Comments Add Comment

दुर्घटना बढेपछि नेपाली विद्यार्थीलाई समुद्र किनारमै तालिम

तस्वीर: बोण्डाई सर्फ बाथर्स लाइफ सेभिङ क्लब

२१ फेब्रुअरी, सिड्नी । अष्ट्रेलियाका समुद्री तटहरुमा नेपालीहरुको ज्यान गएपछि यहाँको एक शैक्षिक संस्थाले आफ्ना विद्यार्थीहरुलाई समुद्री किनारमा यात्रा गर्दा तथा समुद्रमा पौडिँदा ध्यान दिनुपर्ने कुराहरुबारे बुधबार ओरियन्टेशन कक्षा सञ्चालन गर्ने भएको छ ।

बोण्डाई जङशनमा भएको नेपालीहरुको लगानीको हाम्रो इन्सटिच्युट अफ विजनेश टेक्नोलोजीले सन् २०१७ को शैक्षिक सत्रमा अध्ययन गर्न अष्ट्रेलिया आइपुगेका आफ्ना ४० जना विद्यार्थीहरुलाई ओरियन्टेशन दिने तयारी गरेको हो ।

उक्त शैक्षिक संस्थाका सीईओ दीपक खनालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार व्यवसायीक पौडी निरीक्षकहरुले विस्तृत सैद्धान्तिक तथा व्यवहारिक तालिम दिनेछन् ।

सिड्नीको चर्चित समुद्री तट बोण्डाई बीचमा भएको बोण्डाई सर्फ बाथर्स लाइफ सेभिङ क्लबले यो तालिम दिनेछ ।

बोण्डाई सर्फ बाथर्स लाइफ सेभिङ क्लबको भवन । तस्वीर: क्लबको वेबसाइट

गत फेब्रुअरी १३ को राति सिड्नीको मरुब्रा बीचमा दुई नेपाली विद्यार्थीहरुको निधन भएको थियो ।

‘मैले फेब्रुअरी १४ मै नयाँ विद्यार्थीका लागि यस सम्बन्धी ओरियन्टेशन दिने सोच बनाएँ र पौडी प्रशिक्षकहरुको खोजी गरें,’ सीईओ दीपक खनालले भने ।

‘तर, गुगल सर्च गर्दै पत्ता लगाइएको पौडी प्रशिक्षकहरु त स्वीमिङ पुलका लागि मात्र योग्यता भएका रहेछन् । तीमध्ये एउटाले समुद्रमा पौडी सम्बन्धी विशेष तालिम प्राप्त निरीक्षकको सम्पर्क दियो र हामीले अनुरोध गर्‍यौं,’ खनालले पौडी प्रशिक्षक खोज्दाको अनुभव सुनाए ।

सन् १९०७ मा स्थापना भएको बोण्डाई सर्फ बाथर्स लाइफ सेभिङ क्लबका प्रशिक्षक तथा निरीक्षकहरु समुद्रमा व्यवसायीक पौडी गर्ने र प्रशिक्षण दिने आधिकारीकताका रहेछन् । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि यस सम्बन्धी ओरियन्टेशन प्रदान गर्न अनुरोध गर्दा पहिले त त्यो क्लब अचम्मित भएको खनालको अनुभूति छ ।

दीपक खनाल

कुनै पनि कलेजले पहिलोपटक यस्तो कामका लागि निमन्त्रणा गरेको भन्दै क्लबले बुधबार साँझ चार बजेदेखि साढे ६ बजेसम्मको कार्यतालिका र प्रशिक्षणको पाठ्यक्रम पनि पठाएको खनालले जानकारी दिए ।

के-के प्रशिक्षणको विषयवस्तुमा ?

पहिलो कलेजमै प्रशिक्षण दिन निमन्त्रणा गरिए पनि व्यवहारिक तथा अनुभूतिजन्य ज्ञान दिनुपर्ने भएकाले विद्यार्थीलाई बोण्डाई बीचमा भएको उक्त क्लब मै ल्याउन भनिएको छ । ‘हामी सैद्धान्तिक, व्यवहारिक र अनुभूति जन्य प्रशिक्षण दिन्छौं । त्यसैले यो समुद्र किनारमै पानीको नजिक हुनुपर्छ,’ क्लबका एक प्रशिक्षकले आयोजकहरुलाई भने ।

जम्मा आठवटा बुँदामा समेटिएको उक्त ओरियन्टेशन गाइडमा अष्ट्रेलियाको पौडी तथा जल मनोरञ्जनको सँस्कृतिबारे पहिलो कक्षा हुनेछ ।

दोस्रो कक्षामा खुला जलस्थानहरु बीच, नदीहरु, तालहरु र लगुनहरुको परिचय दिइने छ ।

तेस्रो कक्षा निकै महत्वको हुने छ जसमा बीच साइडमा सुरक्षा सम्बन्धी जानकारी दिइने छ । बीचमा के-के खतराहरु हुन्छन्, कहिले र कहाँ पौडी खेल्ने र नखेल्ने भन्नेबारे विस्तृत जानकारी यो सेशनमा हुनेछ ।

चौथो शीर्षक समुद्रको छाल र करेन्टबारे हुने छ । किन बीचहरु खतरनाक हुनसुक्छन् र लुकेको खतरा के हुनसक्छ भन्नेबारे विस्तृत ज्ञान दिइने छ ।

पाँचौ कक्षा रमाइलो हुनेछ । पानीमा कसरी सुरक्षितसाथ रमाउने भन्ने कुरा पाँचौ शीर्षकमा छ ।

यस्तै छैठौंमा जीबन रक्षकहरुको भूमिकाबारे छ । सातौंमा यदी आफै वा कोही पानीमा फसिहालेमा के गर्ने भन्ने जानकारीमा आधारित छ ।

अन्तिम कक्षामा विद्यार्थीहरु फुर्सदिला भएमा पौडी तथा पानीमा सुरक्षाबारे अरु धेरै जानकारी लिन सकिने ठाउँ तथा तरिकाबारे हुनेछ ।

दूतावास र एनआरएन सोचाइमा

अष्ट्रेलियामा समुद्री किनारमा दुर्घटनाहरु हुन थालेपछि क्यानवेरास्थित नेपाली दूतावासले यहाँस्थित नेपाली समुदायमा समुद्रमा सुरक्षा सम्बन्धी अभियान चलाउनुपर्ने सोचाइमा पुगेको छ ।

कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले अनलाइनखबरसँग भने, ‘आगामी वर्षको वर्षायाम सुरु नहुँदै हामी अभियान थाल्ने छौं ।’

उनले बिभिन्न राज्यमा भएका महावाणिज्य दूतावासहरुलाई त्यहाँको समुदायसँग मिलेर समुद्र किनारमा सतर्कता सम्बन्धी गतिविधि सञ्चालन गर्न भनिएको पनि जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले पनि नेपालबाट आउनु अघि र यहाँ आइसकेपछि पनि विद्यार्थीहरुलाई समुद्र किनारमा सुरक्षा सम्बन्धी जानकारी दिनुपर्ने बताएको छ । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले अनलाइनखबरसँग भने, ‘हामी सूचनामुलक कार्यक्रम निर्माण गर्ने र बुकलेट प्रकाशित गरेर व्यापक वितरण गर्ने तयारीमा छौं । यसका लागि आन्तरिक गृहकार्य भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment