Comments Add Comment

चुनावका चुनौतीः मतपत्र छाप्ने कागजदेखि भोट थाप्ने ढ्वाङसम्म !

'ढुक्क हुनोस्, ८० दिनमा चुनाव गरिन्छ'

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार दिनभरि निर्वाचन आयोगका पदाधिकारीहरु छलफलमा व्यस्त रहे । सर्वसाधारण जनताले बैशाख ३१ गते चुनाव सम्भव होला र भन्दै आशंका मिश्रित प्रश्नहरु गरिरहेका छन् ।

हामी मंगलबार दिउँसो निर्वाचन आयोगमा पुग्दा पदाधिकारीहरु प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको कार्यकक्षमा बसेर निर्वाचन तालिकाको मस्यौदा बनाउनेदेखि निर्वाचन व्यवस्थापनका चुनौतीबारे छलफल गरिरहेको अवस्थामा भेटिए ।

निर्वाचनका लागि मतपत्र छपाइ, कागज ढुवानी, कर्मचारी व्यवस्थापन र ब्यालेट बक्सको व्यवस्थापनबारे आयोगका पदाधिकारीले छलफल गरेका थिए ।

बुधबार निर्वाचन तालिका आउने

निर्वाचन आयोगले बुधबार नै निर्वाचन तालिका सार्वजनिक गर्ने बताएको छ । अनलाइखबरलाई संक्षिप्त अन्र्तवार्ता दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बुधबार नै निर्वाचन तालिका सार्वजनिक गर्ने र त्यसैका आधारमा निर्वाचन सम्पन्न गरेरै छाड्ने अठोट गरे । निर्वाचन तालिका आइसकेपछि आचारसंहिता लागु हुने उनले बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले अनलाइनखबरसँग भने- ‘निर्वाचन आयोगलाई समयको प्रेसर छ । तर, भोलि नै तालिका सार्वजनिक गरेर त्यही आधारमा आयोग अगाडि बढ्छ ।

अघिल्ला निर्वाचनहरुमा जस्तो पटक-पटक निर्वाचन तालिका संशोधन गर्ने समय नभएकाले बुधबार सार्वजनिक हुने तालिकाकै आधारमा निर्वाचन हुने यादवले बताएका छन् । उनले कार्यतालिकाको खाका बनिसकेको र आयुक्तहरुलाई अध्ययन गर्न दिइएको बताए ।

मंगलबार दिउँसो केहीबेर रिपोर्टस क्लबमा पुगेर भाषण गर्न भ्याएका प्रमुख आयुक्त यादवलाई हामीले उनको कार्यकक्षमै पुगेर सोध्यौं-

सरकारले ८२ दिनमा चुनाव गर्ने गरी मिति घोषणा गरेको छ, आज आयोगले दिनभरि के-के काम गर्‍यो ?

मतपत्र छपाई हाम्रा लागि निकै महत्वपूर्ण कुरा हो । कागज बाहिरबाट ल्याउनुपर्छ । छोटो समयमा बाहिरबाट कागज खरिद गरेर जनक शिक्षाबाट मतपत्र छपाइ गर्नु निकै चुनौतीपूर्ण काम छ

आगामी बैशाख ३१ गते निर्वाचन सम्पन्न गर्न सरकारको पत्र प्राप्त भएको छ । हामीले सरकारलाई निर्वाचनको मिति घोषणा गरेकोमा धन्यवाद दिएका छौँ । यससँगै हामीले आन्तरिक तयारीलाई तीव्र पारेका छौँ । आज हामीले कानुनका लागि चाहिने नियमावली र निर्देशिकादेखि विभिन्न आन्तरिक तयारीहरु थालेका छौँ । यसका लागि आयोगको सचिवालयलाई रातदिन खट्न निर्देशन दिइसकेका छौँ ।

अब निर्वाचन आयोगका चुनौती के-के हुन् ?

चुनौती छन् । यसलाई मैले अवसरका रुपमा लिएको छु । राजनीतिक दलहरुवीचको समन्वयन, सहयोग र आपसी विश्वासको स्थिति हामीलाई चाहिएको छ । विशेषगरी निर्वाचनको वातावरण बनाउने काम नेपाल सरकारको हो । र, समन्वय गर्ने काम राजनीतिक दलहरुको हो । मैले यसलाई ठूलो चुनौतीका रुपमा लिएको छु । तैपनि व्यवस्थापन हुँदै जान्छ भन्ने विश्वास छ ।

अर्को चुनौती, निर्वाचनका लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन । यसअन्र्तगत मतपत्र छपाई हाम्रा लागि निकै महत्वपूर्ण कुरा हो । कागज बाहिरबाट ल्याउनुपर्छ । छोटो समयमा बाहिरबाट कागज खरिद गरेर जनक शिक्षाबाट मतपत्र छपाइ गर्नु निकै चुनौतीपूर्ण काम छ ।

यसबाहेक लजिस्टिकमा मतपेटिकाको पनि आवश्यकता छ । यदि ब्यालेट बक्स ल्याउन सकिएन भने अप्ठ्यारो पर्छ । जापान सरकारले ०७० को निर्वाचनमा केही निर्वाचन सामाग्रीहरु दिएको थियो, अहिले हामी त्यसको अध्ययन गर्दैछौँ । कुन सामाग्री कहाँ कति छ भन्ने अध्ययन गर्ने काम थालिसकेका छौँ ।

यीबाहेकका कुराहरुमा त आयोगका कर्मचारीले दिनरात गरेर तयारीको काम गर्न सक्छन् ।

मतदान केन्द्रका आधारमा मतदाता नामावली तयार गर्नुपर्ने छ । यो काम पनि चुनौतीपूर्ण छ । मतदाता नामावलीका लागि गाउँपालिकाको सीमाना, वडाको विस्तृत विवरण आवश्यक पर्छ । स्थानीय तहसम्बन्धी आयोगको रिपोर्ट चाँडो आयो भने काम गर्न सजिलो हुन्छ ।

हामीसँग पहिले भूगोलका आधारमा जुन २१ हजार मतदान केन्द्रहरु थिए, त्यसैका आधारमा जनशक्ति व्यवस्थापन र लजिस्टिकको तयारी गर्दैछौँ ।

निर्वाचनका लागि १२० दिन आवश्यक थियो । तर, ४० दिन त त्यसै हरायो, अब बाँकी ८० दिनमा कसरी निर्वाचन गराउन सक्नुहुन्छ ?

जसरी होस्, हामी यो जिम्मेवारी पूरा गर्छौं । हामीले विगत ५/६ महिनादेखि नै निर्वाचनको तयारी गरिरहेका छौँ । त्यसकारण आधारभूत तयारी सकिसकेका छौँ, विशेष तयारीका लागि हामी मितिको पर्खाइमा थियौँ । त्यसकारण १२० दिन नै सबै निर्वाचनका लागि चाहिन्छ भन्ने हुँदैन ।

निर्वाचन कानुनले १२० दिनलाई निर्वाचन अवधि मानेको हो, तर त्योभन्दा कम दिनमा पनि निर्वाचन गर्न सकिन्छ । हामीले ८० दिनमा निर्वाचन गर्ने अठोट गरेका छौँ । यसका लागि निर्वाचन आयोगलाई धन्यवाद दिँदा हुन्छ ।

निर्वाचन हुनेमा तपाई शतप्रतिशत ढुक्क हुनुहुन्छ ? जनमानसमा त चुनावै हुन्छ कि हुँदैन भन्नेमा अझै संशय देखिन्छ नि ?

सय वा एक प्रतिशतको कुरा होइन, निर्वाचनको मिति घोषणा भइसक्यो, निर्वाचन आयोग त्यसको तयारीमा जुटिसक्यो । अब जुनसुकै हालतमा निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्छु ।

कतिपय मानिसहरुले करिब दुई दर्जन नियमावली र निर्देशिका बनेकै छैन, कसरी चुनाव हुन्छ भन्ने प्रश्न उठाउँदैछन् नि ? कहिले भ्याउनुहुन्छ, यी काम ?

हामीले यसको आन्तरिक तयारी धेरै अगाडि बढाइसकेका थियौँ । त्यसका लागि कुनै समस्या छैन । हामी यी काम चाँडै सक्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment