Comments Add Comment

विकास समितिको निर्देशनः नेपाली सेनालाई साथमा लिएर सडक निर्माण तीव्र पार्नू

८ फागुन, काठमाडौं । संसदको विकास समितिले नेपाली सेनालाई साथमा लिएर सडक निर्माण तीव्र बनाउन सरकारलाई निर्देशन दिएको छ । कठिन भूभागमा ट्रयाक खोल्ने तथा विभिन्न सडक निर्माणमा सेनाको भूमिका प्रभाकारी देखिएको समितिको ठहर छ ।

समितिको आइतबार बसेको बैठकले नेपाली सेना, सडक विभाग र डोलिडारले आपसी समन्वय र सहकार्य गरे द्रुतगतिमा सडक सञ्जाल विस्तार हुन सक्ने भन्दै सेनासँग सहकार्य गरी सडक निर्माणलाई तिव्र गति दिन निर्देशन दिएको छ ।

सेनाले निश्चित समयभित्र कति काम गर्ने हो स्पष्ट किटान गर्न र आवश्यक बजेटको अख्तियारी समयमै प्रदान गर्न पनि विकास समितिले निर्देशन दिएको छ ।

समितिले यस आर्थिक वर्षमा नेपाली सेनाले निर्माण गरिने भनिएका सडकखण्डहरुको लागि आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउन, विस्फोटक पदार्थको आयातमा देखिएको समस्या कूटनीतिक पहलमार्फत समाधान गर्न पनि सरकारलाई भनेको छ ।

सेनाले निर्माण गर्ने अख्तियारी पाएको गोरखाको बेनिघाट-आरुघाट-लार्केभन्ज्याङ् सडकखण्ड निर्माणका लागि आवश्यक प्रक्रिया छिटो स्वीकृत गर्न तथा बजेट निकासा तुरुन्तै उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको विकास समितिले जनाएको छ ।

समितिले सेनाको विकास निर्माण निर्देशनालयको संगठन विस्तार र सुदृढीकरण गरी आवश्यक प्राविधिक जनशक्ति, उपकरण, तालिम लगायतका क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु सान्दर्भिक र अत्यावश्यक देखिएको बताएको छ र, आवश्यक व्यवस्था गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment