदैछन् र के कार्यक्रममा भाग लिँदैछन् भन्ने कुुरो त जनताको चासोको विषय हैन र ? अनलाइनखबरको यस्तो प्रश्नपछि गिरीले भने- ‘म फर्केर आएपछि पुराण के हो भन्नेबारे आर्टिकल लेखौंला ।’

स्रोतका अनुसार पुराण उदघाटनका लागि निम्तो दिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले प्रदीप गिरीलाई भनेका थिए, ‘आ.. त्यस्तो कार्यक्रममा पनि जाने र ?’ गिरीले प्रधानमन्त्रीलाई पुराणको महत्वबारे बताएका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले ‘तपाईं पनि जाने हो भने म जान्छु नि त’ भनेर वचन दिएका थिए ।

आइतबारदेखि सुरु हुने पुराणमा प्रधानमन्त्री प्रचण्डका साथै कांग्रेस नेता गिरी पनि सहभागी हुँदैछन् ।

प्रधानमन्त्रीले प्रदीप गिरीको वचन हार्न नसकेर पुराणमा गएकोप्रति प्रधानमन्त्रीको सचिवालयसमेत असन्तुष्ट रहेको बुझिएको छ ।

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर

प्रधानमन्त्री प्रचण्ड महत्वपूर्ण कामहरुमा भन्दा पनि घुमघाम र उदघाटनमा रमाउन थालेका छन् । शुक्रबार प्रचण्ड हेलिकोप्टर चढेर रोल्पा महोत्सवमा पुगेका थिए ।

चुनावको तयारीका लागि अहोरात्र खटिनुपर्नेमा प्रधानमन्त्रीले राजनीतिक सम्वाद एवं दैनिक कामहरु गर्नुभन्दा पनि जिल्ला महोत्सवदेखि पुराण उदघाटनसम्म समय खर्च गर्ने क्रम अरु बढेको छ ।

सिराहाबाट फर्केर प्रधानमन्त्री प्रचण्ड सोल्टी होटलमा आयोजना गरिएको पूर्वाधारसम्बन्धी अर्को एउटा कार्यक्रमको उदघाटनमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment