Comments Add Comment

नारीलाई नङ्ग्याउनु बौद्धिकता हो त राधाजी ?

राधा पोखरेलले नाङ्गिनु नारी स्वतन्त्रता हो ज्योतिजी ?‘ भन्दै प्रश्न गर्नुभएको रहेछ । त्यस क्रममा लोक गायिका ज्योति मगर र नृत्यांगना रिया श्रेष्ठलाई सामाजिक मर्यादा र सीमाभित्र रही व्यक्तिगत स्वतन्त्रता उपभोग गर्न पाठ सिकाउनुभएछ ।

अस्तित्वको संघर्षले मानव जाति विकसित युगमा पक्कै आइपुग्यो, समय निकै परिवर्तन भयो । तर, समाजमा विभेदका रुपहरु अझै उस्तै देखिन्छन् । बौद्धिक भनाउँदाहरुको मनस्थिति समेत संकुचित देख्दा अझ टीठ लाग्छ । श्लील र अश्लीलबारे राधाजीको चर्चा केलाउँदा त्यसमा अन्तर्निहित एउटै कुरा देखेँ, हामीकहाँ जनजाति महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको रहेनछ ।

म सानै छँदा गाउँमा महिलाले महिलाकै बारेमा अनेक टीका-टिप्पणी गरेको सुन्थेँ । खासगरी महिलाका महिनावारी, विधवा विवाह, श्रीमानको पाउको पानी खाने वा घरभित्र र बाहिर महिलाको भूमिकाबारे ।

एकदिन एउटी बाहुनी बज्यैले मसँग बारीमा काम गर्न जानको लागि कोदालो मागिन् । मैले उनलाई हातैमा कोदालो थमाउन खोजेँ, तर उनी तर्किदै ‘मलाई नछो’ भनिन् । म अवाक् भएँ । उनले कोदालो भुइँमा राखिदिन भनिन् । मैले त्यसै गरेँ । उनीसँगै रहेकी महिलाले पनि आश्चर्य मान्दै उनलाई सोधिन् “किन, के भयो र ?’ ती बज्यैले भनिन्, ‘म नछुनी भा’की छु ।’

‘आज कति दिन भए र ? बच्चालाई पनि छुन नहुने ?’ महिलाले मप्रति सहानुभूति प्रकट गरिन् ।
‘हुन त आज चार दिन भयो, तर नुहाउन बाँकी नै छ,’ बज्यैले भनिन् ।

घरभित्र जान नपाइने र परिवारजनलाई छुन नमिल्ने भएकोले एकैचोटि पाचौं दिनमा नुहाउने उनले बताइन् ।

कोदालो छुट्ला भनेर म उनीहरुको पछुवा भएँ । उनीहरु आफ्ना अन्तरंग कुरा गर्न थाले ।

‘फलानी त कहिले पन्छिन्छे थाहै हुँदैन । हरेक दिन पानी बोक्छे, हरेक दिन घर लिपपोत गर्छे । त्यस्ताको घरमा भगवानले पनि बास नगर्लान् ।’

‘हो त नि । यी मतवालीहरु भनेका यस्तै हुन् । यिनका घराँ त पानी खान पनि घिन लाग्छ मलाई । महिनावारी भएर पनि चार दिनसम्म ननुहाउने’, बज्यैले आफ्नो कुलीनता प्रकट गरिन् ।

‘अझै नेवारहरु त एक पटक गुफा बसेपछि कहिल्यै बार्दैनन् रे’, बज्यैले आफूलाई उच्च कोटिमा दर्‍याउन खोजिन् ।

कुरैकुरामा विधवा महिलाका कुरा पनि चले ।

बिद्रोह घर्ती

‘बुझ्यौ ? फलानी बज्यै त आठै वर्षका उमेराँ विधवा भइन् । उनले बिहा त कुरा छाडौं, कहिल्यै परपुरुषको मुख पनि हेरिनन् । तर, फलानीले यसो गरी । तिलानीले उसो गरी । यी मतवालीहरु त विधवा बिहालाई पनि सामान्य बिहा जस्तै स्विकार्छन्’ ती बज्यैले फेरी आफ्नो आदर्श ओकल्न भ्याइन् ।

थाहा छैन, जनजाति महिलाहरुमा त्यतिबेलै चेतनाको स्तर माथि थियो, जनजाति पुरुषहरु महिलाप्रति उदार थिए वा अञ्जान रुपमै सबै क्रिया भइरहेका थिए । तर, जे भए पनि ब्राह्मण महिलाहरुमा भन्दा जनजाति महिलाहरुमा स्वतन्त्रता पक्कै थियो । बाहुन पुरुषहरुको तुलनामा जनजाति पुरुषहरु महिलाप्रति अलि उदार थिए । तब न जनजाति महिलाले महिनावारीलाई मासिक धर्मका रुपमा ग्रहण गरे अनि विधवाहरुले पुनः विवाह गर्ने आँट गरे ।

तर, त्यतिबेलाको हिन्दु हैकमवाद र वर्ण विभेदको चरम शिकार बनेको समाजमा ती जनजाति महिलाहरुलाई अभद्र, असभ्य र दरिद्र पात्रका रुपमा चित्रण गरियो । ती महिलाहरुको आँटलाई कुचेष्टाको रुपमा व्याख्या गर्ने प्रयत्न गरियो ।

श्रीमानको पाउको पानी र जुठोपुरो नखाएकै कारण, उमेर पुगेका युवतीहरुले प्रेम विवाह गर्ने आँट गरेकै कारण वा श्रीमानलाई गोडामा नढोगेकै कारण उनीहरुलाई असामाजिक, अधर्मी र विसंगत पात्रका रुपमा परिभाषित गरियो । कथित कुलीनता र शालीनताको आडम्बरमा रहेका महिलाहरु नै स्वतन्त्र जनजाति महिलाहरुमा अश्लीलताको हलेदो पोत्न उद्यत भए ।

परलोकको स्थान सुरक्षित गर्न वा पुन्य कमाउन मासिक श्राव अगावै छोरी दान गर्ने संस्कारलाई अनुकरण नगरेकै कारण कतिपय जनजाति महिलाहरु आलोचित भए । त्यतिबेलाको समाज र त्यस समाजका अघोरी सुसंस्कृतहरुले फरक धारका महिलाहरुलाई संस्कार र संस्कृतिको नाममा केस्राकेस्रा गरेर नङ्ग्याए अनि उनीहरुको आत्मविश्वासलाई गलाउने यत्न गरे ।

आज समयले कोल्टो फेरेको छ । हिजोका कुरीति र कुकर्मका मेरुदण्डहरु नै आज परिवर्तनका वाहकका रुपमा अगाडि सारिएका छन् । यद्यपि जनजाति महिलाहरु अहिलेसम्म अभेद्य विभेदको शिकार बनेका छन् । त्यसको पछिल्लो उदाहरण ज्योति मगर र दिया श्रेष्ठ जस्ता जनजाति कलाकार हुन् ।

स्वाभाविक रुपमा अश्लीलता सामाजिक विकृति हो । यसलाई स्विकार्न सकिन्न । तर, श्लील र अश्लीलता मानिसको हेराइ, बुझाइ र नियतमा अडिएको हुन्छ । नाङ्गो आँखामा कुनै वस्त्र हुँदैन । नारीहरुको इज्जत र सम्मान फगत घुम्टोमा मात्र अडिएको हुन्छ भन्ने बुझाइ हो भने त्यो सर्वथा गलत हो ।

कुनै नर्तकीको छिनेको कम्मर र वृत्ताकार नितम्ब देखेर कोही स्खलित हुन्छ भने त्यो नर्तकीको दोष होइन । उसको हाउभाउ र सुन्दर स्तन देखेर अर्की नारी आरिसले मुर्छित हुन्छे भने पनि त्यसको अपजस कलाकारलाई थोपर्न मिल्दैन । अर्धनग्नताले कथित सुशीलाहरुको शिर निहुरिन्छ भने पनि त्यो दुराग्रह हो ।

यदि साँच्चिकै अर्धनग्नता नेपाली समाजलाई अपाच्य लाग्छ भने, सुन्दरी प्रतियोगितामा हुने स्विम सुट बन्द गरिनुपर्छ । एक बित्ते पहिरनमा पत्रपत्रिकामा छापिने तस्बिरहरुको विरोध हुनुपर्छ । कुनै बेला नीलो चलचित्रमा तहल्का पिटेकी सनी लियोनीलाई नेपाल प्रबेशमा रोक लगाउन सक्नुपर्छ । गोप्य अंग प्रदर्शनको नियतले भित्री वस्त्र नलगाई क्यमेराका अगाडि खुट्टो उचाल्ने नायिकामाथि औंलो ठड्याउन सक्नुपर्छ ।

यसका साथै सोह्रै वर्षको उमेरमा मेरो क्रसिङ भयो भन्दै सगौरव मिडियामा छाउने नायिकाको मुखमा बूजो लगाउन सक्नुपर्छ । अन्यथा कुनै व्यक्तिविशेषलाई प्रतिनिधि पात्र बनाई समुदाय विशेषमाथि हिलो छ्याप्ने प्रयत्नलाई मलजल गरिएको कुरा ठहरिन्छ । अनि यो उनै मेरो गाउँले बज्यै प्रवृत्तिको निरन्तरता हो भनेर बुझिन्छ ।

समय परिवर्तन भए पनि हामीकहाँ सामाजिक विभेदका रुप यो र त्यो नाममा ज्युँका त्युँ देखिन्छ । ज्योति मगर र दिया श्रेष्ठ विरुद्धका आवाज फगत आफूलाई सुसंस्कृत र सुपठित ठान्ने अनि अन्य समुदायलाई अज्ञानी, अचेत र असभ्य मान्ने जातीय अहंकारका विम्ब हुन् । समाजभित्र रहेको कुनै समुदाय वा वर्गले अर्को समुदाय वा वर्ग लक्षित हुने गरी सुनियोजित ढंगले लाञ्छना लगाउँंदै त्यसलाई पुष्टि गराउन खोज्छ भने त्यो सबैभन्दा नाङ्गो रुप हो ।

विभिन्न शब्दजाल प्रयोग गरी आफूलाई श्लील र अर्कोलाई अश्लील भन्दै अभिव्यक्ति दिनु पाखण्डहरुको नग्नता हो । जनजाति नारीहरुलाई सामाजिक कलंकका रुपमा स्थापित गर्न खोजिएको षड्यन्त्र हो । यो षड्यन्त्र सामाजिक मनोरोगको उपज हो । यस्ता मनोरोगीहरुले विद्वताको भेषमा समाजका सबै कुरामाथि आक्रमण गर्न सक्छन् । त्यस्तो आक्रमण कुनै पनि हालतमा विद्वता हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment