Comments Add Comment

दूतावास खुल्ने भएपछि स्पेनवासी नेपाली उत्साहित, कसले के भने ?

बार्सिलोना । स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनबासी नेपालीहरु उत्साहित बनेका छन् । करिव एक दशक अगाडिदेखि स्पेनवासी नेपालीहरुको प्रमुख मागलाई सरकारले सम्बोधन गरेपछि नेपालीहरु उत्साहित छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्पेनमा दूतावास खोल्ने निर्णय गर्दै भरत रायमाझीलाई राजदूतमा सिफारिस गरेको थियो ।

एक दशकदेखि यहाँ स्थित नेपालीहरुले बिभिन्न समस्याहरु झेल्नु परेको भन्दै दूताबास स्थापनाको माग गर्दै आएका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेन स्थित राजनीतिक, क्षेत्रीय, जातीय संघ सस्था तथा पत्रकारहरुले दूताबासको माग गर्दै पटक पटक सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले दूताबास स्थापना गर्ने निर्णय गर्दै राजदूत समेत सिफारिस गरेपछि स्पेनमा खुशी साटासाट गरिएको छ ।

परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले मन्त्री हुनुअघिस्पेन आउँदा अनाबश्यक ठाउँमा सरकारले खोलेका दूताबास बन्द गरेर भए पनि स्पेनमा खोल्नु पर्ने अभिव्यक्ति दिएका थिए । उनले आफूले बोलेको कुरा पूरासमेत गरेका छन् ।

दूताबास खोल्ने सरकारको निर्णयपछि स्पेनमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु यसो भन्छन्ः

एकराज गिरी, पर्यटन दूत/आईसीसी सदस्य एनआरएनए

एक दशकदेखि स्पेनबासी नेपालीहरुले राख्दै आएको माग पूरा भएकोमा हर्षित छु । यसलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद हार्दिक स्वागत गर्दछ । सन् २०१४ मा बार्सिलोनामा सम्पन्न एनआरएनको सातौं युरोपेली क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनबाट नै स्पेनमा नेपाली दूताबास स्थापना गर्न पहल गर्ने भनेर घोषणा पत्र जारी गरिएको थियो ।

सोही बेला पूर्ब परराष्ट्रमन्त्रीको रुपमा एनआरएनए सम्मेलनमा आउनुभएका काग्रेस नेता डा. प्रकाशशरण महतले आज परराष्ट्रमन्त्रीको जिम्मेबारी सम्हाल्दै गर्दा, स्पेनमा दूताबास खोल्ने निर्णय भएको छ यसका लागि धन्यबाद दिन चाहान्छु । अब छिट्टै निर्णय कार्यान्वयनतर्फ लैजान परराष्ट्र मन्त्रालयलाई अनुरोध समेत गर्दछु।

दूताबास स्थापनाले १० हजार भन्दा बढी स्पेनबासी नेपालीहरुको समस्या सम्बोधन हुनुका साथै दुई मुलुकबीचको कुटनीतिक सम्बन्ध प्रगाढ हुनेमा पूर्ण बिश्वास लिएको छु ।

मुक्त बहादुर गुरुङ, अध्यक्ष, एनआरएनए स्पेन

स्पेनमा दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेन हार्दिक स्वागत गर्दछ । सबै नेपाली समुदायको सामुहिक प्रयासबाट नै यो सम्भव भएको हो । बिभिन्न संघ संस्था लगायत स्पेनबाट सशक्त रुपमा कलम चलाउने पत्रकारहरु प्रति पनि म आभार प्रकट गर्दछु ।

अब छिट्टै एनआरएनए स्पेनले सबै संघ संस्था लगयात स्पेनबासी नेपाली समुदाय माझ संयुक्त रुपमा सरकारको निर्णयलाई स्वागत गर्दैछ । साथै संघले सरकारी निर्णयलाई छिट्टै कार्यान्वयन गराउनका लागि नीति योजनासहित कसरी अघि बढ्ने बिषयमा सर्बपक्षीय छलफल गर्नेछ ।

बिभिन्न कालखण्डमा गैरआवासीय नेपाली संघले दूताबासको मुद्दालाई जोडदार रुपमा उठाउँदै आएको स्मरण गर्दै अझ आफू संघको जिम्मेबारीमा रहेको बेला निर्णय हुँदा बढी खुशी भएको छु ।

दीपक खरेल ,पर्यटन दूत

स्पेनमा दूताबास चाहिन्छ भन्ने अभियानमा कहीं न कतै आफू जोडिन पाउँदा धेरै खुशी लागेको छ ।

राष्ट्रपतिदेखि प्रधानमन्त्री समक्ष ज्ञापनपत्र लिएर धाउँदा, सधैं सकरात्मक छौं भन्ने मात्र जबाफ लिएर र्फकदा, ठूलो निराशा जागेको थियो ।

तर सरकारको निर्णयले सबै निराशालाई आशामा बदलेको छ ।

अब स्पेन बस्ने प्रत्येक नेपालीहरुलाई सरकारले जिम्मेबारी पनि थपिदिएको छ ।

करौडौं रकम खर्च गरेर यहाँ दूताबास खोल्ने भएपछि अब हामीले पनि देशलाई कसरी फाइदा पुर्‍याउन सकिएला भन्ने बारे सोच्न जरूरी छ ।

मुख्यतः स्पेनवाट औषत बर्षिक १२ हजार पर्यटक नेपाल पुग्ने गरेका छन्, अब यसलाई दूताबाससँगको सहकार्यमा दोब्बर बनाउन प्रयास थाल्नुपर्छ ।

यसका अलवा लगानी, ब्यापार, स्वास्थ्य, खेलकुद आदि क्षेत्रमा पनि दुई देशबीच सम्बन्ध स्थापित हुनेमा बिश्वस्त छु ।

चिन्तामणि सापकोटा, संस्थापक अध्यक्ष, नेपाली जनसम्पर्क समिति

स्पेनमा वा पोर्चुगलमा दूताबास राख्ने बिषयमा पछिल्लो समयमा गम्भीर छलफल भएको थियो । अन्त्यमा स्पेनमा दूताबास स्थापनाको निर्णय सरकारले गरेको छ, यसमा पूर्ण आशाबादी नै थिएँ । म्याडि्रडमा दूताबास हुँदा दुवै देश -पोर्चुगल र स्पेन)लाई दुरीले बराबर जस्तै हो । स्पेनको बाक्लो समुदाय रहेको बार्सिलोनाबाट र लिस्बनबाट मडि्रड पुग्नु लगभग बराबर जस्तै हो । यसले दुवै मुलुकमा बस्ने नेपालीलाई फाइदा गरेको छ ।

स्पेनमा दूताबास स्थापनाले दुवै मुलुकका नेपालीहरुलाई पक्कै पनि सहज बनाउने छ । अहिले पोर्चुगलमा धेरै नेपालीहरु छन् समस्याहरु धेरै होलान्, तर सधैं नेपालीको संख्या त्यति नै नै रहन्छ भन्ने छैन । पोर्चुगलमा पासपोर्ट बनेपछि नेपालीहरु अन्य मुलूकमा जाने क्रम ज्यादै बढ्दो छ, तर स्पेनमा आएर बसेपछि प्रायः नेपाली बाहिरिएको पाइँदैन । निकै पछिसम्मको सोचेर सरकारले निर्णय लिएको छ । यसले दुवै देशका नेपालीहरु खुशी हुनुपर्छ ।

शालिकराम डुम्रे, अध्यक्ष नेपाली जनसम्पर्क समिति

नेपाली जनसम्पर्क समितिले सन् २००७ सालदेखि उठाउँदै आएको मुद्दा आजसम्बोधन हुँदा हामी धेरै खुशी छौं । कांग्रेस नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा यो निर्णय हुनुले झनै उत्साहित बनाएको छ ।

सरकारी निर्णय गराउन जसरी लागि परेका थियौं, अब यसलाई कार्यान्वयन गराउन पनि कुनै कसर बाँकी राख्ने छैनौं । सन् २०१४ मा नेपाली जनसम्पर्क समिति स्पेनले डा. महतलाई राखेर अन्तरक्रिया गराउँदा, दूताबास खोल्ने निर्णयमा ठूलो भूमिका खेलेको हाम्रो ठम्याई छ ।

अब दूताबास स्थापनाको निर्णय भए पछि अझ फराकिलो ढंगले हेर्नुपर्दछ । नेपालबाट सिधै स्पेनमा रोजगारीको बाटो सृजना गर्ने, दुई मुलुकबीच ब्यापार सम्बन्ध बढाउने तथा नेपालमा पर्यटन क्षेत्रको बिकासलाई कसरी बढाउने भन्ने बारे फराकिलो सोच राख्न जरुरी छ । यसको लागि पनि नेपाली जनसम्पर्क समिति स्पेनले आˆनो ठाउँबाट पहल गर्नेछ ।

दिनेश गुरुङ, अध्यक्ष, प्रबासी नेपाली मञ्च

स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई मञ्चले हार्दिकताका साथ स्वागत गर्दछ । बर्षौंदेखि स्पेनबासी नेपालीहरुले राख्दै आएको मागलाई सरकारले सम्बोधन गरेको छ । बिभिन्न कालखण्डमा आ-आˆनो तर्फबाट प्रयास थाल्ने अभियन्ताहरु यसका भागिदार हुनुहुन्छ ।

स्पेनको नेपाली समुदायले लामो समय सम्म दूताबासका लागि सरकार सकारात्मक भन्ने मात्र जबाफ पाएको थियो तर अहिले आएर दूताबास खोल्ने अबस्थामा पुग्दा सामाजिक भावले लाग्ने सबैलाई खुशी तुल्याएको छ ।

एउटा ब्यक्ति वा संस्था लागेर मात्र यो सम्भव हुने बिषय नै हैन, पछिल्लो समयमा यस मुद्दाले मिडियामा राम्रो स्थान पायो । बिभिन्न समयमा भएका अथक प्रयासलाई हामी सबैले सम्मान गर्नुपर्छ ।

रमेश आशिकी पौडेल, उपाध्यक्ष, नेपाली जनप्रगतिशील मञ्च

नेपाली जनप्रगतिशील मञ्च स्पेनले आफ्नो स्थापनाकालदेखि नै दूताबासको माग गर्दै सरकारको ढोका घच्चघचाउने काम गरिरहेको थियो । तर अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा ठूलो युद्ध जितेको महशुस भएको छ ।

नेपाली जनप्रगतिशील मञ्च युरोपले बैठकवाट निर्णय नै गरेर स्पेनमा दूताबास स्थापना गर्न सरकारलाई दबाब दिएको स्मरण गर्दै हाम्रो प्रयासमा साथ दिने सबै प्रति आभार प्रकट गर्न चाहान्छु ।

स्पेनबासी सबै नेपालीहरुको चाहानालाई अहिलेको सरकारले सम्बोधन गरेको छ, यसले झन् प्रफुल्लित बनाएको छ ।

हाम्रो संगठनका अध्यक्ष लगायत सबै जना पछिल्लो समय नेपालमा फोन बार्ता र दबाबका लागि ब्यस्त भयौं ।

सबैले आ-आफ्नो ठाउँबाट गरिएको प्रयासले नै यो सम्भव भएको हो । अब यसलाई कार्यान्वयन गराउन पनि हामी लागी पर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment