Comments Add Comment

फाटेको जिन्स लगाएको अभियोगमा छात्राहरु पक्राउ, प्रहरीले निलडाम हुनेगरी पिट्यो

काठमाडौं । फाटेको जिन्स लगाउने फेसन अहिले संसारभरी व्याप्त छ । केटा हुन् वा केटी, दश ठाउँ फाटेको जिन्स लगाएर फेसनेबल बन्न रुचाउँछन् । तर मुस्लिम देशहरुको कुरा अर्कै छ ।

हालै इरानमा प्रहरीले जन्मदिन मनाइरहेका एक हुल छात्राहरुलाई धरपकड गर्‍यो । उनीहरुको अपराध थियो, उध्रेको (फाटेको) जिन्स लगाउनु । दक्षिण-पश्चिम इरानको शिराज शहरमा नाम नखुलेकी १४ वर्षीय बालिकाको जन्मदिन पार्टी मनाइरहेका थिए उनीहरु । यत्तिकैमा ‘नैतिकता प्रहरी’को भ्यान पार्टीस्थलमा आएर रोकियो । दुई पुरुष प्रहरीहरु भ्यानबाट ओर्लिएर र रमाइलो गरिरहेका छात्राहरुलाई झ्यापझुप सामातेर भ्यानमा कोचे । भित्र दुई महिला प्रहरीहरु थिए, जसले उनीहरुलाई कपाल लुछ्नुका साथै गालामा थप्पड हाने ।

प्रहरी चौकीमा लगेर उनीहरुलाई एउटा कागजमा सही गराइयो । सो कागजमा अब आइन्दा फाटेको जिन्स नलगाउने र देशको कडा ड्रेस कोडलाई अनुसरण गर्ने उल्लेख छ । कागजमा सही गरेपछि उनीहरुलाई परिवारको जिम्मा लगाइएको थियो ।

पक्राउ परेकीमध्ये एक बालिकाकी आमाले भनिन्, ‘यो अपत्यारिलो कुरा हो । म चौकीमा जाँदा प्रहरीहरु भन्दै थिए कि यी केटीहरु अब साना छैनन्, त्यसैले उनीहरुले उचित लुगा लगाउनुपर्छ ।’

आफ्नी छोरीको शरीरमा प्रहरीले पिटेको डाम अझै रहेको उनले बताइन् ।

‘मेरी छोरी र उनका साथीहरुले सामान्य लुगा नै लगाएका थिए । प्रहरीको आपत्ति केवल उध्रेको जिन्समा थियो,’ उनले अगाडि भनिन् ।

सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले कडा पहिरन नीति लागू गरेको छ, जसअनुसार महिलाले सार्वजनिक स्थानमा अनिवार्य बुर्का लगाउनुपर्छ । यो नियमलाई हजारौंको संख्यामा रहेका ‘नैतिकता प्रहरी’ ले कडाईका साथ कार्यान्वयन गराउने गर्छन्, जसले छद्मभेषी रुपमा सडकहरुमा डुलेर पहिरनको अनुगमन गर्छन् ।

गत वर्ष यी प्रहरीहरुको आँखामा छारो हाल्न महिलाहरुले छोटो कपाल काट्ने र पुरुषहरुको लुगा लगाउने गर्न थालेको समाचार आएको थियो । यही बीचमा आफ्नो कपाल खुल्ला देखाएको आरोपमा प्रहरीले आठ जना मोडेलहरुलाई सामुहिक गिरफ्तार गरेको थियो ।

समलैंगिकता तथा विवाहइतर सम्वन्धलाई इरानी कानूनले कडारुपमा बर्जित गरेको छ र यस्तो अपराधमा मृत्युदण्डको सजाय हुने व्यवस्था छ । पश्चिमका नारी पत्रिकाहरु तथा फिल्महरु पनि यहाँ कडाईका साथ नियन्त्रण गरिएका छन् । केही अपवादलाई छोडेर मदिरा पनि यहाँ पूर्णरुपमा निषेधित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment