Comments Add Comment

यातायातमा सिस्टम डाउनः फोकस-वानको बेवास्ताले सेवा ठप्प, ५ करोड राजश्व प्रभावित


८ फागुन, काठमाडौं । आइतबार दिनभर देशभरका यातायात ब्यवस्था कार्यालयको सेवा ठप्प भयो । कारण हो, सवारी दर्ता प्रणाली (भीआरएस) सिस्टममा आएको समस्या । सिस्टम बिग्रिएकै कारण झण्डै दैनिक उठ्ने झण्डै ५ करोड राजश्व पनि प्रभावित भयो भने सेवाग्राही कार्यालय पुगेर पनि सेवा नलिई फर्किन बाध्य भए ।

भीआरएस सफ्टवेयरको सञ्चालनको जिम्मा लिएको निजी कम्पनी फोकस-वानले यातायात ब्यवस्था विभागलाई जानकारी नै नदिई सिस्टमलाई प्रभावित गराउँदा यस्तो समस्या आएको कार्यालयहरुले बताएका छन् । फोकस-वानले भने सिस्टममा आएको खराबीले सेवा प्रभावित भएको बताएको छ ।

भीआरएस सिस्टमबाटै सवारी करहरुको कम्प्युटराइज्ड डाटा राखिन्छ । यसैमार्फत इ-बिलिङ गरिनछ । तर, सिस्टमनै डाउन भएपछि दिनभर १४ अञ्चलका यातायात ब्यवस्था कार्यालयले सवारी कर बुझ्नै सकेनन् । साना-ठूला सवारी तथा मोटरसाइकलको कर पनि कार्यालयहरुले बुझ्न पाएनन् ।

यातायात ब्यवस्था विभाएका एक अधिकारीले फोकस-वानले सिस्टमको मर्मतमा चासो नदिँदा समस्या भएको बताए ।
‘समस्या आएपनि एक-दुई घण्टा हुनसक्छ । तर, दिनभरनै सेवा ठप्प हुनेगरी कसरी यस्तो हुन्छ ?’ ति अधिकारीले भने,’फोकस-वानले सिस्टमको मर्मतमा खासै चासो देखाएको छैन । लामो समयदेखि फोकस-वानलाई नै सिस्टम ब्यवस्थापनको जिम्मा दिइएकाले गैरजिम्मेवारीपन बढेर गएको छ ।’

यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे भने सिस्टमममा आएको समस्या हटाउन काम भइरहेको बताउँछन् । उनले भोलिदेखि नै सेवा सुचारु गर्ने गरी फोकस-वानलाई काम गर्न भनिएको बताए ।

फोकस-वानले यो सिस्टमका लागि गत वर्षमात्रै सर्भरको क्षमता थपेको थियो । यातायातका अनलाइन सेवाहरु विभिन्न समयमा प्रभावित हुने गरेका छन् ।

गुणस्तरीय प्राविधिक प्रयोग नहुँदा समस्या आएको विभागकै अधिकारी बताउँछन् । विभागले आफ्नै सफ्टेवयरमा पहुँच राख्न नसक्दा धेरै समस्या आएको उनीहरुको तर्क छ ।

भीआरएस सिस्टममा विभागका कोही अधिकारी पनि जिम्मेवार छैनन् । सबै जिम्मा फोकस-वानलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment