Comments Add Comment

कैदीहरु स्टोभभित्र रक्सी लुकाएर खान्थे

म अहिले ८९ वर्षमा हिँड्दै छु । ०१३ सालदेखि ‘हालखबर’ पत्रिकाबाट पत्रकारिता यात्रा सुरु गर्दै निरन्तर सक्रिय रहेँ । यस क्रममा विभिन्न आरोह-अवरोह पार गरियो । केही यस्ता सम्झना छन्, जसलाई जीवनको अर्को पाटो पनि छ भनेर सम्झने गर्छु ।

 

सन्दर्भ म दस महिना जेल पर्दाको हो ।

०४३ सालताका म ‘राजधानी’ साप्ताहिकमा स्तम्भ लेख्थेँ । एउटा लेखले मलाई जेलको हावा ख्वायो । ‘एसियाली मापदण्ड मन्त्रिमण्डलको ठगी खाने भाँडो’ शीर्षकमा लेख लेखेको थिएँ । ठगी खाने भाँडो भन्दा राजालाई पर्छ भनेर जानीबुझी नै मन्त्रिमण्डल भनेर लेखेको थिएँ । तर, राजालाई नै भनेको भनेर मलाई राजकाज मुद्दा लगाउँदै जेल सजाय भयो ।

करिब नौ महिना डिल्लीबजार सदरखोरमा थुनिएँ । पछि जेल सरुवा भएर २२ दिन नख्खु कारागारमा राखियो ।

सदरखोरमा स्कूल चलायौं

डिल्लीबजारमा राजनीतिक मुद्दा लागेको थुनुवा म मात्रै थिएँ । अरु सबै चोरी, डकैती, लागूऔषध कारोबार आदिमा कैद सजाय काटिरहेका कैदी-बन्दी थिए ।

जेल परेपछि मलाई के लाग्यो भने, दुनियाँ बुझ्नलाई अलि दिन जेल बस्दा जाती नै हुने रै’छ । अर्थात् दुनियाँको अर्को पाटो बुझिन्थ्यो ।

मेरो विचारमा त्यतिबेला २५ देखि ३० प्रतिशत निर्दोष मान्छे जेल परेका हुन्थे । केटी बेच्न लग्यो भनेर एक जना तामाङ थरका सोझा वृद्ध पनि थुनिएका थिए । एउटी केटीसँगै बसेको बेला केटी बेच्न लग्यो भनेर उनलाई आरोप लागेछ । निरक्षर भएकोले उनले बयान दिन पनि जानेनन् । म जेलमा नौ महिना बसुन्जेल उनलाई भेट्न जेलमा कोही पनि आफन्त आएको देखिएन ।

‘कपुरी क’ भन्दा अगाडि उनले ‘राम्रो म’ चिने । किनभने आफूलाई राम्रो भनेको अर्थमा उनको दिमागमा बस्यो । त्यसपछि बूढो ‘य’ चिने उनले

ती तामाङ वृद्धको हालत देखेर एउटा विचार सुझ्यो । यस्ता मान्छेले पढेर साक्षर मात्रै भए पनि धेरै राम्रो हुन्थ्यो भनेर हामीले जेलभित्रै स्कूल चलाउने सोच बनायौं ।

जेलमा विभिन्न तहका केही पढेलेखेका मान्छेहरु भएकोले पढाउन तयार थिए । पुण्यकेशरी उपाध्याय नाम गरेका वाणिज्य बैंकका हाकिम पनि जेल परेका थिए । उनी र अरु केही व्यक्तिको सहयोगमा निरक्षरहरुलाई पढाउने तयारी भयो । कोर्सबुक नै ल्याएर हामीले जेलरको अनुमतिमा पढाउन थाल्यौं । हामी जेल जाँदा कैदीहरुलाई बाहिरी किताबहरु उपलब्ध गराउने खुलापन आइसकेको थियो ।

मलाई वातावरण पत्रकार समूहले बिजुलीबाट चल्ने एउटा पङ्खा दिएको थियो । जेलमा उधुमै गर्मी भएकोले कालकोठरीमा पङ्खा चलाएर हामीले कक्षा सञ्चालन गरेका थियौं ।

तामाङ बूढाले कपुरी ‘क’ जानेनन्, राम्रो ‘म’ चिने

कक्षा सुरु गरेपछि अक्षर नजान्नेहरुले बिस्तारै सिक्दै गए । तर, ती तामाङ बूढालाई कसरी अक्षर चिनाउने भनेर सकस पर्‍यो । कपुरी क, खरायो ख भनेर पढाउँथ्यौं । तर, जति सिकाउँदा पनि उनको दिमागले टिप्थेन ।

बिस्तारै उनमा रमाइलो असर देखियो । उनले वर्णमालाको सुरुको अक्षर ‘क’ जान्नु अगाडि एकैचोटि पछिल्लो अक्षर पो सिके । ‘कपुरी क’ भन्दा अगाडि उनले ‘राम्रो म’ चिने । किनभने आफूलाई राम्रो भनेको अर्थमा उनको दिमागमा बस्यो । त्यसपछि बूढो ‘य’ चिने उनले ।

त्यसरी जेलमा पढेर उनीहरुले सर्टिफिकेट त पाउँदैनथे । अक्षर चिन्नु नै सर्टिफिकेट पाए बराबर थियो ।

प्रमुख अतिथिमा मरिचमानलाई बोलाइयो

जेलमा के गरेर समय बिताउने भनेर समस्या पक्कै हुन्थ्यो । त्यस क्रममा हामी कहिले साहित्य सम्मेलन, कहिले निबन्ध प्रतियोगिता र कहिले वादविवाद प्रतियोगिता आयोजना गर्थ्यौं ।

एक पटक चित्रकला प्रतियोगिता गरौं न भन्ने विचार आयो । जीवनमा आपराधिक काम नगरी इज्जतसाथ बाँच्ने विकल्प पनि छन् है भनेर हामीले त्यो योजना बनाएका थियौं ।

जेलमा कतिपय त राम्रा कलाकार पनि थिए । एक जना लागूऔषधमा लागेका मान्छेले पनि निकै राम्रो चित्र बनाउँथे । त्यसको उद्घाटन गर्न त्यसबेलाका प्रधानमन्त्री मरिचमान श्रेष्ठलाई निम्ता गरेका थियौं । तर, उनी आएनन् । सायद उनीसम्म हाम्रो खबर नै पुगेन । हामीले जेलरलाई प्रमुख अतिथि बनाएर प्रतियोगिता गर्‍यौं । कार्यक्रम धेरै राम्रो भयो ।

जेलमा बसेको समयलाई सदुपयोग गर्दै विपी कोइराला लगायतका व्यक्तिहरुले नामी साहित्य सिर्जना गरे । तर, व्यक्तिगत सिर्जनामा लाग्नुभन्दा म सामूहिक काममै अलमलिएँ । यस्तैमा रमाइलो लाग्यो । मलाई विभिन्न मान्छेसँग गफ गर्न पनि रमाइलो लाग्थ्यो । एकदिनभरि एउटा मान्छेको कथा सुन्यो, अर्को दिनभरि अर्कोको कुरा सुन्यो ।

पानी चोरिने समस्या

डिल्लीबजार सदरखोरमा करिब दुई सय जना कैदी-बन्दी थिए । त्यत्रा मान्छेलाई जम्मा चार वटा शौचालय थियो । हामीले अपुग भयो भनेर बारम्बार कचकच गरेपछि शौचालयको संख्या थपिएर आठ युनिट भयो ।

अर्कातिर पानीको अत्यन्तै कष्ट थियो । अर्थोक केही चोरिँदैनथ्यो, पानी चोरिने समस्या हुन्थ्यो । धारा भए पनि पानी पर्याप्त आउँदैनथ्यो ।

एकचोटि सुवास नेम्वाङले मलाई जेलबाट निकाल्न विश्वकान्त मैनालीलाई पठाएर मेरो निवेदन लेखाउन लगाएका थिए

कैदीहरु बस्ने तीन-चार वटा कोठा थिए । कोठा साँघुरो भएर समूहमा टाँसिएर सुत्नुपर्ने हुन्थ्यो । हामीले कुरा उठाएपछि पछि अलि खुकुलोसँग सुत्न पाइयो ।

जेलमा प्रहरीहरुले पत्याएको मान्छेलाई बाहिर एउटा घेरासम्म निस्किन दिन्थे । मलाई पनि निस्किन दिन्थ्यो । म त्यहाँका पुलिसहरुलाई जिस्क्याउँदै ‘म भागूँला है, यसरी नछोड्नू है’ भन्थेँ । उनीहरु ‘सर कहाँ भाग्नुहुन्छ र’ भनेर मेरो कुरालाई उडाइदिन्थे । जेल परिसरमै कैदीले चिया पसल र अग्रम-बग्रम सामान पाइने पसल चलाएका थिए । मीठो चिया पाइन्थ्यो ।

मलाई भेट्न जेलमा रासस र वातावरण पत्रकार समूहका साथीका साथै अरु पनि आउँथे । भेट्न आउने मान्छेहरुले प्रायः केही न केही उपहार ल्याउँथे ।

एकचोटि सुवास नेम्वाङले मलाई जेलबाट निकाल्न विश्वकान्त मैनालीलाई पठाएर मेरो निवेदन लेखाउन लगाएका थिए । तर, त्यसले भएन । विश्वकान्तले त्यसबेला मलाई सय रुपैयाँ खर्च दिनुभयो । त्यस्तै आनन्ददेव भट्टले एक किलो सिमी ल्याइदिनुभएको थियो ।

रुपचन्द्रसँगै बस्न जुरेन

त्यो बेलामा रुपचन्द्र विष्ट पनि पक्राउ परेका थिए । उनलाई भद्रगोल जेल, सुन्धारामा राखिएको थियो । त्यहाँ जान पाए राम्रो संगत हुन पाउँथ्यो भनेर मैले मलाई पनि भद्रगोलमै पठाइदिन अञ्चलाधीशलाई आग्रह गरेको थिएँ । तर, मानेनन् ।

भद्रगोलमा हास्यव्यङ्ग्य लेखक केशवराज पिँडाली पनि थिए । डिल्लीबजारमा चाहिँ राजनीतिक सुझबुझ भएको म मात्रै भएकोले अरुहरुमाझ मेरो महत्व त रह्यो । तर, सरसंगत गर्ने आफू जस्तै मान्छे नहुँदा विचार-अन्तर्क्रिया नै हुन पाएन ।

नख्खु पुग्दा झापाली नेताहरुको झुन्ड

नौ महिनापछि मलाई डिल्लीबजारबाट सरुवा गरेर नख्खु कारागार पठाइयो । ठूलो क्षेत्रमा फैलिएको नख्खुमा बेग्लै माहौल थियो । त्यहाँ सरसंगत खुलेर गर्न पाइयो । त्यहाँ झापाली मालेका थुप्रै नेता-कार्यकर्ता थिए । मोहनचन्द्र अधिकारी, विष्णुबहादुर मानन्धर, तुलसीलाल अमात्य, भीम आचार्य, नरेश खरेल लगायत नेताहरु थिए । त्यहाँबाट एउटा मासिक पत्रिका नै निस्किन्थ्यो ।

गोविन्द पोखरेल, भोला बोहरा, म र नुवाकोटका एक जना महत थरका व्यक्तिको एउटा भान्सा थियो । भोला सिन्धुपाल्चोकमा भएको गोलीकाण्डमा मुछिएका थिए भने गोविन्द मालेको आन्दोलनको क्रममा चैनपुरमा भएको मर्डर केसमा सजाय काटिरहनुभएको थियो । उहाँले केही नगरे पनि सबै आफूले जिम्मा लिएर साथीहरुलाई उम्काउनुभएको थियो । उहाँ निकै वर्ष जेल पर्नुभयो ।

म जेलमा बस्दा पनि विभिन्न साप्ताहिक पत्रिकामा समाचार पठाइरहन्थेँ ।

समाचारमा मेरो बाइलाइन नआए पनि जेलका मान्छेले मैले पठाएको भनेर थाहा पाउँथे । जेलरले ‘सर, यो त भएन, मलाई त सारै गाल पर्छ’ भन्थे । तर, मैले राम्रो थुनुवाको परिचय पाएकोले प्यारो व्यवहार गर्थे ।

म पश्चिम नेपालमा गएको थिएँ । नेपालगञ्जबाट सुर्खेत जाने तयारीमा थिएँ । त्यहाँ अखबार पढ्दा समाचार देखेँ, ‘भैरव रिसाल फरार, सम्पादक थुनामा’ भनेर

त्यसबेला एउटा लेख पनि लेखेको थिएँ । तर, घरका मान्छेले जिन्दगीभरि थुनिन मन छ कि के हो भनेर कराए । जेलबाट लेख लेखिरहँदा थप सजाय हुन्छ भनेर श्रीमती डराएकी थिइन् । अनि लेख लेख्न बन्द गरेँ । समाचार चाहिँ लेखिरहेँ ।

झापाली मालेका नेताहरुले पनि समाचार दिन्थे । तर, धेरै वर्षदेखि थुनिएकोले उनीहरुलाई करेन्ट अफेयर्स त्यति थाहा हुँदैनथ्यो । म चाहिँ भर्खरै थुनिएकोले सबै जानकारी राख्थेँ ।

आलु खेती सिकाउन पाइनँ

नख्खु कागारारभित्र १० मिनेटको चक्कर लगाउन सकिने फराकिलो जग्गा छ । त्यहाँ थुनुवाहरु सबैलाई तरकारी खेती गर्न एक हात-दुई हात जग्गा भाग लगाइन्थ्यो । झापालीहरुको चाहिँ धेरै जना भएकोले एउटा सिङ्गै पाटो नै थियो ।

कैदीहरुलाई तरकारी खेती गर्न ६-६ महिनामा जग्गा बाँडिने चलन रै’छ । म जाँदा ठ्याक्क बाँडिने बेला भएको थियो । मैले पनि एक टुक्रा पाएँ । त्यहाँका मान्छेले तरकारी फलाएर त्यो बेचेर कतिले त घरमा पैसा पनि पठाउँथे ।

म आईडीएस (इन्टेग्रेटेड डेभलपमेन्ट सिस्टम) भन्ने संस्थाबाट विकासे आलु खेतीमा काम गर्थेँ । जेलबाट छुटेपछि मान्छेहरुले राम्रो काम गरुन् भनेर आलु खेती सिकाऊँ भन्ने सोचेको थिएँ । तर, दुई-तीन पटक प्रयास गर्दा पनि सफल भएन ।

जेलमा कैदीहरुले आफ्नो खन्खाँचो पूरा गर्न अनेक उपाय लगाउँथे । पुलिस-प्रशासनको आँखा छल्न हरसम्भव प्रयास गर्थे । त्यो बेलामा स्टोभमा खाना पाक्थ्यो । स्टोभमा मट्टितेल किन्न पठाएर कैदीहरु त्यसमा रक्सी हालेर ल्याउँथे । ल्याएर खन्याउँथे र खान्थे ।

पक्राउ पर्न आफैं गएको थिएँ

मेरो लेखका कारण म त पछि मात्र पक्राउ परेको हुँ । मभन्दा अगाडि पत्रिकाका सम्पादक आङ दोर्जे तामाङ पक्राउ परिसकेका रहेछन् । त्यो थाहा पाएपछि म पक्राउ पर्न प्रशासन समक्ष गएको थिएँ । किनभने मेरै केसका कारणले सम्पादक जेलमा थिए ।

आईडीएस संस्थाको कार्यक्रमको सिलसिलामा म पश्चिम नेपालमा गएको थिएँ । नेपालगञ्जबाट सुर्खेत जाने तयारीमा थिएँ । त्यहाँ अखबार पढ्दा समाचार देखेँ, ‘भैरव रिसाल फरार, सम्पादक थुनामा’ भनेर ।

म आफैं प्रहरीको सम्पर्कमा गएँ । एक्लै नजानुस् भनेर मित्र दयाराम विष्ट पनि मसँगै आए । हनुमानढोका प्रहरी कार्यालयमा गएर ‘मलाई खोजिएको रहेछ, के-कसो हो’ भनेँ । तर, मलाई वास्तै गरेन

आङ दोर्जेलाई भद्रगोल जेलमा राखिएको रहेछ । उनका दुई श्रीमती थिए । जेल प्रशासनले भैरव रिसाल आएर बयान दिनासाथ तिमी छुट्छौ, ऊ जेल पर्छ भनेर परिवार र दोर्जेलाई भनेछन् । यो कुरा उनीहरुले पत्याए । यस हिसाबले म नआएकोले ऊ जेल परेको जस्तो भयो ।

यसो सोचेँ, मेरो कारणले सम्पादक जेल परेको छ, म यसरी बस्नु नैतिकताको हिसाबले उचित हुँदैन । सुर्खेतको फ्लाइट क्यान्सिल गरेर म काठमाडौं आएँ ।

आङ दोर्जेले दमननाथ ढुंगानाको सल्लाहमा सम्पादक बयान दिएको रहेछ । मैले पनि दमननाथलाई भेटेँ । के-के बयान दिने भनेर सोधेँ । उहाँले राजालाई नछुनू, अरु जे दिए पनि हुन्छ भन्नुभयो ।

म काठमाडौं आएर मध्य वानेश्वरको अफिस र भक्तपुर दधिकोटको घरमा आउजाउ गर्न थालेँ । तर, मलाई त पक्रँदै पक्रँदैन । म त पक्राउ हुन भनेर आएको थिएँ । आफू पक्राउ परेपछि आङ दोर्जे छुट्लान् भनेर देखा परेको थिए ।

यस्तो अवस्थामा म आफैं प्रहरीको सम्पर्कमा गएँ । एक्लै नजानुस् भनेर मित्र दयाराम विष्ट पनि मसँगै आए । हनुमानढोका प्रहरी कार्यालयमा गएर ‘मलाई खोजिएको रहेछ, के-कसो हो’ भनेँ । तर, मलाई वास्तै गरेन । त्यहाँबाट अञ्चलाधीशको कार्यालय रानीपोखरीमा जानू भनेर पठायो । अञ्चलाधीशकहाँ दुई दिनसम्म बयान लिइयो । त्यस क्रममा दुई रात हनुमानढोकामा थुन्यो । मैले लेखमा राजालाई भनेको हैन भनेर बयान दिएँ । तर, उनीहरुले राजालाई नै भनेको हो भन्दै राजकाजको मुद्दामा सजाय तोके ।

त्यो बेलाको कानुनमा तीन वर्षभन्दा कम जेल सजाय हुनेले धरौटी राखेर छुट्न पाउँथ्यो । त्योभन्दा माथि जेलमा बस्नैपर्थ्यो  । राजकाजको मुद्दामा तीन वर्षभन्दा बढीको सजाय दिइन्थ्यो । म तीन वर्षकै लागि जेल परे पनि पछि तारेखमा छुटेँ । मलाई नख्खुबाट दशैंको फूलपातीको राति छोडिदियो ।

राजदरबारमा मेरो बाले चिनेका मान्छेका छोरा ताराबहादुर थापा जर्नेल थिए । उसलाई मेरा भाइहरुले सम्पर्क गरेछन् । दोस्रो चोटि कुरा राख्दा राजाले छोडे हुन्छ भनेछन् क्यार । तारेख धाउने गरी म जेलमुक्त भएँ । ०४६ सालसम्मै तारेख धाउनुपर्‍यो । जनआन्दोलन सफल भएपछि हाम्रो मुद्दा राज्यले फिर्ता लियो ।

(प्रस्तुति: जोतारे धाइबा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment