Comments Add Comment

अघिअघि राजदूत, पछिपछि दूतावासः स्पेनमा किन खुल्यो नयाँ दूताबास ?

स्पेनमा  कति नेपाली छन् ? कहिले भित्रिए ?

नेपालमा एक ऎतिहासिक दिन, जहाँ मन्त्रिपरिषदका तीनवटा बैठक एकैदिनमा सम्पन्न भए। बैठकले गरेको एक महत्वपूर्ण निर्णयले एकातिर मुलुक १९ बर्षपछि स्थानीय निर्वाचनमा होमिँदै छ भने अर्कोतर्फ विगत १ दशकदेखि स्पेनबासी नेपालीहरुले राख्दै आएको माग पूरा भएको छ।

मुलुक निर्वाचनतिर जाँदै गर्दा संविधान संशोधनको विषय र स्थानीय निर्वाचनबारे धेरैको चासो रह्यो । तर, १४ देशका लागि राजदूत नियुक्तिसँगै नयाँ दूताबास खोल्ने सरकारी निर्णयले प्रबासमा चर्चा बटुल्यो। दूताबासको माग गर्दै आएका मुलुकहरु स्पेन र पोर्चुगलमा भने चर्चाले अझ राम्रै स्थान पायो, जुन स्वभाविक पनि हो।

चार बर्ष पहिले ओमन र बहराइनमा नेपाली दूताबास स्थापनाको चर्चा चल्दै गर्दा स्पेनलाई पनि प्रमुखताका साथ हेरिएको थियो। तर, त्यतिबेला चिप्लिएको स्पेन अहिलेसम्म उठ्न सकेको थिएन। सरकारले ओमन र बहराईनमा दूताबास स्थापना गरी छाड्यो, तर स्पेन त्यतिबेला फुत्कियो।

कस्तो संयोग, ओमन र बहराईनले दूताबास स्थापना भएको चार बर्षमा राजदूत पाए भने स्पेनले पहिले राजदूत अनि दूताबास पाउँदैछ

देशको बिडम्बना नै मान्नुपर्छ चार बर्ष अघि दूताबास स्थापना भएका ओमन र बहराइनले आजसम्म पनि राजदूत पाउन सकेका थिएनन्। फेरि कस्तो संयोग, दूताबासको चर्चा पाएका यी तिनै मुलुकहरुले एकैचोटि राजदूत पाएका छन्। ओमन र बहराईनले दूताबास स्थापना भएको चार बर्षमा राजदूत पाए भने स्पेनले पहिले राजदूत अनि दूताबास पाउँदैछ। खबरका अनुसार अबकास प्राप्त सहायक उपरथी भरत रायमाझी स्पेनका लागि पहिलो राजदूत बनेर आउँदैछन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेतासमेत हुन्।

स्पेनमा नेपाली दूताबासको मागसहित आफ्ना विचार प्रस्तुत गर्दै आएको यस पङ्तिकारलाई यति मात्र भन्न मन लागेको हो सरकार निर्णय गर्न शिपालु छ । तर, कार्यान्वयनका लागि खबरदारी गर्न भने छोड्नु हुँदैन।

स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनबासी नेपालीहरु उत्साहित छन्, करिव एक दशक अगाडिदेखि स्पेनबासी नेपालीहरुले राख्दै आएको मागलाई सरकारले ढिलै भए पनि पूरा गरेको छ

दूताबास खोलेर राजदूत पठाउँन चार बर्षसम्म लगाउँने सरकारबाट हामीले कस्तो अपेक्षा गर्ने ? त्यसैले स्पेनमा, दूताबास स्थापना गर्ने निर्णयपछि पनि यथाशीघ्र कार्यान्वयन गराउनका लागि दबाव दिन छोड्नुहुँदैन। खैर, मेरो आशय यति नै थियो।  देशको राजनीतिक अबस्था, सरकार परिबर्तन, दलीय भागबण्डा आदि ईत्यादी कारणले राजदूत नियुक्तिमा हुने ढिलाइबारे हामी सबै जानकार नै छौं।

स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनबासी नेपालीहरु उत्साहित छन्। करिव एक दशक अगाडिदेखि स्पेनबासी नेपालीहरुले राख्दै आएको मागलाई सरकारले ढिलै भए पनि पूरा गरेको छ। दूताबास आएपछि ठुलै होला भन्ने सोचेका नेपालीहरु उत्साहित हुनु स्वभाबिक पनि हो।

धेरै नेपालीहरु अलि बढी नै उत्साहित भएको पाइयो। स्पेनमा नेपाली दूताबास खोल्दा परिवार पुनर्मिलनका लागि दिल्लीमा भोग्ने समस्या “फू” हुने जस्तो गरी हौसिएका छन्। अझ धेरैलाई त यस्तो लागेको रहेछ,”अब बुढा बाबाआमालाई भिसा दिन आनाकानी गर्ने स्पेन सरकारले दूताबास आएपछि त सिधै दिन्छ।”

तर हामीले यो बुझ्न जरूरी छ कि,”नेपाल सरकारले स्पेनमा दूताबास स्थापना गर्ने निर्णय गरेको हो, ता कि स्पेन सरकारले काठमाडौंमा स्पेनिस दूताबास खोल्न लागेको होइन।” त्यसैले दिल्ली जानुपर्ने कुरा, सीता (एपोइन्टमेन्ट) को लामो समय सम्म कुर्नुपर्ने, मेडिकल रिपोर्ट आदि भोग्नुपर्ने समस्याहरु कम गर्न पहल होला । तर, स्पेनमा दूताबास खोलेपछि दिल्ली नै जानु पर्दैन भनेर बुझिएमा फेरि गलत हुन्छ।

वा कुटनीतिक सम्बन्ध धेरै राम्रो बनेको खण्डमा दिल्लीस्थित स्पेनिस दुताबासबाट नै काम हुने गरी नेपालवाट नै भिसा प्रक्रिया गर्ने वातावरण तय गर्न भने कुटनीतिक प्रयास बन्न सक्ला। यो पनि नेपाली समुदायले आफ्नो सहजताका लागि अपेक्षा वा आशा गर्ने पक्ष हो। स्पेनमा खोलिने नेपाली दूताबासले, पेरिस तिरका हाम्रा झन्झट कम गर्ने हो तथापि अन्य विषयहरुलाई विस्तारै सम्बोधन होला भन्ने अपेक्षा राखौं। यसलाई पनि एकछिन यही रोकौं।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेनस्थित राजनीतिक, क्षेत्रीय, जातीय संघ सस्था तथा पत्रकारहरुले दूताबासको माग गर्दै पटक–पटक सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । तर, जवाफ मन्त्रालय सकारात्मक छ भन्ने मात्र आउँथ्यो। अन्तत: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले दूताबास स्थापना गर्ने निर्णय गर्दै राजदूतसमेत सिफारिस गरेपछि निराशा फेरि आशामा बदलिएको छ।

परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले पटक-पटक आलोचना खेप्दै आए।  यस पङ्तीकारसँगको अन्तर्वार्तामा उनले भनेका थिए, “अनावश्यक ठाउँमा सरकारले खोलेका दूताबास बन्द गरेर भए पनि स्पेनमा दूताबास खोल्नुपर्छ।”

सन् २०१४ मा स्पेन आउँदा उनले बोलेको कुराले परराष्ट्रमन्त्री भएपछि पोल्न थाल्यो। दूताबास खोल्ने आफ्नो प्रतिवद्दतालाई पूरा गर भन्दै स्पेनबासी नेपालीहरुले दबाव सिर्जना गरेका थिए। परराष्ट्र मन्त्रालयको जिम्मेबारी सम्हालेपछि पनि बोलेको कुरा पूरा गर्न नसेको भन्दै डा.महतले चर्को आलोचना खेपे । अन्ततः आफ्नो प्रतिवद्दतालाई उनले पूरा गरी छाडेका छन्।

आखिर स्पेन कस्तो देश हो ? पोर्चुगलमा नेपालीहरु संख्या धेरै भएता पनि सरकारले दूताबास खोल्न किन स्पेनलाई नै रोज्यो ? यहाँ कुटनीतिक सम्बन्ध स्थापित गर्न सके नेपालले के फाइदा लिन सक्ला ?

स्पेनको संक्षिप्त परिचय

स्पेन दक्षिण पश्चिमी युरोपमा अवस्थित एक देश हो। यो देश आइबेरियाली प्रायद्वीपमा पोर्चुगलको पूर्व तथा उत्तरमा पर्दछ भने यसको उत्तरपूर्वमा फ्रान्स पर्दछ।रोमन कालमा यसलाई स्पानिया भनिन्थ्यो। औपनिवेशिक राष्ट्रहरू मध्ये यो पनि एक प्रमुख राष्ट्र थियो। यो राष्ट्रले दक्षिण अमेरिकामा ब्राजिल बाहेक सबै ठाउँ तथा मध्य अमेरिका र उत्तर अमेरिकाका धेरै ठाउँलाई आफ्नो उपनिवेश बनाएको थियो।

स्पेनका प्रमुख भाषाहरू, स्पेनी (एस्पान्योल), कातालान, बास्क आदि छन्। स्पेन फुटबलका लागि निकै लोकप्रिय रहेको छ। बिश्वका चर्चित तथा धनी फुटबल क्लबहरु स्पेनमा नै रहेका छन्। स्पेनको क्षेत्रफल ५ लाख ५ हजार ९ सय ९० बर्ग किलोमिटर रहेको छ। भने झन्डै ४ करोड ६४ लाख जनसंख्या रहेको छ।

स्पेन युरोपियन युनियन तथा सेन्जेन राष्ट्र मध्येको एक शक्तिशाली मुलुक मानिन्छ। स्पेनमा आप्रबासीहरु सम्बन्धि खुकुलो नीति भएका कारण, दक्षिण अमेरिकी मुलुकहरु अर्जेटिना, बार्जिल, चिली, पाराग्वे लगायत दक्षिण एशियाली मुलुकहरु भारत, पाकिस्तान, नेपालयस्तै अफ्रिकी मुलुकहरुबाट पनि थुप्रै आप्रबासीहरु बसोबास गर्दै आएका छन्।

स्पेनमा  कति नेपालीहरु छन् ? कहिले भित्रिए ?

स्पेनमा धेरै नै लामो समयदेखि नेपालीहरु बसोबास गर्दै आएको तथ्याङ्क नभेटिए पनि सन् २००० पछि भने ठूलो संख्यामा नेपालीहरु बसोबास गर्दै आएको पाइन्छ। बिशेषतः नेपालको द्वन्दकालको समयमा युरोप छिरेका नेपालीहरु, युरोपका अन्य मुलूकहरुमा बसोबासका सहज नभएपछि स्पेन छिर्न थालेका हुन् ।

स्पेनमा अवैधानिकरुपमा बसोबास गर्नेहरुलाई पनि डिपोर्ट नगर्ने, तीन वर्षपछि सबै प्रकिया पूरा गरेको खण्डमा रेसिडेन्सी कार्ड दिने हुँदा पछिल्ला बर्षहरुमा नेपालीहरु संख्या बढेको हो।

हाल करिब १० हजार नेपालीहरु स्पेनमा बसोबास गर्दै आएको अनुमान छ। बार्सिलोना, पाईस भास्को, कमुनिदाद भालेन्सियाना, ग्रान क्यानारिया (क्यानारियन टापु), म्याड्रिड मायोर्का, मालागा लगायत स्पेनमा अन्य शहरहरुमा पनि नेपालीहरु बस्दै आएका छन्। कार्ड बनेपछि परिवार पनि ल्याउन पाइने हुँदा नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गएको हो।

कसरी आए नेपालीहरु ?

जर्मनी, बेल्जियम, नेदरल्याण्ड, बेलायत, डेनमार्क लगायतका युरोपेली मुलुकमा बैधानिक रुपमा बस्ने अवस्था नभएपछि पनि नेपालीहरु स्पेनमा भित्रिएको पाइन्छ। स्पेनका कलेज तथा युनिभर्सिटीमा पढ्न आएका नेपाली विद्यार्थीहरु भने निकै थोरैको संख्यामा छन् ।यिनै नेपालीहरु आफू वैधानिक बनेपछि ठूलो संख्यामा दोस्रो पुस्ताका नेपालीहरु भित्रिएका छन्।

यस्तै कतिपय नेपाली वालबालिकाहरु स्पेनिसका धर्मपुत्र वा धर्मपुत्री बनेर बर्षौ पहिलेदेखि स्पेन आएको पाइन्छ। सम्भवत: यसरी आउने नेपालीहरु नै स्पेनमा आउने पुराना नेपाली मानिन्छन्। पहाड र हिमाल चढ्न नेपाल पुगेका स्पेनिसहरुले धर्मपुत्र वा धर्मपुत्री बनाएर यता ल्याएको भेटिन्छ।

स्पेनबाट नेपालले बिशेष गरी पर्यटन क्षेत्रमा ठूलो फाइदा उठाउन सक्नेछ, बर्षेनी १२ हजार स्पेनिस घुम्नका लागि नेपाल पुग्ने गरेका छन्

के छन् यहाँका मुख्य समस्या ?

नेपाल सरकारले सन् १९६७ मा फ्रान्सस्थित पेरिसमा कुटनीतिक सम्बन्ध जोडेको थियो। पेरिसमा स्थापना भएको दूताबासले फ्रान्सलाई मात्र हैन स्पेन, पोर्चुगल ग्रिसलाई पनि हेरेको छ।

एमआरपी पासपोर्ट, वारेसनामा लगायतका कागजात बनाउन पेरिस पठाउनुपर्ने हुँदा ठूलै समस्या झेल्नुपरेको छ । फारम बिग्रँदा, पासपोर्ट गलत बनेर आउँदा त झनै हैरानी ब्यहोर्नु पर्ने बाध्यता छ।

दूताबास स्थापना गर्दा नेपाललाई के फाइदा ?

स्पेनबाट नेपालले बिशेष गरी पर्यटन क्षेत्रमा ठूलो फाइदा उठाउन सक्ने देखिन्छ । बर्षेनी १२ हजार स्पेनिस  पर्यटकहरु नेपाल पुग्ने गरेका छन्। बिगतका तथ्याङ्कलाई हेर्दा बेलायत, फ्रान्स र जर्मनीपछि युरोपबाट धेरै पर्यटकहरु पुग्ने देशमा स्पेनको नाम आउँछ।

सन् २००३ देखि सन् २०१५ सम्म बर्षेनी नेपाल पुग्ने स्पेनिसहरु औसत संख्या १२ हजारभन्दा बढी छ। यो अवधिमा करिब १ लाख ६० हजार स्पेनिस पर्यटकहरु नेपाल घुमिसकेका छन्। यो संख्या अन्य दूताबास भएका मुलुकहरु बेल्जियम, डेनमार्क, स्वीटजरल्याण्ड भन्दा दोब्बर वा त्योभन्दा पनि बढी हो।

यस्तै औपनिवेशिक राष्ट्रहरूमध्ये यो पनि एक प्रमुख राष्ट्र स्पेन थियो। यो राष्ट्रले दक्षिण अमेरिकामा ब्राजिल बाहेक सबै ठाउँ तथा मध्य अमेरिका र उत्तर अमेरिकाका धेरै ठाउँलाई आफ्नो उपनिवेश बनाएको थियो।

स्पेनले हरेक बर्ष दक्षिण अमेरिकी मुलुकहरुमा अरबौं सहयोग गर्दै आएको छ। कुटनीतिक सम्बन्ध राम्रो बनाउन सके नेपालले पनि सहयोग प्राप्त गर्ने सम्भावना छ।  यस्तै लगानी मैत्री वातावरण सिर्जना गर्न सके दुई मुलुकबीच ब्यापार ब्यवसाय बढाउन सकिन्छ।

यस्तै स्पेनलाई फुटबलको देश भनेर चिन्ने गरिन्छ। संसारका चर्चित फुटबल क्लबहरु रियल म्याड्रिड र बार्सिलोना जस्ता फुटबल क्लबहरु रहेको स्पेनमा नेपाली राष्ट्रिय खेलाडीहरुलाई व्यवसायिक खेल, तालिम, ट्रायलका लागि सरकारले वातावरण बनाउन सक्छ।

नेपाली युवा राष्ट्रिय खेलाडी अञ्जन बिष्ट र बिमल घर्तिमगरले स्पेनिस क्लवमा आफ्नै एजेन्ट मार्फत तालिमको अवसर प्राप्त गरेका छन् । तालिम तथा ट्रायलका लागि क्लवहरुसँग सम्बन्ध राखेमा अन्य नेपाली खेलाडीहरुलाई समेत अवसरको सृजना गर्न सकिन्छ। यसका लागि दूताबास स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

के पोर्चुगलका समस्या पनि सम्बोधन होलान् ?

केही वर्षयता स्पेनमा भन्दा पोर्चुगलमा नेपालीहरुको संख्या बढेको पाइन्छ। तर, दुई वटा यस्ता मुलुक हुन् कुनै एउटा देशमा रेसिडेन्सी कार्ड बन्न बन्द हुने वा कठिन हुने अबस्था आयो भने जता पनि नेपालीहरुको संख्या बढ्ने देखिन्छ।  स्पेनमा रहेका नेपालीहरु मध्ये हाल ९० प्रतिशत बढी नेपालीहरु बैधानिक भइसकेको अनुमान छ।

तसर्थ स्पेनबाट पोर्चुगल जाने सम्भावना निकै कम छ भने पोर्चुगलमा अझै पनि धेरैको संख्यामा नेपालीहरु कागाजविहीन छन्। विविध कारणले उनीहरु स्पेन आउने सम्भावनालाई नकार्न सकिँदैन। तर, केही वर्ष पहिले भने स्पेनमा आएका नेपालीहरु धेरैको संख्यामा पोर्चुगल पुगेका थिए। त्यतिबेला पोर्चुगलमा पेपर बन्न अहिले भन्दा निकै सहज र सरल थियो।

कुटनीतिक, भौगोलिक तथा आर्थिक हिसावले पोर्चुगल भन्दा स्पेनलाई राम्रो देखेर नै नेपाल सरकारले दूताबासका लागि प्राथमिकता राखेको हो। तर, परराष्ट्र स्रोत अनुसार म्याड्रिडमा दूताबास स्थापनापछि पोर्चुगललाई पनि हेर्दै कागाजी समस्याहरु कम गर्ने रणनीति बनेको छ।

पोर्चुगलका लागि एउटा छुट्टै दूताबास स्थापना नभएसम्मका लागि यसो गर्दा पेरिस र म्याड्रिड दूताबासको  जिम्मेबारी बाँडिने हुँदा राहदानी लगायत अन्य कागजी प्रक्रियामा सहज हुने अनुमान छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment