Comments Add Comment

‘एकताका लागि संगीत’ यात्रामा नेपथ्यको गन्तव्य बुटवल

८ फागुन, काठमाडौं । लोकप्रिय लोकरक ब्याण्ड नेपथ्यको अबको यात्रा बुटवलतर्फ हुने भएको छ । फागुन १४ गते शनिबार बुटवलको कालीका माध्यमिक विद्यालयको प्राङ्गणमा नेपथ्यको कन्सर्ट हुँदैछ ।

आजको समृद्ध र विस्तारित सहर बुटवल कुनै समयको ‘बटौली’ हो । पहाडबाट औल झरेकाहरुको सम्झनामा रहेको चुरेको फेद बटौली र त्यसका यादहरु अहिले पनि लोकगीतहरुमा भेटिन्छ । जस्तो कि नेपथ्यकै एउटा गीतले भन्छ,

‘यानीमाया, बटौलीको बजारमा, यानी माया
यानीमाया, चुरेटाको दोकान, यानीमाया’

यो यात्री गीतले जसरी आफूलाई ‘उहिले उहिले’ भनेर सुरुगर्छ त्यसैगरि यसमा पुराना यादहरु बगेका छन् । र, यस्तै सम्झनाहरु नयाँ पुस्तालाई बाँड्दै आएको छ नेपथ्य ।

‘बटौली मात्र होइन, हामी आजको बुटवलसँग पनि जोडिँदै आएका छौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘यो कन्सर्ट आयोजना हुने कालिका माध्यमिक विद्यालयसँगका हाम्रा आˆनै खाले सम्झना छन् ।’

जतिबेला मुलुक द्वन्द्वमा डुबेको थियो त्यतिबेला जताततैको खतरालाई चिर्दै साँगीतिक अभियान ‘सुन्दर शान्त नेपाल’ चलेको थियो । त्यही अभियान अन्तर्गत सन् २००३ मा नेपथ्यले त्यही बिद्यालयको प्रांगणमा आफ्नो प्रस्तुति दिएकाले पनि अमृत गुरुङ बुटवलसँगको साइनो बिशेष रहेको बताउँछन् ।

शनिबार बुटवलमा हुने कन्सर्टको नारा चाहिँ ‘एकताको लागि संगीत’ रहेको छ । अंग्रेजीमा यसलाई ‘नेपथ्य म्यूजिक फर युनिटी-लाइभ इन बुटवल’ भनिएको छ ।

‘एस नेपाल’ नामक संस्थाले आयोजना गरेको यो कन्सर्टबाट हुने मुनाफाको रकम ‘अभियान नेपाल चाइल्ड होम’को सहयोगार्थ प्रदान गरिने जानकारी आयोजक सन्तोष टण्डनले दिए ।

सँधैझैँ बुटवलको कार्यक्रममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment