Comments Add Comment

अटो लोनमा राष्ट्र बैंकले तोक्यो सीमा, ५० प्रतिशतमात्रै ऋण दिन पाइने


१० फागुन, काठमाडौं । राष्ट्र बैंकले अटो लोनमा कडाई गर्दै पहिलोपटक मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) तोकेको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो । यदि ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु पर्दा अब बैंकहरुले २५ लाख रुपैयाँमात्र ऋण सुविधा दिनेछन् ।

यो सीमा निजी अटो लोनमा मात्रै हो । सार्बजनिक सवारी साधन, सेवाको लागि प्रयोग हुने र भौतिक पूर्वाधारमा प्रयोग हुने सवारी साधनमा भने यो सीमा लाग्ने छैन ।

बैंकहरुले सवारी साधनको कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै राष्ट्र बैंकले यसलाई कडाई गर्ने संकेत यसअघि नै गरेको थियो । राष्ट्र बैंकले घरजग्गा र सेयर धितोमा कर्जा दिँदा यस्तो अनुपात तोकेको भएपनि सवारी साधानमा नतोकिएकाले अब त्यस दिशातर्फ बढ्नुपर्ने हुनसक्ने बताउदै आएको थियो ।

राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले अटोतर्फ १ खर्ब ४२ अर्ब कर्जा लगानी गरेका छन् ।

ऋणयोग्य रकमको अभावमा प्रवाह भइरहेको कर्जामा एकैपटक ५/६ प्रतिशत विन्दुसम्मको उच्च वृद्धि देखिएकोमा पनि राष्ट्र बैंकले चिन्ता गर्दै आएको छ । राष्ट्र बैंकले अनुत्पादक भनेको ओभरड्राफ्ट कर्जामा ३ खर्ब ४१ अर्ब, घरजग्गा कर्जामा २ खर्ब ८६ अर्ब र सेयर धितो कर्जामा बैंकहरुले ४० अर्ब लगानी गरेका छन् । तर राष्ट्र बैंकको यो तथ्यांक अनुसार भने बैंकहरुको कर्जा लगानी सीमा भित्र रहेको देखिन्छ ।

कल डिपोजिटको व्याजदर सामान्य बचत सरह

राष्ट्र बैंकका अनुसार अब कल डिपोजिटको ब्याजदर साधारण बचत खातामा दिइने ब्याजदर सरह हुनुपर्ने छ । बैंकहरुको बचत खाता, चालु खाता, मुद्दती खाता , मार्जिन खाता र कल डिपोजिट  निक्षेप योजना सञ्चालनमा छ । अब कल डिपोजिटको ब्याजदर साधारण बचत खाताको ब्याजदर भन्दा बढी दिन पाइने छैन ।

कल डिपोटिजमा बैंकहरुले ११ प्रतिशतसम्म व्याज दिइएको पनि देखिएको थियो । बैंकहरुले साधारण बचतमा पछिल्लो समय वृद्धि गरेर बल्ल ६ प्रतिशतसम्म व्याज दिन थालेका छन् । असौतमा भने यस्तो व्याजदर ३/४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment