Comments Add Comment

बैंकले विदेशमा गरेको ७० अर्ब लगानी फर्काउनुपर्छ ? राष्ट्र बैंक भन्छ-बेतुकको तर्क


८ फागुन, काठमाडौं । पुँजी अभावको समस्या कम गर्न वाणिज्य बैंकहरुले विदेशी बैंक र विदेशी उपकरणमा गरेको लगानी फिर्ता ल्याउनुपर्ने तर्क केही दिनयता वित्त बजारमा चल्न थालेको छ ।

‘दुई वर्षको अवधिमा कुल ७० अर्ब ४२ करोड रुपैयाँ विदेशी बैंक र बैदेशिक उपकरणमा गएको देखिन्छ, चालु आवको ४ महिनामा यस्तो लगानी रकम १३ अर्ब ७५ करोड पुगेको छ, यो फिर्ता ल्याउँदा पनि बैंकहरुमा पुँजी अभावको समस्या हल हुनसक्छ,’ अर्थविद् विश्वम्भर प्याकुरेलले एक कार्यक्रममा भने ।

केही दिन अगाडी यही तर्क राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीले पनि गरेका थिए । हाल उनी लगानी बोर्डका कार्यकारी पनि हुन् । अधिकारीले हाल बैंकमा देखिएको समस्याको समाधानको रुपमा यस्तो बताएका हुन् ।

अधिकारीले नै प्रस्तुत गरेको तथ्यांकलाई अर्थविद् प्याकुरेलले पनि उल्लेख गरेका हुन् । ‘अधिकारी जीसँगै मैले पनि तथ्यांक लिएको हुँ, यो पनि एउटा उपाय हुने देखिन्छ,’ प्याकुरेलले कार्यक्रममै उठेको प्रश्नको जवाफमा भने । बैंकहरुलाई यस्तो लगानीको सीमा बढाइएकोले पनि यो समसया आएको उनीहरुले बताउदै आएका छन् ।

तर राष्ट्र बैंकका अधिकारीहरु भने यो बेतुकको तर्क भएको बताउँछन् । ‘कर्जा योग्य लगानी अभावसँग यसको के सम्बन्ध छ, भन्ने कुरा मलाई त थाहा भएन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुंगानाले सांकेतिक रुपमा भने । अहिले तरलता समस्याभन्दा पनि कर्जा योग्य लगानी अभावको समस्या भएकोले यो पुँजी फिर्ता ल्याउनु पर्ने वा नपर्ने विषयसँग नै कुनै सरोकार नहुने उनले बताए ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले नगदमा भएको सबै निक्षेप बराबर, विदेशी मुद्रामा भएको निक्षेप बराबर, प्रतित पत्र ग्यारेण्टिको २० प्रतिशत, फर्दर कन्ट्रयाकको शतप्रतिशत रकम यसरी विदेशको बैंक र बिदेशी उपकरणमा लगानी गर्न सक्ने व्यवस्था छ ।

बैंकहरुले अहिले कर्जा दिन योग्य पुँजी अभावको समस्या बेहोरिरहेका छन् । घरेलु मुद्रामा भएको निक्षेप र कोर पुँजीको जोड को ८० प्रतिशत रकम मात्र कर्जा लगानी गर्न सकिने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकले केही वर्ष अघि कर्जा लगानीको सीमा बढाउँन बिदेशी संस्थाहरुबाट लिएको दिर्घकालीन सापटीलाई यो ८० प्रतिशतको सीमा गणनाको लागि प्रयोग गर्न नपर्ने सुविधा समेत दिइएको थियो ।

बैंकर उपेन्द्र पौड्यालले पनि यस्ता बैंक र उपकरणमा भएको लगानी कर्जा र निक्षेप अनुपात सीसीडी रेसियो कायम गरेर बाँकी हुने २० प्रतिशत भित्रबाट लगानी गरिने भएकोले कर्जा योग्य पुँजी भने नबढ्ने बताए । यता, बैंकर भुवन दाहाल भने बिदेशमा रहेको लगानी फिर्ता ल्याएर पर्यटन, जलविद्युत् जस्ता केही क्षेत्रमा भने कर्जा लगानी गर्न सकिने व्यवस्था रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment