Comments Add Comment

मदिरामा कडाइः पार्टीमा पीउन नपाइने, एक बोत्तल बढी किन्न नपाइने !

राष्ट्रिय मदिरारहित दिवस मनाउने सरकारको नीति

१० फागुन, काठमाडौं । यदि तपाई भोज भतेरमा गएर मस्त मदिरा सेवन गर्ने सोचमा हुनुहुन्छ भने, अब त्यो सोच चटक्कै त्याग्दिनुहोस् । सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रम मदिरारहित गर्ने नीति लिएसँगै अब भोज भतेरहरुमा मदिरा सेवन गर्न नपाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति ०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

एक दिनमा एक लिटरभन्दा बढी मदिरा किन्न नपाइने

सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरणमा रोक लगाइने नीतिमा उल्लेख छ । साथै विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ ।

मन्त्रिपरिषदबाट सोमबार पारित गरिएको नौ बुँदे उक्त नीतिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तीमा एक लिटरभन्दा बढी खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ ।

त्यस्तै, २१ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरीद, बिक्री र सेवन गर्न निषेध गर्ने, त्यसको सूचना टाँस गर्ने लगायतका प्रवर्द्धनात्मक व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

सरकारको यो नीति कार्यान्वयन गर्न चाँडै नै कानुनी व्यवस्था गर्ने स्वास्थ्यमन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकार राजुु कटुवालले जानकारी दिए ।

राष्ट्रिय मदिरारहित दिवस मनाइने

नेपाल सरकार, स्थानीय निकाय र विकासका साझेदारहरुबाट हुने कार्यक्रममा मदिरा नियन्त्रणको विषयलाई समावेश गर्न प्रोत्साहन गरिने छ । सरकारले मदिराको हानिकारक सेवनलाई न्युनीकरण गर्न राष्ट्रिय मदिरारहित दिवस मनाउने नीति समेत लिएको छ ।

मदिराको बोतलको कम्तीमा ७५ प्रतिशत भागमा मदिरा सेवनको कारणले सिरोसिस भएको कलेजो वा मुटुरोगको चित्र र ‘मदिरा सेवन स्वास्थ्यका लागि हानीकारक छ’ भन्ने चेतनामुलक स्वास्थ्य सन्देश उल्लेख गरेको हुनुपर्ने छ । बोतलमा मदिरा उपभोग गर्ने अन्तिम मिति र मदिराको गुणस्तर समेत जनाउनुपर्ने छ ।

त्यस्तै, छापा तथा विद्युतीय सञ्चार माध्यम, इन्टरनेट, इमेल, होडिङ्गबोर्ड लगायतका कुनै पनि सञ्चार माध्यम वा तरीकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रवर्द्धन र बजारीकरण गर्ने सम्बन्धी सूचना, चित्र, सन्देश, सामग्री विज्ञापन, प्रयोजन वा समाचार प्रकाशन र प्रसारण कार्यलाई निषेध गरिनेछ ।

मदिरा निषेधित क्षेत्र तोकिने

टेलिभिजन तथा चलचित्रमा प्रचार प्रसार हुने कुनै पनि कार्यक्रममा व्राण्ड वा लोगो झल्किने गरी मदिराको प्रवर्द्धन, विज्ञापन तथा प्रचारप्रसार गर्ने कार्य निषेध गरिने, कुुनै पनि सार्वजनिक स्थलमा मदिरा उत्पादन र बिक्री वितरण गर्न नपाउने, मदिराको बिक्री वितरणको लागि अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।

त्यस्तै, कुनै पनि सार्वजनिक, पर्यटकीय, खेलकुद, मनोरञ्जनात्मक तथा धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरु तथा नेपाल सरकारलेे आवश्यक ठानेका ठाउँहरुमा मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने नीतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment