Comments Add Comment

संविधान संशोधनलाई प्रक्रियामा लैजान दिने एमालेको संकेत

सर्वदलीय बैठकमा देउवाले ओलीलाई सोधे-तानाशाह हो ?

१० फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रह अस्वीकार गरेको छ । तर, संसदमा प्रक्रिया अघि बढ्न दिनेबारे एमाले सकारात्मक देखिएको छ ।

स्थानीय तहको चुनाव घोषणाको भोलिपल्ट प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक आहृवान गरेका थिए । तर, मधेसी मोर्चामा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका छन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनाव घोषणाबारे जानकारी दिँदै संविधान संशोधनमा सहयोगको एमालेसँग आग्रह गरेका थिए । साथै उनले राजनीतिक समझदारीका आधारमा स्थानीय तहको संख्या केही बढाउन पनि दलहरुसमक्ष प्रस्ताव राखेका छन् ।

दलहरुले चुनाव घोषणाको स्वागत गरेका छन् भने संविधान संशोधनबारे मिश्रित प्रतिक्रिया आएको छ ।

प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पास हुन नदिने बताए । तर, चुनावमा भने साथ दिने बताएका छन् । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘सरकारले कुनै पनि बाहानामा निर्वाचन टार्ने र सार्ने कुरो नगर्दासम्म प्रमुख प्रतिपक्षको दह्रो साथ रहन्छ भन्ने विश्वास हामीले दिलाएको छ ।’

उनले अघि भने, संशोधनबारे ९ दलले लिएको अडानप्रति हामी प्रतिवद्ध छौं ।’

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि पास नहुने संविधान संशोधन विधेयक किन अघि बढाउनु पर्‍यो भभन्ने प्रश्न गरे । ‘मधेस केन्द्रीय दलहरुलाई पनि चित्त नबुझाइ विधेयक यथास्थितिमा अघि बढाउँदा राजनीतिक दृष्टिकोणबाट प्रत्युत्पादक हुनसक्छ । त्यसैले विधेयकमा सहमति जुटाउने प्रयास गर्नुपर्छ, राप्रपा अध्यक्ष थापाले भने ।

देउवाले ओलीलाई भने-तानाशाही हो ?

एमालेले संशोधन पास हुन नदिने भन्दा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रक्रिया अघि बढ्न नदिने बुझेछन् । र, उनले ओलीतर्फ संकेत गर्दै तपाई तानाशाही, अप्रजातान्त्रिक हो भन्दै कडि्कए ।
लगत्तै एमाले उपाध्यक्ष भीम रावलले आफूहरुले संशोधन फेल गराउँछौं भनेको हो भन्दै देउवालाई प्रष्ट पारे ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले संशोधनमा सहमति खोजेका थिए । त्यसो नभए संशोधन अघि बढाउन प्रक्रियामा भए पनि सहमति दिन उनले आग्रह गरेका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार संसदमा संशोधन अघि बढाउने तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधनमा सहमति जुटाउने प्रयास भइरहेको भन्दै मतदान हुने बेलासम्म एमाले पनि आउन सक्ने बताए ।

सर्वदलीय बैठकअघि मंगलबारको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । बुधबारको बैठकमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । यद्यपि संशोधनको पक्षमा अझै प्रष्ट दुई तिहाई बहुमत देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment