Comments Add Comment
मर्चवारमा बाल हिंसा :

विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो, प्रहरीले खेतमा मुर्छित बनायो

विखण्डनवादी र सत्तापक्षको कोपभाजनमा निर्दोष वालवालिका


९ फागुन, काठमाडौं । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार । नेपाल-भारत सीमा क्षेत्रकको मझगावा । यही ठाउँमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भयो । तनाव बढेपछि अश्रुग्याँस प्रहार भयो । दजनौँ वालवालिकाहरु घाइते भए । सोही क्रममा प्रहरीले दुईवटा बन्दुक लुटिएको जानकारी दियो ।

मर्चवार प्रकरणलाई लिएर बिभिन्न अड्कलबाजीहरु भइरहेका छन् । ‘मधेसी बुद्धिजीवी र अधिकारकर्मीले’ प्रहरीको ज्यादती मात्रै देखेका छन् । राज्यले मुलुकको सार्वभौमसत्ता र अखण्डता विरुद्ध गतिबिधि गरेको भनेर पक्राउ गरेका सिके राउत जोडिएको घटनामा प्रहरी मौन बस्नुपथ्र्यो भन्ने टिप्पणी पनि आएका छन् ।

अर्कोतिर प्रहरीले संयम अपनाउन नसकेको र सर्वसाधारण तथा विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेर परिस्थिति बिगारेको आरोप लागेको छ । प्रहरीको हतियार लुटिएको हो भने हतियार लुट्ने विद्यार्थी वा सर्वसाधारण अवश्यक थिएनन् । त्यसैले यसको गम्भीर अनुसन्धान पनि जरुरी देखिएको छ ।

केही समयअघि एमाले उपाध्यक्ष भीम रावलले शीर्ष बैठकमा सिके राउतको सम्भावित योजनाबारे सुरक्षा निकायले तयार पारेको ‘रिपोर्ट’मा उल्लेख भएका कुरा र मर्चवारमा प्रहरी चौकीमाथिको आक्रमण तथा हतियार लुटिएको भनिएको घटनासँग लगभग मेल खान्छ । सर्वसाधारणमाथि दमनको वातावरण बनाउने र त्यसमा घुसेर आफ्नो अभिष्ट पूरा गर्ने नीति यस्ता गलत तत्वको हुनेगर्छ ।

मर्चवार प्रकरणमा पनि यस्तै देखिएको छ । सिके राउत समूहको आमसभा हुन नदिन स्थानीय प्रहरीलाई माथिबाट आदेश भइसकेको थियो । आदेश पालना गर्ने क्रममा जसरी शंकास्पद व्यक्ति पक्राउ परे, त्यो हुलमुलमा निर्दोष व्यक्तिसमेत परे । विद्यार्थी र प्रहरी दुवै पक्षले छानविनपछि निर्दोषलाई छाड्ने प्रक्रियामा जानुअघि नै दुवै पक्षले संयम गुमाउँदा अपि्रय घटना हुन पुगेको देखिन्छ ।

सरकारले यो घटनाबाट पाठ सिक्न जरुरी छ । मधेसमा सीके राउतको विखण्डनकारी गतिविधिलाई रोक्न जरुरी छ । यसमा सरकारले मधेसी जनतालाई आफ्नो साथमा लिनु एकदमै आवश्यक छ । सरकारले निर्दोष जनतामाथि अत्याचार गर्ने हो भने यसबाट सीके राउतको गतिविधिलाई नै मलजल हुन जान्छ ।

आखिर मर्चवारमा के भएको हो ? यसबारे रुपन्देहीस्थित अनलाइनखबरकर्मी सलमान खानले घटनास्थलमा पुगेर तयार पारेको रिपोर्ट यस्तो छः

विखण्डनवादी र सत्तापक्षको कोपभाजनमा वालवालिका

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार यो क्षेत्र मधेसी समुदाय बाहुल्यता भएको क्षेत्र हो । गत शनिवार सीके राउतका कार्यकर्ताले मर्चवारको मझगावास्थित आदर्श उच्च माविमासभा आयोजना गर्ने भनी प्रचार-प्रसार गरेको थियो । आफ्नो कार्यतालिका अनुसार उसले मझगावामा सभा गर्ने तयारी गर्‍यो । प्रहरी सभा गर्न दिने मुडमा थिएन ।

विभिन्न स्थानबाट सीके राउतका कार्यकर्ताहरु आए कार्यक्रममा आए । भारी संख्यामा सुरक्षाकर्मीहरु पनि तैनाथ थिए । कार्यक्रमस्थलको दक्षिणी क्षेत्रबाट आउँदै गरेको भीडलाई प्रहरीले कार्यक्रम स्थलभन्दा ५ सय फिट परै सडकमा रोक्यो । र, भिडमा सहभागी नेता, कार्यकर्ताले सडकमा बसेर नाराबाजी सुरु गरे । प्रहरी लाठीचार्ज सुरु गर्‍यो ।

यही क्रममा सीके राउतका कार्यकर्ताले पनि प्रहरीमाथि ढुगांमुढा प्रहार गरे । प्रहरी र कार्यकर्ताबीच दोहोरो झडप भयो । प्रहरीले अश्रु ग्याँस प्रहार गरेपछि भागाभाग भयो । त्यसपछि प्रहरीले केही कार्यकर्तालाई पक्राउ गर्‍यो ।

प्रहरीले सीके राउतको कार्यकर्तालाई पक्राउ गर्नु वा उनीहरुलाई सभा गर्न नदिनु स्वाभाविकै हो । किनभने उनीहरु देश टुक्राउने पक्षधर हुन् । र, उनीहरुलाई कारवाही पनि हुनैपर्छ ।

तर, प्रहरीले यसक्रममा बुट र लाठी बर्साउँदै निर्दोष सर्वसाधारण र बटुवाहरुलाई पनि दमन गर्‍यो । जसलाई बाटोमा देख्यो, उसैलाई कुटपिट गर्दै पक्राउ गर्ने क्रम साँझसम्म जारी राख्यो प्रहरीले । प्रहरीको यस्तो हरतकतका कारण स्थानीयहरु आक्रोशित बने ।

यस्तै क्रम आइतबार पनि दोहोरियो । शनिवार राजेश बरई नाम गरेका विद्यार्थी पक्राउ परेको विरोधमा उनी अध्यनरत विद्यालयका विद्यार्थीहरुले रिहाईको माग गर्दै आइतबार जुलुस निकाले ।

विद्यार्थीको जुलुस वडवलियाबाट निस्केर प्रहरी चौकी बगौलीसम्म पुगेर नाराबाजी गर्दै फर्किदै थिए । बगौली चोक हुँदै आउँदै गरेको जुलुस गाउँभन्दा बाहिरी क्षेत्रमा आएपछि जुलुसको पछाडिबाट प्रहरीले गरेको लाठीचार्जले दजर्नौ विद्यार्थी घाइते भए ।

प्रहरीले आफूहरुले विद्यार्थीलाई सम्झाउन बुझाउन खोजेको तर आफूहरु माथि ढुगांमुढा प्रहार भएपछि लाठीचार्ज र आश्रुग्याँस प्रहार गरेको दाबी गरेको छ ।

तर, विद्यार्थीहरुका अनुसार आफूहरु शान्तिपूर्ण जुलुसमा रहेको अवस्थामा पछाडिबाट प्रहरीले लाठीचार्ज सुरु गर्दै निर्मम तरिकाले साथीहरुलाई कुटपिट गर्न थालेपछि आफूहरुले ढुगांमुढा प्रहार गरेको दावी गर्छन् । दुवै पक्षकै आ-आफ्नो दाबी छ ।

यस क्रममा बालबालिकाले प्रहरीको निर्मम कुटाई खाए । ५/७ जना पुरुष प्रहरीहरुको समूहले ९ कक्षामा अध्यनरत एकजना १६ वषर्ीया छात्रालाई खेतमा नियन्त्रणमा लिएर प्रहरीले छातीमा बुट र लाठी बर्साएर बहादुरी देखायो ।

प्रहरीको कुटाइले विद्यार्थीहरु घाइते भएको खबरले स्थानीयबासी एवं अभिभावकलाई थप आक्रोशित बनायो । आफ्ना बालबच्चाहरुलाई कसैले कुटपिट गरेपछि कुन अभिभावकको मन रुदैन ? को आक्रोशमा आउँदैन ? प्रहरीको बुट खाएका कलिला विद्यार्थी युवा/युवतीहरु पीडाले कति अझै खाटबाट उठ्न सकेका छैनन् ।

विद्यार्थीहरु कुटिएपछि अभिभावकहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरे । केही प्रहरी घाइते भए । प्रहरीले आत्मरक्षाको लागि हवाई फायर र आश्रुग्याँस प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लियो । त्यसपछि फेरि प्रहरीले धरपकड गर्ने र सर्वसाधारण बटुवाहरुलाई समेत लाठी र बुट बर्साउन सुरु गर्‍यो । घरका ढोकाहरु बन्द हुन थाले । आक्रोशित स्थानीयबासीहरु त्रसित भए । आघोषित कफ्र्यु सरह भयो वडवलिया क्षेत्र । बाटोमा प्रहरी, पत्रकार र मानवअधिकारवादीहरु मात्रै थिए ।

प्रहरी उपर ढुगांमुढा गर्ने जो कोही भए पनि छाड्न हुँदैन, कारवाही हुनैपर्छ । कानुन विपरीत जानेलाई क्षमा दिनु हुँदैन । तर, जेजस्तो भए पनि प्रहरीले मानवअधिकारको रक्षा गर्ने कि नगर्ने भन्ने महत्वपूर्ण प्रश्न छ । नगर्ने हो भने कानुन किन ?

प्रहरीले सीके राउतका कार्यकर्तालाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउनु स्वाभाविक कार्य हो । तर, निर्दोष जनतामाथि अत्याचार र अनावश्यक बल प्रयोग गरेर स्थानीयमा सरकारविरोधी भावना फैलन दिनु प्रहरीको कमजोरी देखिन्छ ।

दोषीलाई सजायँ हुनुपर्छ । तर, निर्दोषलाई सजायँ हुनुहुँदैन । र, सबै मधेसी जनता सीके राउतकै कार्यकर्ता हुन् भन्ने मानसिकता पनि प्रहरीमा हुनुहुँदैन ।

मर्चवार क्षेत्रमा सीके राउतको खासै पकड छैन । तर, प्ररहीको संकीर्ण मानिसकताका कारण कसैको रीस अरुमाथि पोख्नु प्रहरीको कमजोरी देखिन्छ ।

प्रहरीले सीके राउतका कार्यकर्तामाथिको रीस निहत्था, निर्दोष मधेसी सर्वसाधरण र बुटुवामाथि पोख्यो । पक्राउ परेका व्यक्तिहरुलाई धोबीले कपडा धोए जसरी लठ्ठी र बुट बर्साइयो ।

सीके राउतको जुलुसमा वालवालिकाको प्रयोग

विद्यालय पढ्न गएका विद्यार्थीलाई सिके राउतका कार्यकर्ताहरुले जवर्जस्ती जुलुसमा सहभागी गराइएको घाइते विद्यार्थीहरुको बयानबाट पुष्टि हुन्छ । पढाइ नभएपछि घर जान्छन् भनेर विद्यालयको गेट नै बन्द गरेर सबै विद्यार्थीलाई जुलुसमा सहभागी गराई मानव ढाल बनाएर प्रहरी चौकमाथि आक्रमण गर्ने योजना थियो कि भन्ने आशंका पनि प्रहरीको छ ।

जुलुसबाट फर्किएका विद्यार्थीमाथि पछाडिबाट लाठीचार्ज गर्नु र भागेका विद्यार्थीलाई समेत निर्मम कुटपिट गर्नु प्रहरीको कमजोरी देखिएको छ । यस प्रकरणमा घाइते भएका विद्यार्थीसँग अनलाइनखबरले गरेको कुराकानी यस्तो छः

प्रहरीले भने- भाग, बहिनी भाग

निर्मला सिंह, विद्यार्थी, कक्षा ९

म बिहान खाना खाएर ९ बजे विद्यालयमा गएको थिए । विद्यालयमा गएपछि सबै साथीहरुले आज पढाइ हुँदैन । साथी राजेश बरई पक्राउ परेको विरोध जुलुस निकाल्ने तयारी छ भने । त्यसपछि मैले म जुलुसमा जान्नँ भनें र घर आउन खोजेकी थिएँ । तर, स्कुलको गेटमा ताल्चा लगाइएका कारण म घर आउन सकिनँ ।

सबै साथीहरु गएपछि म पनि जुलुसमा जानैपर्‍यो । हामी जुलुसको अन्तिमतिर थियौँ । विद्यालयबाट जुलुस निकालेर हामी प्रहरी चौकी बगौलीमा गयौँ । त्यहाँबाट फर्किने क्रममा गाउँको बाहिरी क्षेत्रसम्म आएपछि प्रहरीहरु हाम्रो पछाडि पछाडि आए । गाउँ बाहिर आएलगत्तै प्रहरीले पछाडिबाट लाठीचार्ज सुरु गर्‍यो ।

लाठीचार्जबाट साथीहरु घाइते हुन थालेपछि टाढा पुगेका विद्यार्थीहरुले प्रहरीमाथि ढुगांमुढा प्रहार गर्न थाले । म भाग्न थालेँ, भाग्दा भाग्दै म खेतको आलीमा लडेँ । प्रहरीहरु आएर मलाई खेतमा निर्मम तरिकाले कुटपिट गरे । प्रहरीहरुले मलाई छाडेर अर्कोलाई कुटपिट गर्न थालेपछि एकजना प्रहरी दाइले यहाँबाट चाडै भाग बहिनी चाँडै भाग भनेपछि म खेतैखेत भागेर घर आएँ ।

प्रहरीको कुटाइबाट म बेहोस भएँ

सम्भावती यादव, विद्यार्थी, कक्षा १०

बिहान विद्यालय गएपछि जुलुसमा जान भनियो । र, सबै साथीहरुले जुलुसमा गयौँ । अगाडि युवा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रहरी चौकी बगौलीसम्म पुगेर अब घर जाने भनेपछि हामी घर फर्किर्दै थियौं । प्रहरी हाम्रो पछाडि पछाडि आउन सुरु गर्‍यो । र, जब हामीले गाउँ बाहिर आयौँ, त्यसपछि प्रहरीले लाठीचार्ज सुरु गरेर विद्यार्थीहरुलाई कुटपिट गर्न थाले ।

त्यसपछि भागभाग भयो र केहीले प्रहरीमाथि पनि ढुगांमुढा प्रहार गर्न थाले । प्रहरीले जवाफमा अश्रु ग्यास प्रहार गर्‍यो । मलाई प्रहरीले समातेर कुटपिट गर्न थाले र म बहोस भएँ ।

विद्यार्थीहरु धेरै घाइते भएका थिए, सबै यताउता लडेका थिए । म बेहोस भएपछि कसरी घर आएँ मलाई थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment