Comments Add Comment

श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार

 

९ फागुन, परासी । नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती नदेरु मुसहरलाई जलाएर हत्या गरेका हुन् ।

निनु फरार रहेकाले उनको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको बेलाटारी प्रहरी चौकीका इन्सपेक्टर केशवसिंह थापाले अनलाइनखबरलाई जानकारी दिए ।

यसरी भयो घटना

ढिलो गरी सार्बजनिक यो घटना फागुन ७ गतेको हो । राति ९ बजे जलेर गम्भीर घाइते भएकी नदेरुको बुटवल अस्पतालमा ८ गते बिहान पाँच बजेतिर मृत्यु भयो ।

नदेरु र निनुका चार जना बच्चा छन् । तर, त्यो दिन उनीहरु घरमा थिएनन् । उनीहरु कुडिया गाविसमा लाग्ने मदार बाबा मेलामा गएका थिए । हिन्दु धर्मावलम्बीको मन्दिर र इसाइ धर्मावलम्बीको मस्जिद सँगै रहेको यो ठाउँमा लाग्ने मदार बाबाको मेला शिवरात्रीको दिनसम्म चल्छ ।

निनु र नदेरु आफ्ना चारै जना बच्चासहित उक्त मेलामा गएका थिए । छिमेकीहरु पनि धेरैजसो उतै थिए । छोराछोरीहरु मेलामै बसे पनि मुसहर दम्पत्ती भने साँझ घर फर्किए । राति उनीहरुबीच घरायसी विवाद भयो ।

विवाद बढ्दै गएपछि निनुले श्रीमती नदेरुको शरिरमा मट्टीतेल छर्किएर आगो सल्काइदिए । आगोले पालेपछि श्रीमती चिच्याउँदै घर बाहिर निस्किइन् तर, श्रीमान भने घरबाट फरार भए ।

घटनाको जानकारी पाएलगत्तै रामनगर प्रहरीको टोलीसहित घटनास्थल पुगेका बेलाटारी प्रहरी चौकीका इन्सपेक्टर केशव सिंह थापाले अनलाइनखबरसँग भने, ‘हामी त्यहाँ पुग्दा घरको आँगनमा नदेरु लडिरहेकी थिइन् । शरीरको अधिकांश भाग जलेको थियो । उनी बोल्न सक्ने अवस्थामा थिइनन् ।’

प्रहरी पुग्दा घटनास्थलमा नदेरुकी आमा र केही महिला थिए । नदेरुको घरभन्दा करिब डेढ-दुई सय मिटर पर उनकी आमाको घर छ । अरु छिमेकीहरुको घर पनि त्यत्तिकै दुरीमा छ ।

घटनास्थलमा भेटिएका स्थानीयबासीले प्रहरीलाई दिएको जानकारी अनुसार नदेरुको श्रीमानले आगो निभाउने प्रयास पनि गरेनन् न त घाइते श्रीमतीको उपचारको लागि सहयोग मागे । बरु जलिरहेकी श्रीमतीलाई छाडेर घरबाट भागे ।

‘घाइते नदेरुलाई तत्कालै उपचारका लागि बुटवल लगियो । अस्पतालमा पनि उनको बोली निस्किएन । धेरै जलेकाले हुनसक्छ डाक्टरहरुले पनि बचाउन सकेनन्,’ इन्सपेक्टर थापाले भने, ‘भोलिपल्ट बिहान सवा पाँच बजे नदेरुको डेथ भयो ।’

छिमेकीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार श्रीमती नदेरु र श्रीमान निनु दुबैले रक्सी पिउँथे । रक्सी पिएपछि उनीहरुबीच झगडा चर्किन्थ्यो । निनुले घर राम्रोसँग नसम्हालेको आरोप नदेरुलाई लगाउँथे । केहीबेर झगडा भए पनि उनीहरु एकैछिनमा मिलिहाल्थे र घरको कामकाज सँगसँगै गर्दथे ।

तर, फागुन ७ को रातको विवाद यति चर्कियो कि मुसहर दम्पत्तिलाई अलग गरिदियो ।

बाँसका कप्टेराले बेरेको र गोबर-माटोले लिपपोत गरेको मुसहर दम्पत्तीको एक कोठे सानो झुपडीमा यतिबेला सन्नाटा छाएको छ । आमाको मृत्यु र बुवा फरार भएपछि उनीहरुका चार बालबच्चाको बिचल्ली भएको छ ।

नदेरुकी आमाले ज्वाईं निनुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् । त्यो जाहेरीमा के छ भनेर आफूले जानकारी नपाएको बेलाटारी प्रहरी चौकीका इन्सपेक्टर केशव सिंह थापा बताउँछन् । ‘आमाले जाहेरी दिएको खबर पाएको छु तर त्यो जाहेरीमा के छ भनेर विस्तृतमा जानकारी आएको छैन,’ इन्सपेक्टर थापाले अनलाइनखबरसँग भने, ‘घटनाको अनुसन्धान जारी छ । आजैमात्र पनि एक टोलीलाई घटनास्थलतर्फ परिचालन गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment