Comments Add Comment

तेल चोर्दा दोब्बर जरिवाना गर्ने निर्णयबाट पछि हट्यो निगम

ट्यांकर चालकलाई तलब उपलब्ध गराइदिने सहमति


११ फागुन, काठमाडौं । नेपाल आयल निगमले ट्यांकर चालकले राखेका मागहरुलाई सम्बोधन गर्न ढुवानी विनियमावलीलाई फेरि संशोधन गर्ने तयारी गरेको छ । ट्यांकर चालकले प्रमुख रुपमा अघि सारेको ‘क्लेमेबल लस’ (दावीयोग्य नोक्सानी) को सीमा हटाउने बारेको निर्णय फिर्ता लिन आयल निगमले यस्तो तयारी हो ।

अब तेल ढुवानीका क्रममा २० हजार लिटर तेल ल्याउँदा ५० लिटर बढी हराएमा त्यति बराबरकै तेल वा जरिवाना रकम तिर्नुपर्ने ब्यवस्था फेरि हटाइने छ । निगम स्रोतकाअनुसार सञ्चालक समितिमा यो निर्णयका लागि प्रस्ताव लैजाने गरी निगमले ट्यांकर चालकसँग सहमति गरेको हो ।

ट्याकंर चालकले आफुहरुको माग सम्बोधन गर्ने गरी बिनियमावली संशोधन नभएसम्म घोषित आन्दोलनका कार्यक्रम फिर्ता नलिने बताएका छन् । त्यही चेतावनीको चेपुवामा परेको भन्दै निगमले प्राविधिक रुपमा अध्ययन गरेर लिएको दोब्बर जरिवानाको निर्णय फिर्ता गर्नैपर्ने बाध्यता खडा भएको निगम स्रोतले बतायो ।

‘सञ्चालक समितिले निर्णय पुनर्बिचार गर्नसक्छ, नगर्न पनि सक्छ’ निगमका एक अधिकारीले भने,’ट्यांकर चालकले फागुन १५ गतेसम्म माग पुरा नगरे आन्दोल गर्ने बताएकाले हामी यो निर्णयमा पुग्न बाध्य भयौं ।’

अब यो प्रस्ताव सञ्चाल समितिले पारित गरेमा क्लेमेबल लसको सीमा फेरि हट्नेछ र तेल चोरी थप मौलाउनेछ ।

निगमका प्रवक्ता भानु खनाल भने ट्यांकर चालसँग त्यस्तो किसिमको सहमति नभएको र समस्या समाधानका लागि पहल भइरहेको दावी गर्छन् ।

अहिले एमालेसम्बद्ध ट्यांकर चालकको संघको नेतृत्वमा आन्दोलन भइरहेको छ । जसलाई सबै ट्यांकर चालकका संघले पनि समर्थन गरेका छन् ।

आयल निगमले तेल चोरी नियन्त्रण गर्न ढुवानी बिनियमावलीमा संशोधन गरेपनि यसमा ट्यांकर चालकहरुले आपत्ति जनाएका छन् ।

आयल निगमले ट्यांकर चालहरुसँग सरकारले तोकेको न्युनतम् ज्यालादर कार्यान्वयन गर्न ब्यवसायीलाई निर्देशन दिने सहमति पनि गरेको छ । अहिले ट्यांकर चालकहरुलाई ढुवानी ब्यवसायीले तलव नै दिने गरेका छैनन्। कसै-कसैले मासिक न्युन दरमा पारिश्रमिक दिन्छन् ।

त्यसैका कारण पनि ढुवानीका क्रममा तेल चोरी मौलाएको ठहर निगमको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment