Comments Add Comment

वैकल्पिक राजनैतिक शक्ति  किन ?

विश्वमा राजनैतिक दर्शन र यसको प्रयोगका सन्दर्भमा फरक-फरक बहस छन्। परिभाषामा फरक देखिने राजनैतिक दर्शनहरु जे भएता पनि देशको विकाशका निम्ति राजनैतिक दर्शन न्यून र कुशल नेतृत्वको आवश्यकता बढी देखिन्छ। अमेरिका र चीनको तीब्र आर्थिक विकास क्रमले यस कुरालाई पुष्टि गर्दछ।

यी दुई मुलुक बाहेक फरक फरक राजनीतिक  दर्शन  र मान्यता हरु बोकेका भारत र उत्तर कोरियाको विकास क्रमले पनि यस कुरा को थप पुष्टि गर्छ । राजनैतिक दर्शनको अतिवादलाई अगाल्ने  पण्डितहरुलाई  चीन र अमेरिकाको आर्थिक विकास क्रमले ठूलो झापड दिएको छ। फरक-फरक राजनीतिक र दर्शन र  मान्यता भएता पनि कुशल राजनैतिक नेतृत्वकै कारण यी देशहरु विश्व अर्थतन्त्रमा दवदवा राख्न सफल भएका छन् ।   आजको विश्वमा अमेरिका र चीन यी दुई मुलुकले फरक राजनीतिक मान्यताको पनि नेतृत्व गरिरहेका छन् र तिब्र आर्थिक विकासमा पहिलो र दोस्रो भएका छन् । यसर्थ विकासका निम्ति वाद र दर्शनभन्दा पनि कुशल राजनैतिक व्यक्तित्वको आवश्यकतालाई महत्वपूर्ण ठानिन्छ। 

हाम्रो देशमा प्रजातन्त्र प्राप्तिका लागि थालिएको आन्दोलनले आज सात दशक काटिसकेको छ। प्रजातान्त्रिक पार्टी, कम्युनिष्ट पार्टी हुँदै जातीय, क्षेत्रीय तथा धार्मिक पार्टीका रुपमा करिव १८५ वटा राजनैतिक पार्टीहरु निर्वाचन आयोगमा दर्ता भएका छन। देशको व्यवस्थाका शव्दावली फेरिएका छन्, देश पञ्चायत व्यवस्था हुँदै आज गणतन्त्रमा प्रवेश गरेको छ। यद्यपि जनताका दैनिक जनजीविका सवालहरु पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा ज्युँका त्युँ छन्। वादको शास्त्रीय लडाइँ नै यसको  मुख्य जड हो।

अहिले हाम्रो देशमा जो आफूलाई प्रजातन्त्रको (पुँजीवादमा विश्वास राख्नेहरु) हिमायती ठान्छन्,कम्युनिष्ट व्यवस्थालाई विकास विरोधी दर्शनको रुपमा व्याख्या गरिराखेका छन्। कम्युनिष्ट पार्टीको दर्शन र यसको प्रयोगलाई गरिवीसँग तुलना गरिएको छ। कम्युनिष्टहरुले आफ्नो अस्तित्व जोगाउनका लागि गरिबीलाई पनि जोगाइरहेका हुन्छन् भन्ने उनीहरुको तर्क रहन्छ । कम्युनिष्ट पार्टीको अस्तित्व  चरम गरिवीसँग तुलना गरिएको छ । पुँजीवादलाई नकारकै कारण देशमा चरम गरिवी बढेको ठम्याइ छ।

यस तर्कलाई विश्लेषण गर्ने हो भने विश्व अर्थतन्त्रमा पहिलो स्थानमा रहेको पुँजीवादी देश अमेरिकालाई  पछ्याउँदै कसरी कम्युनिष्ट शासन प्रणाली अंगालेको चीन दोस्रो ठूलो स्थानमा स्थापित हुन सक्यो ? विश्वको पहिलो अर्थतन्त्र बन्न तिब्र गतिमा अगाडि बढेको  चीनले नेपाली प्रजातन्त्रमा विश्वास राख्नेहरुले भनेझै पुँजीवादलाई नकारकै कारण यो सफलता हात पारेको हो त ?

पक्कै पनि पुँजीवादीहरुको यो अतिवादी सोचाइलाई मार्क्सवाद र समाजवादी चिन्तनले नकारेको छ। मार्क्सवादले समाजलाई विज्ञानको रुपमा चित्रण गरेको छ । समाजका हरेक अवयवहरु समयानुकुल  परिवर्तनशील  हुन्छन् भन्ने मान्यतालाई स्थापित गरेको छ। समाज परिवर्तनका नियम, गति र पद्धतिहरुलाई बुझ्न, परिवर्तनलाई साबिकका सामाजिक मूल्य र परम्परा अनुरूप समायोजन तथा ब्यबस्थापन गर्न र सम्भावित भावी परिवर्तनका लागि राष्ट्र र समाजलाई तम्तयार पार्ने गतिशील पार्टीको आवश्यकतालाई स्वीकारेको छ।

मार्क्सवादले समाजको परिवर्तनलाई परिमार्जन एवं संस्थागत गर्ने पनि एउटा विधि र प्रक्रिया हुन्छ, त्यसका लागि पनि परिवर्तनको नियम र गति बुझ्ने सबै क्षेत्रमा कुशल नेतृत्व परिकल्पना गरेको छ।  यसकारण मार्क्सवादको सार भनेकै देशको परिवर्तित सन्दर्भ र आवश्यकतालाई पूर्ति गर्ने दर्शन, राजनैतिक पार्टी र नेतृत्वलाई बुझ्नु हो।

अर्काथरि मानिसहरु जो आफूलाई कम्युनिष्ट र  मार्क्सवाद दर्शनका भक्त मान्छन्, मार्क्सवादलाई वेदकै रुपमा लिन्छन्।  दैनिक जीवनका हरेक क्रियाकलापमा  मार्क्सवादको कुन हरफमा के लेखिएको छ भनेर जपिरहन्छन्, माओ लेनिनका वाक्यांश हुवहु कण्ठ पार्छन्। यसको अर्थ १८ औं शताव्दिमा मार्क्सवादको  ठेलीमा जे लेखिएको छ, ह्रस्व, दीर्घ र कमा पनि यताउति नगरी त्यसलाई कार्यान्वयन गर्नु नै  असली कम्युनिष्टको हुनु हो भन्ने मान्छन्।

यही पुरातनवाद, शास्त्रीय र जडसुत्रीय कम्युनिष्ट सोचाइका कारण नै आज कम्युनिष्ट शासन र व्यवस्था संकटमा पर्दैछ। कम्युनिष्ट पार्टीका कार्यकर्ताको जड सुत्रीय राजनैतिक सोचाइले कम्युनिष्ट पार्टीहरुको पतनको बाटो मात्र नभई देशको समग्र विकासलाई पछि धकेलिराखेको छ।

कम्युनिष्ट शासन रहेको चीन माओको क्रान्तिकारी नीतिलाई विस्थापित गर्दै देङ स्याओपिङकोउदारवादी नीतिकै कारण विश्च अर्थतन्त्रमा दोस्रो स्थानमा  ओगटेको छ। कम्युनिष्ट र मार्क्सवादको उत्खनन गर्ने यी राष्ट्र्हरुले मार्क्सवादको अन्तरवस्तुलाई समय सापेक्षतामा देश विकासको रुपमा प्रयोग गरिरहेका छन्।

आज अमेरिकन र चिनियाँहरु अब्राहम लिंकन र माओप्रति श्रद्दा र सम्मान गर्छन्, ओभामा र सी जिङपिङप्रति गर्व गर्दछन्। यसको अर्थ परिवर्तित समय र जनताका आवश्यकतालाई सम्वोधन गर्ने राजनेताप्रतिको सम्मानको भाव हो। चिनियाँ जनतामा माऔको भजन भन्दा पनि विश्व अर्थतन्त्रमा कसरि पहिलो हुने भन्ने विकासवादी सोच हावी छ।

विडम्वना आफुलाई सर्वहारा वर्गको नेता भन्न चाहने कामरेडहरु र प्रजातान्त्रिक योद्दाहरु विगतको बलिदानी र त्यागको प्रशंसा गर्न कहिलै पनि थाकेको पाइँदैन। सहिदको वलिदानी र पूर्खाको त्याग पटक-पटक सत्ता सम्हाल्ने हतियार बनेको छ। व्यक्ति केन्द्रित राजनीति हावी छ।

कम्युनिष्ट वा प्रजातान्त्रिक पार्टीले  जो कोहीले नेतृत्व गरेका सरकार चरम भष्टाचार र आर्थिकरुपमा संकटमा परिरहेको  छ।

विश्वमा पुँजीवादी वा समाजवादी राजनैतिक पार्टी र त्यसको नेतृत्वले विकासमा  गरेको नयाँ प्रयोग र सफलताको कुनै प्रयोगको अनुसरण छैन। उनीबाट सिक्नुको सट्टा आफुलाई क्रान्तिकारी र प्रजातान्त्रिक भन्ने नेपाली कामरेड र प्रजातान्त्रिक योद्दाहरु  एक अर्कामा संशोधनवादी, दक्षिणवादी,  पुँजीवादी, सुधारवादी इत्यादि बिल्ला भिडाउन तल्लीन छन्।

यसको मूल जड भनेको राजनैतिक दलहरुले आफ्नो असफलताबाट केही सिक्न नसक्नु र आरोप प्रत्यारोपमा उत्रनु हो । आफ्नो दलले कार्यान्वयनमा ल्याएको राजनैतिक तथा आर्थिक दर्शन र  नीति  असफल हुँदा पनि  सुधार र नवीनता  को खाँचो औल्याउँदैनन् । जसका कारण पुँजीवादी वा समाजवादी भन्ने जुनसुकै राजनैतिक दलहरु  भएता पनि नेपाली राजनीतिमा सधै संक्रमणकाल र आर्थिक संक्रमण काल थपिँदै गयो।

विश्वमा प्रयोग भयका सवै दर्शन र वादहरु शतप्रतिशत ठीक र शतप्रतिशत बेठीक छैनन्।

आफ्नो देशको अनुकुलता, विश्वव्यापीकरण र जनइच्छा अनुरुप दर्शन र वादको प्रयोग गर्नुपर्दछ। विकशित देश जुन आफुलाई पुँजीवादी  हिमायती ठान्छन्, उनीहरुले समाजवादले अवलम्वन गरेका मान्यतालाई व्यवहारमा लागु गरेका छन् । जुन आफुलाई समाजवाद हिमायति ठान्छन्, उनीहरुले पुँजीवादी अवलम्वन गरेका मान्यतालाई व्यवहारमा लागु गरेका छन्। आर्थिक विकासका लागि पुँजीवादी वा समाजवादी कुनै पनि राजनीतिक व्यवस्थाले खासै फरक पार्दैन ।

चीन अमेरिकाको विकाशले कुनै पनिवादको अवलम्वनले आर्थिक विकास गर्न सम्भव छ भन्ने कुराको पुष्टि गरेको छ। यसर्थ राजनीतिक दर्शन र व्यवस्था भन्दा पनि त्यसका नेतृत्वकर्तामा आर्थिक विकास गर्न सक्ने क्षमता छ वा छैन भन्ने विषय प्रमुख सवाल हो ।

दर्शनभन्दा पनि राजनीतिक नेतृत्वकर्ताले सबैभन्दा पहिलो आर्थिक विकासको सपना देख्न र त्यसको खाका कोर्न सक्नुपर्छ । अनि विकास योजना कार्यान्वयन गर्न सक्ने सामथ्र्य र त्यसका लागि चाहिने स्रोतको व्यवस्थापन गर्न सक्नुपर्छ । एसियामा नै रहेका देश मलेशिया,कोरिया जस्ता मुलुकहरु दुरगामी नेतृत्वकै कारण  तिब्र विकासमा अगाडि बढिरहेका छन्।२०-३० बर्ष पछाडि देश विकासका निम्ति कुन क्षेत्रमा कस्तो जनशक्ति चाहिने हो, त्यसको उत्पादन मा निम्ति  स्वदेश र विदेशमा राज्यले नै लगानि गरिराखेको छ। उत्पादित जनशक्तिले पनि आफ्नो कौशलता हासिल पश्चात राज्यको निर्देशनमा आवश्यकताअनुरुप आफुलाई परिचालित गरेका छन्।  भिजन २०-२० पश्चात समृद्द बनेको मलेशिया एउटा यसको ज्वलन्त उदाहरण हो।

विश्वव्यापीकरणसँगै सम्पूर्ण विश्व समुदाय एउटै ग्लोवल भिलेजका रुपान्तरण भएको छ।कुनै देश पूर्णतः आफैमा निर्भर छैन, आफ्नो देशमा उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोगसँगै निर्यात गरी अन्तराष्टिय पुँजी भित्र्याउने होडवाजी तिब्र छ ।

आज समाजवादी देश कोरियाको सामसुङ फोनको भारत ठूलो बजार क्षेत्र बनेको छ, त्यस्तै पुँजीवादी देश भारतमा उत्पादित सफ्टोयरको ठुलो वजार क्षेत्र समाजवादी देश कोरिया बनेको छ।यसको अर्थ वादको लडाई भन्दा पनि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्दै विश्व बजार कव्जा गर्ने होडबाजी चलिरहेको छ।

दुई छिमेकी मुलुकहरु, भारत र चीन  राजनैतिक मुल्य र मान्यतामा जे भएता पनि  विश्व अर्थतन्त्र, विकास र प्रविधिमा निमेष निमेषमा चुनौति र सफलता हासिल गरेका छन्। बिडम्बना तिनै देशका राजनैतिक दर्शन र राजनैतिक संकृति अनुकरण गरेका हामि विकासका प्रत्येक कुरामा दिन प्रतिदिन असफल किन हुदै छौं ? कतै हामीले अनुशरण गरेको राजनैतिक दर्शन र राजनैतिक दलीय संरचना त हैन ? या हाम्रो राजनैतिक नेतृत्वको असफलता हो ?

सबै प्रश्नहरुको यक्ष उत्तर खोज्ने बेला आएको छ।

पक्कै पनि हाम्रो वादीय राजनैतिक चिन्तन र भजन नै देश विकासको  मुख्य समस्या हो। देश कुशल व्यवस्थापनको कमीले गर्दा आज दिनप्रतिदिन परनिर्भरतातर्फ उन्मुख छ। देशका जैविक, भौगोलिक विविधताहरु प्रयोगनहीन छन्। यति मात्र हैन,  नेपालमा गरीब र धनीका बीच ठूलो खाडल छ । क्षेत्रीय असन्तुलन छ । हिमाल, पहाड र मधेसको विकासको अवस्था भिन्न छ । जात-जात, धर्म-धर्म बिचमा असन्तुलन छ। महिला, दलितजस्ता समुदाय आर्थिक रूपमा कमजोर छन् । त्यसकारण हामीले केवल आर्थिक वृद्धि मात्र होइन, सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्छ ।

राज्यले आवश्यक नीति निर्माण गरी विकासको प्रतिफल पिछडिएका क्षेत्र र वर्गमा पुर्‍याउने व्यवस्था गर्नुपर्छ । शिक्षा, स्वास्थ्यजस्ता जनताका मौलिक अधिकारका क्षेत्रमा लगानी गर्न सकेमा मात्र नेपालको विकास सम्भव छ ।

अन्त्यमा, पछिल्लो संविधान घोषणा पश्चात देश गणतन्त्रमा प्रवेश गरेको छ।संविधानले सुनिश्चित गरेको नागरिक अधिकारसँगै सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्ध नेपाली समाज निर्माण कार्य  अबको प्रमुख कार्य भार हो । विश्वव्यापीकरणको कारण मुलुकमा परेको भूकम्पलगायतका प्राकृतिक प्रकोप एवम् सिर्जित पुनर्निर्माणको जिम्मेवारी र  गत वर्ष दक्षिणी सीमा क्षेत्रमा भएको अवरोधका कारण शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील बनाउन र जनताको विकासको आकाङ्क्षालाई एकसाथ सम्बोधन गर्नु अहिले को मुख्य आवश्यकता हो।

यसकारण मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण नै अहिले को मुख्य कार्य हो । यो चरणमा राजनीतिलाई पछिल्ला ज्ञान र विज्ञानका आविष्कारमा टेकेर विकास र समृद्धिका काम सम्पन्न गर्नुपर्छ । पुँजीवादी र राज्य–नियन्त्रित समाजवादी मोडेलले मात्रै यी सबै समस्याको समाधान गर्न सक्दैनन् । त्यसैले त्योभन्दा माथि उठेको वैकल्पिक चिन्तन र विचारसहितको वैकल्पिक राजनीतिक शक्ति र त्यसै प्रकारको विकासवादी चेतको राजनैतिक नेतृत्व अहिलेको मुख्य आवश्यका हो।

(देवकोटा नयाँ शक्ति विद्यार्थी युनियनका काठमाडौं  विश्वविद्यालय समितिका संयोजक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment