Comments Add Comment

शहरिया तन्नेरीको नयाँ फेसनः ‘मल्टिपल रिलेसनशिप’

फेसबुक बन्यो बाँदरलाई भर्‍याङ !

 

‘ओ ! माइ डियर पूजा’

अनपेक्षित भेटिएकी गर्लफ्रेन्डलाई अंगाल्दै एक तन्नेरी भन्छन् । मानौं उनी तिनै गर्लफ्रेन्डको व्यग्र प्रतीक्षामा छन् ।

अफसोच मान्दै युवती भन्छे- ‘के तिमीले मेरो नाम बिर्सिसक्यौ ? म पूजा होइन ।’

‘ओ सरी’

युवा तत्कालै सम्हालिन्छन् र स्वभाविक वन्ने अभिनय गर्दै भन्छन्-‘यति चाँडै तिमीलाई कसरी भुल्न सक्छु मेरी राधा ?’

युवती हठात् अंगालोबाट छुट्टएिर ब्वाइफ्रेन्डको द्विविधा मेट्ने प्रयास गर्छिन्- ‘म राधा पनि होइन, प्रिया हुँ ..प्रिया ।’

यो संवादले आमिर खान अभिनित हिन्दी चलचित्र ‘मन’को एउटा रोमाञ्चक दृश्य सम्झाउँछ । कतै जान हतारिएका देवकरण सिंह (आमिर खान) सँग जब कुनै गर्लफ्रेन्डको जम्काभेट हुन्छ, लभर ब्वाइ संकटमा फस्छन् ।

एकसाथ थुप्रै गर्लफ्रेन्डसँगको अफेयरमा रहने उनी त्यस क्षण भेटिएकी गर्लफ्रेन्ड कुन हो भन्नेमा कन्फ्युज्ड हुन्छन् ।

सन् १९९९ ताका निर्मित यही सिनेमाको नायकको जस्तै हविगत छ, अहिले शहरिया तन्नेरीहरुको । प्रेमलाई फगत मनोरञ्जनको रुपमा लिने उनीहरु ‘मल्टिपल रिलेसनशीप’मा अभ्यस्त छन् ।

एकसाथ दुईभन्दा बढी गर्लफ्रेन्ड/ब्वाइफ्रेन्डसँग प्रेम सम्वन्ध स्थापित गर्न माहिर यी तन्नेरीहरुसँग अरुलाई बिश्वासमा लिने, मन पगाल्ने, गोपनीयता अपनाउने, समय व्यवस्थापन गर्ने काइदाको तौर-तरिका छ ।

नयाँ बानेश्वरका रबी सुवेदी (नाम परिवर्तन)  काव्यिक शैलीमा भन्छन्- ‘प्रेम भनेको रुनलाई होइन, हाँसेर बाँच्नलाई हो । प्रेममा रमाउनु पर्छ, मनोरञ्जन गर्नुपर्छ ।’

उनका अनुसार दिक्कलाग्दो क्षणमा च्याट गर्न, डिनर गर्न, डेटिङ जानका निम्ति गर्लफ्रेन्ड बनाउनुपर्छ रे ।

आफूलाई मुड चलेको वेला गर्लफ्रेन्डसँग समय नहुन सक्छ, त्यसैले रिजर्भमा अर्की गर्लफ्रेन्ड राख्नुपर्ने उनको भनाइ छ । रबी रोमान्टिक शैलीमा भन्छन्-‘जिन्दगी ना मिलेंगे दोबारा ।’

सुृरुमा त उनी आदर्श प्रेमकै पक्षपाती थिए । यद्यपि पहिलो पटकको प्रेम सम्वन्ध सफल भएन । आफुले मनैदेखि रुचाएकी युवतीले धोका दिएपछि उनी नराम्ररी पिरोलिए । अन्ततः त्यही प्रेम-वियोगवाट विक्षिप्त भएको मनलाई सम्हाल्न रबीले अर्की गर्लफ्रेन्ड बनाए । त्यसपछि उनलाई लाग्यो-‘प्रेममा बहकिने होइन, मनोरञ्जन लिने हो ।’

प्रेमलाई ‘मनोरञ्जन’का रुपमा ग्रहण गर्नुपर्छ भन्ने कित्तामा रहेका रबी जस्तै तन्नेरीहरु ‘मल्टिपल लभ’ मा रमाउन थालेका छन् । यसलाई जीवनको उदासीनता, एक्लोपना, दिक्दारीबाट मुक्त हुने काइदाको उपाय मान्छन् ।

झापाबाट काठमाडौं आएका एक युवक आफुलाई यस्तो लभर ब्वाईको रुपमा प्रस्तुत गर्छन्, मानौं उनका वरिपरि गर्लफ्रेन्डै गर्लफ्रेन्ड छन् ।

उनी गर्वसाथ भन्छन्-‘एकसाथ दुई/तीन जनासँग अफेयरमा रहनु त आफ्नो कला हो नि ।’

उनको दाबीलाई पत्याउने हो भने, केटीहरु पनि ‘मल्टिपल रिलेसन’मा रमाइरहेका हुन्छन् । उक्त कुरालाई पुष्टि गर्न उनले आफ्नो अनुभव यसरी सुनाए-

फेसबुकबाट जोडिएकी एक युवतीसँग उनले डेटिङको तारतम्य मिलाएँ । अनि निर्धारित समयमै चिनजानका दाजुको मोटरसाइकल लिएर गर्लफ्रेन्डकहाँ पुगे ।

मोटरसाइकल देख्नसाथ युवतीले आश्चर्य मान्दै भने- ‘यो वाइक त मैले यसअघि कतै देखेकी थिएँ ।’ वास्तवमा उनको कुरा सही रहेछ । त्यस समयमा युवती वाइकधनीसँग पनि अफेयरमा रहिछिन् र उनीहरु थुप्रै पटक डेटिङ गएका रहेछन् ।

यस किसिमको घटनालाई सामन्य र अहिलेको पुस्ताले स्विकार्नुपर्ने तर्क छ, उनको । भन्छन्- ‘त्यो केटीले मलाई रिजर्भर् ब्वाइफ्रेन्ड बनाएकी थिइन्, मैले पनि उनलाई त्यस्तै रुपमा लिएको थिएँ ।’

अर्का त्यस्तै लभर ब्वाई छन्, विपुल लिम्बू । उनको जीवनमा लभ र व्रेकअपको चक्र निरन्तर घुमिरहन्छ । लभ अफेयरमा छदाँ उनी बहकिँदैनन्, व्रेकअपबाट विरक्तिदैनन् । एउटी गर्लफ्रेन्डसँगको सम्वन्ध चुडिँदैमा उनलाई केही फरक पर्दैन । किनकि त्यो रिक्तता अर्की गर्लफ्रेन्डले परिपूर्ति गरिहाल्छिन् ।

‘तर, एकसाथ दुईजना गर्लफ्रेन्डलाई मिलाएर राख्नु त्यति सजिलो छैन’ विपुल भन्छन्-‘कहिले काहीँ निकै अप्ठ्यारो स्थितिमा फसिन्छ ।’

भगवान श्रीकृष्णको पनि ‘मल्टिपल रिलेसन’

त्यसो त अहिले मात्र होइन, सदियौंदेखि यस किसिमको ट्रेन्ड विद्यामान रहेको मल्टीपल रिलेसनशिपका पक्षपातीहरु तर्क गर्छन् । सन्देश श्रेष्ठ भन्छन्-‘पौराणिक कथा अनुसार भगवान श्रीकृष्णका १६ सय गोपीनी थिए । द्रौपदीले पाँच दाजुभाइलाई समानान्तर पतिको रुपमा अंगालेकी थिइन् । यस्ता थुप्रै उदाहरण छन् ।’

ब्रेकअपको ह्याङ्ओभर हटाउने काइदा

युवापुस्ताको तर्क अनुसार मल्टिपल रिलेसनशिपको राम्रो पक्ष पनि छ । खासगरी यसले व्रेकअपको ‘ह्याङओभर’ हटाउन मद्दत गर्छ ।

मल्टिपल लभका सम्वन्धमा गरिएको एक सर्वेक्षणवाट यसले दाम्पत्य जीवनमा दीर्घकालीन फाइदा पुग्ने वताइएको थियो ।

मेरील्यान्ड विश्वविद्यालयले गरेको एक सर्वेक्षणअनुसार धेरै जनासँग सम्वन्ध स्थापित गरेपछि केटा वा केटीका बारेमा धेरै भन्दा धेरै कुरा जान्ने अवसर प्राप्त हुन्छ । यसले विभिन्न किसिमका बानी, व्यवहार, प्रवृत्तिलाई सहर्ष स्विकार गर्न सघाउ पुर्‍याउने भएकाले दाम्पत्य जीवन सुखमय हुने सर्वेक्षणको निष्कर्ष छ ।

फेसबुकः बाँदरलाई भर्‍याङ

मल्टिपल रिलेसन बनाउन चाहनेका लागि अहिले बाँदरलाई भर्‍याङ वनेको छ, सामाजिक सञ्जाल । खासगरी फेसबुकको माध्यमबाट धेरैजना केटा/केटीसँग छुट्टाछुटै सम्वन्ध बनाउने गरिएको रबीको अनुभव छ । मल्टिपल रिलेसनशिपका लागि फेसबुक सहज माध्यम भएको छ । ‘राम्री केटी देख्यो भने रिक्वेस्ट पठाइहाल्नुपर्छ’ रबी भन्छन्-‘च्याटबाटै गफ गरेर उनीहरुलाई प्रभावित पार्न सकिन्छ ।’

आफूलाई इमान्दार र इनोसेन्ट देखाएपछि केटीहरुले छिटै विश्वास गर्ने उनको अनुभव छ । ‘धूर्त र धेरै चलाखजस्ता देखिने केटासँग केटीहरु आकषिर्त हुँदैनन्’

रबीले केटी आकषिर्त गर्ने टिप्स दिए-‘सकेसम्म आफुलाई सोझो देखाउने प्रयास गर्नुपर्छ । केटीको मनोविज्ञान बुझेर उसलाई के मनपर्छ, के मन पर्दैन भन्ने थाहा पाउनुपर्छ । अनि उसलाई बढी नै केयर गरे झैं मायालु व्यवहार गर्नुपर्छ ।’

सुखद सुरुवात, दुखद अन्त्य

मनोविज्ञ करुणा कुवँर यस किसिमको रिलेसनले अन्ततः खतरा निम्त्याउन सक्ने संभावना औंल्याउँछिन् । ‘सुरुमा उनीहरुले ख्याल-ख्यालैमा सम्वन्ध वनाएका हुन्छन् । तर, त्यो लम्बिदै जाँदा उनीहरुमा भावनात्मक अट्याचमेन्ट हुनसक्छ’ कुँवर भन्छिन्-‘जसको नतिजा उनीहरुले सोचेजस्तै हुँदैन ।’

केवल मनोरञ्जनका लागि बनाएका सम्वन्ध सुखद मोडमा नै टुंगिन्छ भन्ने छैन । रिलेसनमा रहेकामध्ये कुनै एकजना मात्र पनि भावनामा बहकिन सक्छन् र वास्तविक प्रेम गर्न थाल्छन् । यसरी विकास हुने अनपेक्षित घटनाक्रमले उनीहरुलाई नराम्रो मोडमा पुर्‍याउन सक्छ ।

‘जब रिलेसनमा सिरियसनेस आउन थाल्छ’ कुँवर भन्छिन्-‘त्यसले दीर्घकालीन प्रभाव पार्छ ।’

यद्यपि जतिबेला उनीहरु रिलेसनमा हुन्छन्, त्यसबेला भने खुव ‘इन्जोए’ लिइरहेको हुने उनको बुझाइ छ । यसले उनीहरुमा एक किसिमको उर्जा समेत आउने कुँवर बताउँछिन् । उनी भन्छिन्- ‘त्यसवेला उनीहरुले सवैतिर रमाइलो मात्रै देख्छन्, मन खुसी हुन्छ र त्यसवाट छुटै उर्जा प्राप्त हुन्छ ।’

सामाजिक दृष्टिकोणले मल्टिपल रिलेसनलाई जायज मानिँदैन । यसले कतिपय अवस्थामा घातक नतिजा दिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment