Comments Add Comment

फास्ट ट्रयाकमा जग्गा अधिग्रहणको किचलोः खोकनाबासीले नदिए टौदहतिर सोझिने


११ फागुन, काठमाडौं । सरकारले काठमाडौं-निजगढ फास्ट ट्र्याक आफैंले बनाउने प्रक्रिया सुरु गर्ने तयारी थालेको छ । तर, आयोजना भने सुरु नहुँदै जग्गा अधिग्रहणको किचलोमा फसेको छ ।

आयोजनाले दिएको मुआब्जामा खोकनाबासीले चित्त बुझाएका छैनन् । खोकनाबासीले जग्गा अधिग्रहणमा सहमति नजनाए फास्ट ट्र्याक टौदहतिरबाट निर्माण सुरु गर्ने आयोजनाले चेतावनी दिएको छ ।

बुधबार लेखा समितिको बैठकमा काठमाडौं-निजगढ फास्ट ट्र्याक आयोजना प्रमुख सत्येन्द्र शाक्यले खोकनाबासीसँग कुरा नमिले टौदहबाट भएपनि निर्माण अघि बढाउने बताएका छन् । शाक्यले भने, ‘खोकनातिर जग्गाको कुरै मिलेन भने विकल्प खोज्नुपर्छ । टौदहलाई विकल्पमा राख्ने सोच छ ।’

जग्गा अधिग्रहण कति सकियो ?

आयोजनाका अनुसार अहिलेसम्म जग्गा अधिग्रहणको काम ९३ प्रतिशत सकिएको छ । ७० किलोमिटर अन्तर्गतको जग्गा खरिदको काम सकिएको अयोजना प्रमुख सत्येन्द्र शाक्यले जानकारी दिए ।

तर, ६ किलोमिटर अन्तर्गत पर्ने काठमाडौं उपत्यकाको जग्गा खरिद भने आयोजनाको लागि चुनौतिको बिषय बनेको छ । खोकनाबासीहरु आयोजनाले उपलब्ध गराएको रकममा चित्त बुझाइरहेका छैनन् । जसका कारण नै यो आयोजनाको ७ प्रतिशत जग्गा अधिग्रहणको काम बाँकी छ ।

शाक्यका अनुसार ललितपुरको सैंबु, खोकना, बुङमति र डुकुछापको जग्गा खरिद गर्न कठिनाइ भएको छ । स्थानीयसँग जग्गाको मोल नमिलेका कारण नै अधिग्रहणको काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

फास्ट ट्रयाकको काम सुस्त

लेखा समितिको बैठकमा सांसदहरुले आयोजनाको काम सुस्त गतिमा अघि बढेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौं-निजगढ फास्ट ट्र्याक सडक आयोजनाले आर्थिक वर्ष ०७४/७५ सम्ममा जग्गा खरिद गरिसक्ने जनाएको छ । सांसदहरुले भने जग्गा अधिग्रहणकै लागि एक वर्ष थप समय माग्नु गलत भएको बताउँछन् ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले फास्ट ट्रयाक आयोजनाको कार्यशैली सन्तोषजनक नरहेको बताए । उनले भने, ‘यस्तै शैलीमा काम अघि बढ्ने हो भने फास्ट ट्र्याक कागजमा मात्रै सीमित हुन्छ । अब जग्गा अधिग्रहण गर्न ढिलाई गर्नु हुँदैन, यसका लागि एक वर्ष लम्ब्याउनु उचित छैन ।’

कांग्रेस सांसद धनराज गुरुङले आयोजना अघि बढाउन आयोजना प्रमुख गम्भीर भएर नलागेको आरोप लगाएका छन् । आयोजना प्रमुखलाई प्रश्न गर्दै गुरुङले भने, ‘सात प्रतिशत जग्गा अधिग्रहणका लागि किन एक वर्ष समय थप माग ? थप रकम चाहियो भनेर सरकारसँग कहिल्यै माग्नुभयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment