Comments Add Comment

अवैध आप्रवासी देशनिकाला गर्ने ट्रम्पको आदेशप्रति मेक्सिकोको आपत्ति

सबै अवैध आप्रवासीहरुलाई देशनिकाला गर्ने गरी अमेरिकाले जारी गरेको नयाँ निर्देशिकालाई मेक्सिकोले भत्र्सना गरेको छ । निर्देशिकामा उल्लेखित कागजातबिहिन मानिसहरु जुन देशका नागरिक भए पनि मेक्सिकोतर्फ धपाउने नीतिप्रति उसको विशेष आपत्ति छ ।

मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारेले आफ्नो देशमाथि अमेरिकाले कुनै निर्णय एकपक्षीयरुपमा लाद्न नसक्ने बताए । अमेरिकाले जारी गरेको निर्देशिकालाई मेक्सिकोले स्वीकार नगर्ने उनले प्रष्ट पारे ।

उनले भने, ‘हामी यो कुरा स्वीकार गर्नेछैनौं, किनकि यो मेक्सिकोको हितमा छैन । हाम्रो देशको सीमानामा हाम्रै नियन्त्रण हुन्छ । यसमा अन्य देशको हस्तक्षेप स्वीकारिने छैन ।’

मेक्सिकाको गृह मन्त्रालयका मानवअधिकार विभाग प्रमुख रोबर्टो क्याम्पाले पनि गैर-मेक्सिकनहरुलाई मेक्सिकोमा पठाउने अमेरिकी योजना आपत्तिजनक र अस्वीकार्य रहेको बताए ।

यस मामलामा छलफल गर्न दुई उच्चपदस्थ अमेरिकी अधिकारीहरु हाल मेक्सिकोमा छन् । दुई छिमेकी देशबीच पछिल्ला वर्षमा उब्जेको सबैभन्दा गम्भीर तनावका बीच अमेरिकी विदेश सचिव रेक्स टिलेर्सन र होमल्यान्ड सेक्युरिटीका प्रमुख जोन केल्लीले मेक्सिकोका राष्ट्रपति एनरिक पेना नियटोसँग वार्ता गर्नेछन् ।

मंगलबार घोषणा गरिएको निर्देशिकामा अवैध आप्रवासीहरु चाहे जुनसुकै देशका भए पनि देशनिकाला गरेर मेक्सिको पठाउन सकिने अमेरिकी अध्यागमन र नागरिकता ऐनमा विद्यमान रहेको प्रावधानलाई लागू गर्ने योजना समेटिएको छ ।

तर मेक्सिकोलाई विदेशी नागरिकहरु स्वीकार्नलाई अमेरिकाले कसरी वाध्य पार्न सक्छ भन्ने प्रश्न अनुत्तरित छ । यसअघि ओबामा सरकारले गम्भीर अपराधमा मुछिएका आप्रवासीहरुलाई मात्रै देशनिकाला गर्न जोड दिएको थियो । तर अहिलेको सरकारले यो दायरलाई निकै फराकिलो बनाएर लभगभ सबै अवैध आप्रवासीहरुलाई प्रभावित तुल्याएको छ ।

नयाँ निर्देशिकाले बोर्डर पेट्रोल एन्ड इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्टलाई अवैध व्यक्तिहरुलाई तत्कालै देश निकाला गर्ने अधिकार दिएको छ । अमेरिकामा १ करोड १० लाख कागजातबिहिन आप्रवासीहरु बसिरहेको अनुमान गरिएको छ, जसमा मेक्सिकोबाट आएकाहरु ठूलो संख्यामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment