Comments Add Comment

आइपीएल १० का सबैभन्दा महंगा खेलाडी बने बेन स्टोक्स

टी-ट्वान्टीका नम्बर वान बलर इमरान ताहिर बिकेनन्

९ फागुन, काठमाडौं । इंग्लिस अलराउण्डर बेन स्टोक्स आगामी अपि्रल ५ देखि सुरु हुने इण्डियन पि्रमियर लिग क्रिकेट आइपीएलको दशौं संस्करणमा सबैभन्दा महंगा खेलाडी बनेका छन् ।

भारतको बैंगलुरुमा आज भएको खेलाडी अक्सनमा स्टोक्सलाई पुनेले १४.५ करोडमा किनेको हो । इंग्ल्याण्डका लागि उनले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

खेलाडी अक्सनमा दोस्रा महंगा खेलाडी पनि इंग्ल्याण्डकै बने । २४ बर्षीय बायाँहाते तीव्र गतिका बलर टाइमल मिल्सलाई रोयल च्यालेन्जर्स ब्यांग्लोरले १२ करोडमा किनेको हो । अर्का इग्लिस स्टार क्रिस भक्सका लागि पनि कोलकाता नाइट राइडर्सले ४.२० करोडको लगानी गरेको छ । इंग्लिस टोलीका कप्तान इयोन मोर्गनलाई किंग्स इलाभेन पञ्जावले २ करोडमा किनेको छ ।

दक्षिण अफि्रकाका कागिसो रावाडा ५ करोडमा दिल्लीमा अनुवन्ध भएका छन् भने ५ करोडमै न्युजिल्याण्डका फाष्ट बलर ट्रेन्ट बोल्टलाई कोलकाताले किनेको छ । अष्ट्रेलियाका प्याट क्युमिन्स ४.५ करोडमा दिल्लीका लागि खेल्ने भएका छन् ।

आइपीएलको दशौं संस्करणका लागि खेलाडी अक्सनमा एशोसियट मुलुकका ६ खेलाडीलाई सहभागी गराइएको थियो । जसमा पाँच अफगानी थिए । अफगानी टोलीका पूर्व कप्तान मोहम्मद नाभी आइपीएल खेल्ने पहिलो अफगानी बनेका छन् । उनलाई हैदराबादले ३० लाखमा किनेको हो । त्यस्तै अफगानी युवा बलर रसिद खान सबैभन्दा महंगा एशोसियट खेलाडी बने । उनलाई पनि हैदरबादले नै ४ करोडमा किनेको हो ।

मुम्बई इण्डियन्स घरेलु बलर करण शर्माका लागि ३.२ करोड लगानी गर्न तयार भएको छ । गत बर्ष ९ करोडमा दिल्लीका लागि खेलेका घरेलु खेलाडी पवन नेगीलाई यसपटक ब्यांग्लोरले १ करोडमा किनेको छ । न्युजिल्याण्डका कोरी एण्डसन १ करोडमा दिल्ली गएका छन् । श्रीलंकाली कप्तान एन्जेलो म्येथ्युजलाई दिल्लीले २ करोडमा किनेको छ ।

एकदिवशीय र टी-ट्वान्टीका नम्बर एक बलर ताहिर बिकेनन्

आइपीएलको खेलाडी अक्सनमा केहि अप्रत्यासित घटनाहरु पनि भए । आइसीसीको र्‍याङकिङमा एकदिवशीय तथा ट्वान्टी ट्वान्टीका नम्बर एक बलर दक्षिण अफि्रकाका इमरान ताहिर यसपटक बिकेनन् । उनको न्युनतम मूल्य ५० लाख थियो ।

त्यस्तै घरेलु स्टार बलर इशान्त शर्मालाई पछि कुनै टोलीले चासो देखाएनन् । उनको न्यूनमत मूल्य २ करोड थियो । गत बर्ष उनी हैदराबादका लागि खेलेका थिए ।

बंगलादेशी अलराउण्डर मुमुदुल्लाह, भारतीय अलराउण्डर इरफान पठान र ब्याट्सम्यान चेतेश्वर पुजारा, न्युजिल्याण्डका मार्टिन गुप्तिल र रस टेलर, इंग्ल्याण्डका जोनी बेरस्टो, अष्ट्रेलियाका नाथान कल्टर नाइल, श्रीलंकाका दिनेश चण्डिमाल लगायतका खेलाडीहरुप्रति आइपीएलका कुनै टिमले चासो देखाएनन् ।

यस सिजनको अक्सनमा केहि नामै नसुनिएका खेलाडीहरुले पनि बढी मूल्य पाए । कर्नाटकका अलराउण्डर कृष्णप्पा गौथमलाई मुम्बई इण्डियन्सले २ करोड रुपैयाँमा किन्यो । २८ बर्षीय उनी भारतीय ए टिमबाट अष्ट्रेलियाबिरुद्ध खेल्दा ७४ रनको उत्कृष्ट पारी खेलेका थिए ।

तामिलनाडु पि्रमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका के नटराजनलाई किंग्स इलाभेन पञ्जावले ३ करोडको लगानी गर्‍यो । उनी बायाँ हाते तीव्रगतिका बलर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment