Comments Add Comment

अष्ट्रेलियाको लागि नेपाली राजदूतमा लक्की शेर्पा सिफारिस

२० फेब्रुअरी, सिड्नी। अष्ट्रेलियाको लागि नेपाली राजदूतमा लक्की शेर्पालाई नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको दोस्रो बैठकले अष्ट्रेलियासहित १४ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।

शेर्पा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटामा परेकी हुन् । उनी एमालेको पूर्व सभासदसमेत हुन् । दोस्रो संविधानसभा चुनावताका उनी माओवादीमा प्रवेश गरेकी थिइन् । संघीयताको मुद्दामा एमालेसँग कुरा नमिलेपछि दोस्रो संविधानसभा चुनावभन्दा धेरै अगाडि नै एमाले छाडेको उनले बताउने गरेकी छन् ।

माओवादी कोटामा राजदूत नियुक्तिको सिफारिसमा परेका चारैजना केपी ओली नेतृत्वको सरकारको पालामा पनि सिफारिसमा परेका थिए । तर, ओली सरकार ढलेलगत्तै प्रचण्ड नेतृत्वको सरकारले सबै सिफारिस बदर गरेको थियो ।

को-को भए राजदूत ?

सरकारको नेतृत्वकर्ता दल माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।

शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।

कांग्रेसबाट ६ राजदूत भएका छन् । अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् ।

स्पेनमा नेपाली दूतावास खुल्ने

सरकारले स्पेनमा नेपाली दूतावास खोल्ने निर्णय पनि गरेको छ । साथै स्पेनको राजदूतमा भरत रायमाझीलाई सिफारिस पनि गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको दोस्रो बैठकले स्पेनमा दूतावास खेल्ने निर्णयसँगै राजदूत सिफारिस गरेको हो । स्रोतका अनुसार रायमाझी सत्तारुढ राप्रपाको कोटामा राजदूत सिफारिस भएका हुन् ।  उनी नेपाली सेनाका पूर्वसहायक रथी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment