Comments Add Comment

भारत बन्यो विश्वकै ठूलो हतियार आयातकर्ता

छिमेकी देश भारत विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको छ । सन् २०१२ देखि २०१६ का बीचमा विश्वभरी आयात गरिएका भारी हतियारमा भारतले १३ प्रतिशत हिस्सा ओगटेको छ ।

स्कटहोम इन्टरनेसनल पिस रिसर्च इन्सिच्यूट (एसआइपीआरआई) को एक प्रतिवेदन अनुसार २००७ देखि २०१६ को दौरानमा भारतले आफ्नो हतियार आयात ४३ प्रतिशतले बढाएको थियो । २०१२ देखि २०१६ सम्म उसको कुल आयात क्षेत्रीय प्रतिद्वन्द्वी पाकिस्तान र चीनको तुलनामा अत्यधिक रह्यो ।

सबैभन्दा बढी हतियार आयात गर्ने देशको सूचीमा साउदीअरब दोस्रो स्थानमा छ । समाचार अनुसार २०१२ देखि २०१६ सम्ममा यसको आयात २००७ देखि २०११ सम्मको तुलनामा २ सय १२ प्रतिशत उच्च रह्यो ।

सन् २००७ देखि २०१६ का दौरान अमेरिकाबाट मध्यपूर्वका देशमा हतियारको आयात ८६ प्रतिशतले बढेको छ, जुन २०१२-२०१६ भित्र भएको कुल आयातको २९ प्रतिशत हो । प्रतिवेदन अनुसार अमेरिका, रुस, चीन, फ्रान्स र जर्मनी विश्वका सबैभन्दा ठूला हतियार निर्यातकर्ता हुन् । कुल निर्यातमा यिनीहरुको हिस्सा ७४ प्रतिशत रहेको छ ।

अमेरिकाले २००७-११ को तुलनामा २०१२-१६ मा २१ प्रतिशत बढि हतियार निर्यात गर्‍यो । उसले निर्यात गरेको हतियारको करिब आधा हिस्सा मध्यपूर्वका देशमा थियो । तर अमेरिकी राज्यका तर्फबाट खरिद गरिने भारी हतियारमा २००७-११ र २०११-१६ का बीचमा १८ प्रतिशत गिरावट देखिएको छ ।

यसैगरी २०१२-१६ का दौरान भारी हतियारको निर्यातमा रुसनको हिस्सा २३ प्रतिशत रह्यो । उसले भारत, भियतनाम, चीन र अल्जेरियालाई हतियार आपूर्ति गरेको थियो ।

हतियार निर्यातमा चीनले पनि बढोत्तरी गरेको छ । २००७-११ मा उसको निर्यात हिस्सा ३.८ प्रतिशत थियो, जुन २०१२-१६ मा बढेर ६.२ प्रतिशत पुगेको छ ।

बिबिसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment