Comments Add Comment

भाषाको राजनीतिः हिन्दी भाषाको पञ्जामा मातृभाषा

आफ्नो मातृभाषा सम्वृद्ध बनाउने कि हिन्दीतिर लाग्ने ?

हरेक भाषा राजनीतिक शक्तिसँग उदाउँछ र त्यो सँगै अस्ताउँछ । भाषाको जहिले पनि शक्तिसँग प्रत्यक्ष सम्बन्ध हुन्छ भनेर इतिहासले प्रमाणित गर्दै आएको छ । कुनै खास भाषाको प्रभुत्व तब मात्र हुन्छ, जब त्यो भाषा बोल्ने समुदायको वर्चस्व स्थापित हुन्छ ।

कुनै पनि भाषाको मातृभाषीको राजनीतिक शक्तिका आधारमा यो स्थापित हुन्छ र आर्थिक शक्तिका आधारमा आफ्नो क्षमता र स्तरोन्नति गर्दै अगाडि बढ्छ । सत्रौं शताब्दीदेखि अंग्रेजीलाई विश्वभर स्थापित गर्न बि्रटेनको साम्राज्य र औद्योगिकरणको शक्तिले भूमिका खेल्यो । अहिले अमेरिकाको प्रभाव र शक्तिकै परिणामस्वरुप अंग्रेजी भाषाले अन्तर्राष्ट्रिय बजार, संघसंस्था, विज्ञान-प्रविधि लगायत हरेक क्षेत्रमा प्रभाव पार्न सफल भएको छ ।

नेपाल जस्तो परनिर्भर र कमजोर राष्ट्रको लागि यस्तो प्रभावलाई रोक्ने रत्तिभर सामर्थ्य छैन । यसबाट भाग्न खोज्दा आफ्नै ज्ञान संकुचित हुने र आफ्नै विकास र प्रविधिको विस्तार अवरुद्ध हुने अवस्था छ । नेपालको आम जनजीवनमा प्रभाव पार्ने अर्को शक्तिशाली भाषा हिन्दी हो । हिन्दी भाषाले नेपालमा मनोरञ्जनका साधनमार्फत आफ्नो प्रभाव बढाइरहेको छ । यहाँ अधिकांशले हिन्दी चलचित्र तथा टेलिभिजन च्यानल हेर्छन् । बलिउड उद्योेग तथा चर्चित टिभी शो हरु मार्फत भारतले दक्षिण एसियाली मुलुकहरुमा एकछत्र राज गर्न थालिसकेको छ ।

भाषाको माध्यमवाट विश्वमा आफ्नो आधिपत्य जमाउन क्रियाशील छन् शक्तिराष्ट्रहरु । जनसंख्याको हिसाबले विश्वका ठूला राष्ट्र नेपालका दुई छिमेकी चीन र भारत पनि आफ्नो देशको भाषालाई अन्तर्राष्ट्रियकरण गर्दै शक्ति सुदृढीकरण गर्न तल्लीन छन् । चिनियाँ भाषाले संयुक्त राष्ट्र संघको आधिकारिक भाषाको मान्यता पाइसकेको छ भने भारत पनि एसियामा हिन्दी भाषाको प्रभाव बढाई अन्तर्राष्ट्रिय परिवेशमा दबाव दिन प्रयासरत छ ।

भारतीय भाषिक परिवेश

रोहित भट्टराई

विश्वमा करिब ६ हजार भाषा बोलिन्छन् र यसमध्ये दुई हजार जति भाषा त भारतमा मात्रै छन् भनिन्छ । भारतको कुल जनसंख्याको करिब ४० प्रतिशत अर्थात् झन्डै ५० करोड भारतीयको मातृभाषा हिन्दी हो । बाँकी ६० प्रतिशत भारतीयको मातृभाषा अंग्रेजी, बंगाली, तमिल, कन्नड लगायत छन् ।

तर, बि्रटिस उपनिवेशकालमा भारतमा अंग्रेजी आधिकारिक भाषाको रुपमा स्थापित भयो । हालसम्म पनि भारतको दक्षिण तथा दक्षिण-पूर्वी राज्यहरुमा हिन्दी भाषाको कमै प्रयोग हुन्छ । भारतमा हिन्दी भाषासँगै अंग्रेजी भाषाको स्थिति पनि बलियो छ ।

सन् १९५० को भारतको संविधानले अंग्रेजीको प्रयोगलाई हिन्दी भाषाले स्थानान्तरण गर्दै जाने व्यवस्था मिलायो र एकमात्र आधिकारिक भाषाको रुपमा हिन्दीलाई अगाडि बढाउने योजना केन्द्र सरकारले बनायो । यस विरुद्ध तमिल नाडु, महाराष्ट्र, पञ्जाब, आन्ध्र प्रदेश लगायतका राज्यबाट व्यापक विरोध भएपछि सरकारले अंग्रेजीलाई यथास्थितिमा अगाडि बढाउने निर्णय गर्‍यो ।

तर, भारतको केन्द्र सरकारले हिन्दी भाषाको प्रभाव र दबाव बढाउन हरसम्भव प्रयास गर्ने गरेका छन् । आफ्नै देशका कतिपय राष्ट्रमा हिन्दी भाषाको प्रभाव स्थापित गर्न नसकेको भारतीय सरकार नेपाल जस्ता अल्पविकसित दक्षिण एसियाली मुलुकहरुमार्फत विस्तारै आफ्नो भाषालाई अन्तर्राष्ट्रियकरण गर्न प्रयासरत छ । मोदी सरकारले पछिल्लो समय सरकारी कार्यालयहरुमा हिन्दी भाषालाई प्रवर्द्धन गर्ने घोषणा समेत गरेको छ ।

नेपाली सन्दर्भः मैले हिन्दी बुझ्नैपर्ने भन्ने छ र ?

दुई शक्तिराष्ट्रको बीचमा रहेको नेपालमा हाम्रा भाषिक सम्पदाले आˆनो इतिहास तथा अस्तित्व जोगाउनु चुनौतीपूर्ण बनेको छ । यस्तो अवस्थामा हामीले हाम्रा एक सय २५ वटा भाषालाई विकास गर्दै नेपाली भाषालाई प्रतिनिधि भाषाको रुपमा अगाडि बढाउँदै आफ्नो पहिचान स्थापित गर्न संघर्षरत रहनुपर्ने आवश्यकता छ ।

भारतले आफ्नै कतिपय राज्य सरकारसँग हिन्दी भाषामा नभई अंग्रेजी भाषामा पत्राचार गर्नुपर्ने व्यवस्था छ । भारतका धेरैजसो उच्च अदालत तथा सर्वोच्च अदालतमा अंग्रेजी भाषा मात्र प्रयोग गरिन्छ । तर, तिनै भारतीय नेता, प्रशासक तथा सरकारका प्रतिनिधिहरु नेपाली प्रतिनिधिसँगको भेटवार्तामा निःसन्देह हिन्दी भाषाको प्रयोग गर्ने गर्छन् ।

विहार सरकारका कतिपय निकायबाट सीमावर्ती तराईका जिल्लास्थित कार्यालयहरुमा प्राप्त हुने पत्रहरु हिन्दी भाषामै हुन्छन् । भारतीय पर्यटक नेपालका गल्लीहरु घुम्दा नेपालीसँग केही सोध्नुपर्दा निर्धक्क हिन्दी भाषा प्रयोग गर्छन् । नेपाली नागरिक भएर तथा सरकारको आधिकारिक पदमा बसेर के मैले हिन्दी भाषा बुझ्नैपर्छ भन्ने छ र ?

भारतको विहार भ्रमण गर्दा मैले हिन्दी भाषाकै प्रयोग गरेर सहजताका साथ फर्किएँ । भारतको बंगाल, आसाम, दार्जिलिङ तथा सिक्किमतिरको भ्रमणमा हिन्दीभन्दा बढी अंग्रेजी तथा नेपाली भाषाको प्रयोगले सहज बनायो । आसाम, बंगालतिर त मैले जानेका कुनै भाषाले काम गरेन ।

भारतकै कुनै प्रान्तमा नबुझिने हिन्दी भाषाको प्रयोग गरेर एकपटक पशुपति क्षेत्रमा मलाई एक भारतीय पर्यटकले केही प्रश्न सोधे, सायद पशुपतिनाथ मन्दिरको बारेमा । मैले बुझ्नुपर्ने बाध्यताभन्दा पनि उसले मलाई बुझाउनुपर्ने बाध्यता थियो । मैले कृपया नेपाली वा अंग्रेजीमा सोध्नुहोला मैले बुझिनँ भनेर अंग्रेजीमा आग्रह गरेपछि मात्र उसले अंग्रेजीमै कुरा गर्न थाल्यो ।

कुनै पनि भाषाको ज्ञान हुनुलाई मात्रै नकारात्मक रुपमा कदापि लिइनुहुँदैन । तर, भौगोलिक बाध्यताले हामी भारतमाथि निर्भर रहिरहँदा विस्तारै भाषिक रुपमा पनि उतै निर्भर हुनेतर्फ अग्रसर छौं । नेपालको तराई क्षेत्रमा पनि मैथिली तथा भोजपुरी जस्ता समृद्ध भाषाका कतिपय मातृभाषीले समेत हिन्दी भाषाप्रति आस्था राख्दै जानुले गम्भीर चुनौति सिर्जना भएको छ ।

हिन्दी भाषाको प्रभाव नेपालको तराई क्षेत्रमा बढ्दै जाँदा यहाँका स्थानीय भाषाहरु हिन्दी भाषामै विलीन नहोलान् भन्न सकिन्न । किनकि हिन्दी, मैथिली, भोजपुरी लगायतका भाषाहरु अझ भनौं नेपाली पनि एकै भाषा परिवारभित्रका नातेदार हुन् ।

सन् १९०८ मै महात्मा गान्धीले औपनिवेशिक भारतको सन्दर्भमा भनेका थिए, ‘लाखौंलाई अंग्रेजीको ज्ञान दिनु उनीहरुलाई दास बनाउनु हो ।’

तर, न भारतले अंग्रेजीको ज्ञानलाई रोक्न सक्यो न विश्वले । हामी नेपाली पनि यो विश्वभाषाको दास भइसक्यौं । यसको प्रभावलाई हामीले सहर्ष र अझ गर्वसाथ स्वीकार गरिसकेका छौं । भाैगोलिक तथा राजनीतिक रुपमा अंग्रेजी भाषाको प्रयोगले नेपाललाई कुनै असर गर्दैन । तर, नेपालमा हिन्दी भाषाको बढ्दो प्रभाव नेपालका लागि घातक साबित हुन सक्छ ।

कुनै भाषा बोल्दैमा त्यो भाषिक दासत्व पक्कै हुँदैन । भाषिक दासत्व त्यसबेला मात्र हुन्छ, जब म आफ्नो भाषालाई तिलाञ्जली दिएर विदेशी भाषाको शक्तिलाई पूजा गर्न विवश हुन्छु । दासत्व त्यसबेला हुन्छ, जब आफ्नै भूमिमा विदेशीसँग कुरा गर्दा उसको सहजताको लागि उसकै भाषामा कुरा गरिदिनुपर्ने हुन्छ । दासत्व त्यसबेला हुन्छ, जब नेपाल सरकारको आधिकारिक पदमा बसेर भारतीय प्रतिनिधिसँग हिन्दी भाषामा कुरा गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय सभा सम्मेलन वा द्विदेशीय वार्तामा विकसित वा उदीयमान शक्तिराष्ट्रहरुले आफ्नै भाषाको प्रयोग गर्दै दोभाषेको प्रयोग गर्छन् । यस्तो सञ्चार सांकेतिक रुपमा महत्वपूर्ण हुन्छ । तर, नेपाल सरकार र भारत सरकारका सरकारप्रमुख वा प्रतिनिधिहरुबीचको भेटवार्तामा प्रत्यक्ष रुपमा हिन्दी भाषामा कुराकानी भएका थुप्रै उदाहरण छन् । तराईका सीमाक्षेत्रमा कुनै नेपालीले भारतीय सुरक्षाकर्मीको सोधपुछमा पर्दा हिन्दी भाषा नै बुझ्नु र बोल्नुपर्ने हुन्छ भने भारतीय नागरिकलाई नेपाली सुरक्षाकर्मीले सोधपुछ गर्दा पनि हिन्दी भाषाकै प्रयोग गरिदिनुपर्ने हुन्छ । यो भन्दा बढी भाषाको दासत्व के हुन सक्छ ? भनेको के हो भनेर थप प्रष्ट्याउनु नपर्ला । यस्तो भाषिक दासत्व राजनीतिक दासत्वको संकेत हो ।

दक्षिणी छिमेकी भारतको हिन्दी भाषाको प्रभाव नेपालको दक्षिणी क्षेत्रमा र उत्तरी तिब्बती भाषाको प्रभाव हिमाली क्षेत्रमा पर्दै जाँदा नेपालका कतिपय स्थानीय भाषा लोप भई हिन्दी र तिब्बती भाषामा समाहित हुने खतरा बढेको छ ।

हामीकहाँ मैथिली मातृभाषीले समेत गर्वसाथ हिन्दी भाषालाई प्राथमिकतामा राख्ने गरेको उदाहरण प्रशस्त देखिन्छ । आफ्नै मातृभाषामा सपथ लिनुको साटो हिन्दी भाषामा सपथ लिने पूर्व उपराष्ट्रपतिको अडानले त्यो मोह झल्काएकै थियो ।

मैथिली भाषीप्रति मेरो गुनासो

अहिले म दुई नम्बर प्रदेशको मिथिलाभाषी बाहुल्य क्षेत्रमा काम गरिरहेको छु । यस क्रममा स्वाभाविक रुपमा विभिन्न सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठीमा सहभागी हुँदा मलाई लाग्थ्यो, अब म पनि छिटै मैथिली भाषा सिक्नेछु, मैथिली संस्कृतिमा रमाउन पाउनेछु । तर, मेरो यो उत्साह धेरै समय टिक्न सकेन ।

नेपालको दोस्रो धेरै मातृभाषीको संख्या रहेको मैथिली भाषाका साहित्य, व्याकरण, शब्दकोष लगायत पाठ्यसामग्रीहरु मैथिली बाहुल्य क्षेत्रकै बजारमा सहज रुपमा उपलब्ध छैनन् । न त नयाँ पुस्तालाई यो भाषा सिक्ने जाँगर छ, न त सिकाउने कसैलाई उत्साह नै छ ।

यो भाषाका कतिपय मातृभाषी माथिल्लो पदमा पुगेका छन् भने कोही अधिकारको लागि लड्दै छन् । पहिचानको राजनीति गरिरहेका यिनैमध्येका कतिपयले हिन्दी भाषाको वकालत पनि गर्दै छन् । हिन्दी भाषाको राजनीतिक तथा आर्थिक शक्तिको छायामा परेको विगतको समृद्ध मैथिली भाषाको ओज र तेज घटेको देखिन्छ ।

दुर्भाग्य लाग्छ, कतिपय मैथिली मातृभाषी ठूला नेताले आफ्नै जिल्लामा भाषण गर्दा समेत हिन्दी भाषाको प्रयोग गर्नुमा आफ्नो पहिचान देख्छन् । जिल्लामा हुने कतिपय कार्यक्रममा मैथिली भाषाको प्रवर्द्धन गर्नेभन्दा हिन्दी भाषामै कार्यक्रम हुन्छन् । आफ्नो मातृभाषाको संवर्द्धन र प्रवर्द्धनका लागि आवाज उठाउनुपर्नेमा त्यसलाई बिर्सेर हिन्दीमा बोल्दा कसरी सम्मानित महसुस हुन्छ, मैले बुझ्न सकिनँ । नेपाली भाषा बोल्दा पाप लागेजत्तिकै सोच्ने कतिपय दिग्गज नेतालाई कुन धर्मले हिन्दी भाषाको पूजा गर्न लगाएको हो, त्यो पनि मैले बुझ्न सकिनँ ।

पहिचानको राजनीति गर्दा आफ्नो मातृभाषालाई सम्मान गर्नुस्, त्यसैलाई साथ लिएर हिँड्नुस् । त्यसको उत्थान र विकास गर्न आवाज उठाउनुस् । हैन भने मातृभाषीलाई नै अनुपयुक्त र अफापसिद्ध हुन थालेको कुनै भाषाको संरक्षण राज्यले गरिरहन नसक्ला ।

हिन्दी भाषाको प्रयोगको एकमात्र फाइदा यो भाषा समृद्ध छ भन्ने लाग्न सक्ला । सबैले सहज रुपमा बुझ्छन्, जस्तोसुकै अभिव्यक्तिका लागि पनि शब्दहरुको अभाव छैन । यसको विपरित स्थानीय भाषाहरुमा यो क्षमताको अभाव छ । तर, त्यसो भनेर आफ्नो मातृभाषालाई समृद्ध तथा सहज बनाउनतिर ध्यान केन्द्रित गर्ने कि अथाह राजनीतिक तथा आर्थिक शक्तिसहितको हिन्दी भाषाको गुणगान गाउन लाग्ने ?

मधेसमा स्थानीय भाषा नबुझ्ने हिन्दी मातृभाषी छन् त ?

मधेसमा नेपाली, मैथिली, भोजपुरी, अवधी, बज्जीका लगायत कुनै पनि भाषा नजान्ने नेपाली केही संख्यामा हुन सक्छन् । मेरो बुझाइमा यी कुनै पनि भाषा नजान्ने हिन्दी मातृभाषी नेपालीहरु मधेसमा तीन किसिमका छन् ।

पहिलो र मुख्य रुपमा नेपाली पुरुषसँग बिहे गरेर आएकी भारतीय चेली हुन् । यद्यपि विहारका अधिकांश जनताले मैथिली तथा भोजपुरी भाषा बोल्छन् ।

हिन्दी मातृभाषी महिलाबाट जन्मेका सन्तानको मातृभाषा पनि हिन्दी हुन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ । किनकि मातृभाषा भनेको आमाको भाषा नभएर गाउँघरमा बाल्यकालमा बच्चाले सिकेको पहिलो भाषा हो । मैथिली समुदायमा जन्मेको बच्चाको मातृभाषा मैथिली नै हुन्छ ।

त्यसैगरी रोटी-बेटीको सम्बन्धका कारण मामाघर वा बाबुआमाको कामको सिलसिलामा बच्चैदेखि भारतमा हुर्केबढेेका केही नेपाली छन्, तिनको मातृभाषा हिन्दी हुन सक्छ ।

त्यसैगरी अर्को समूह पनि छ, मधेसमा झुटा विवरण पेश गरी वा विभिन्न हतकण्डा अपनाएर नेपाली नागरिकता लिएका भारतीय नागरिकहरु पनि छन्, जसले हिन्दी भाषा मात्र बोल्छन् ।

यिनै कारणले नेपालको जनगणनामा केही हिन्दी मातृभाषीको संख्या देखिएको छ । बाँकी मधेसीको मातृभाषा भनेको मैथिली, भोजपुरी, अवधी वा बज्जीका नै हो ।

विगतमा नेपाली भाषालाई एकमात्र आधिकारिक भाषाका रुपमा प्रचलनमा ल्याई अन्य भाषाको प्रयोग र विकासलाई निरुत्साहित गर्ने काम राज्य पक्षबाटै भएका त्रुटि हुन् । तर, त्यसो भन्दैमा राज्य पक्ष र नेपालीभाषीको प्रतिशोधका रुपमा हिन्दी भाषाको प्रयोगलाई बढावा दिनु कदापि न्यायोचित हुँदैन ।

आफ्नै मातृभाषाको वकालत गरेमा कुनै पनि नेपालीले सकारात्मक समर्थन गर्नुपर्ने नैतिक दायित्व सिर्जना हुन्छ । किनकि नेपालमा बोलिने सबै मातृभाषा हाम्रा साझा सम्पत्ति हुन् । हरेक भाषाले एउटा संस्कृति बोकेको हुन्छ । कुनै भाषा लोप हुनु भनेको कुनै समुदाय तथा संस्कृति लोप हुनु हो ।

नेपालमा भाषिक विकास र समस्या

०६२/६३ सम्मको केन्द्रीकृत राज्य व्यवस्थामा राज्यको नीतिले नै नेपालीइतर भाषालाई प्राथमिकतामा राखेन र राज्यका हरेक अंगमा नेपाली भाषाको प्रयोगलाई मान्यता प्रदान गर्‍यो । बाह्रौं शताब्दीतिरको खस साम्राज्यको भाषा मानिने नेपाली भाषाले गोर्खा राज्यको स्थापना र नेपाल एकीकरणसँगै राज्यको आधिकारिक र सरकारी कामकाजको भाषाको रुपमा मान्यता पायो ।

त्यससँगै नेपाली भाषाको स्तरीकरण तथा विकासमा जोड दिइयो । यो भाषासँग सम्बन्धित शब्दकोष, व्याकरण, साहित्य आदिको विकास र प्रवर्द्धनमा जोड दिइयो, जसले नेपाली भाषालाई अझ समृद्ध बनाउँदै लग्यो । तर, यस क्रममा नेपालका अन्य भाषाहरुको संरक्षण तथा विकासमा राज्यले विभेद गरेकै कारण ती लोप हुँदै गए । अन्य भाषाका शब्दकोष, व्याकरण तथा साहित्यको विकासमा राज्यको प्रोत्साहन नपाउँदा तिनले कुनै पहिचान बनाउन सकेनन् ।

पछिल्लो समय राजा महेन्द्रको एक भाषा-एक भेषको नीतिले नेपालका विविध भाषा संकटापन्न अवस्थामा पुगे । राज्यको न्यायोचित व्यवहारको अभावले गर्दा नै कतिपय भाषा मृत भए भने कतिपय भाषा नगन्य मातृभाषी लिएर कोमामा अन्तिम सास लिइरहेका छन् ।

आफ्नो मातृभाषाको प्रयोग गाउँघरमा कुराकानी गर्दाबाहेक कतै उपयोगी नहुने देखेपछि नयाँ पुस्ताले उक्त भाषा सिक्नुको औचित्य देखेनन् र विस्तारै भाषाहरु लोप हुँदै गए । यसरी विगतमा राज्यले नै नेपाली भाषाबाहेकका अन्य भाषाको प्रयोगलाई निरुत्साहित गरेको देखियो ।

नेपालको संविधानले नै नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको तथा भाषाको विकास र संवर्द्धनका लागि भाषा आयोगको समेत व्यवस्था गरेको छ ।

निष्कर्ष

आन्तरिक राजनीतिक शक्तिले कुनै स्थानीय भाषालाई राष्ट्रियकरण तथा स्तरीकरण गर्न मद्दत गर्छ भने अन्तर्राष्ट्रिय राजनीतिक शक्तिले राष्ट्रिय भाषालाई विश्वव्यापीकरण गर्न मद्दत गर्छ । त्यसैले भाषाले आन्तरिक संघर्ष/राजनीति र बाह्य संघर्ष/राजनीतिबाट गुज्रनुपर्ने हुन्छ । आन्तरिक राजनीतिमा नेपालका हरेक भाषावीच प्रतिस्पर्धा चलिरहेको हुन्छ ।

यो स्वाभाविक हो, निश्चित स्तरसम्म राज्यले हरेक भाषालाई संरक्षण गर्नैपर्छ । विकासको चरणमा शक्तिको राजनीतिअन्तर्गत भाषाको राजनीति पनि अवश्यम्भावी हुन्छ । तर, अन्तर्राष्ट्रिय जगतमा नेपालको मुख्य भाषा नेपाली, भारतको मुख्य भाषा हिन्दी, चीनको मुख्य भाषा मन्डारियन चाइनिज, पाकिस्तानको मुख्य भाषा उर्द्धु हो । यो यथार्थलाई बिर्सनु हुँदैन ।

अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर जाँदा जुनसुकै समुदायको भए पनि नेपाली भाषा लिएर जानुपर्छ । अन्तर्राष्ट्रिय जगतमा हालसम्म नेपाली भाषा नै नेपालको प्रतिनिधि भाषा हो ।

हरेक भाषाले विकासको निश्चित चरण पार गर्नुपर्छ । वर्तमानमा मैथिली सहितका अन्य भाषा नेपाली भाषाको तहमा स्तरीकरण हुन सकेका छैनन् । केवल दुई सय ७३ जनाले बोल्ने भाषा कुसुन्डा तथा नुराङ, राउटे लगायत केही भाषाहरु लोप हुने अवस्थामा पुगिसके भने कतिपय भाषाका लिखित संहिता, व्याकरण, शब्दकोश तथा साहित्यको अभाव छन् ।

लिखित अस्तित्व गुमाउँदै गएका विभिन्न मातृभाषा केही समयपछि इतिहासका पानामा समेत भेटिने छैनन् । ती सबै मातृभाषालाई संरक्षण, संवर्द्धन तथा विकास गर्ने दायित्व राज्यको हो । त्यसका साथै सम्बन्धित भाषाका मातृभाषीले पनि आफ्नो भाषाको अस्तित्व रक्षा तथा संस्कृतिको जगेर्ना गर्न अग्रसर हुनैपर्छ । आफ्नो मातृभाषाको संरक्षण तथा प्रचलन गराउँदै राज्यमा सम्मानजनक स्थान बनाउन प्रयासरत रहनुपर्ने दायित्वबोध सम्बन्धित मातृभाषीमा हुनु जरुरी छ ।

(भाषा विज्ञानको विद्यार्थी समेत रहेका भट्टराई जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment