Comments Add Comment

ओमान र यूएईका लागि सिफारिस राजदूत वैदेशिक रोजगारीका ‘ठग’ !

आशा लामा (वायाँ) र शर्मिला पराजुली

१२ फागुन, काठमाडौं । वर्षेनी सयौं नेपाली युवा बैदेशिक रोजगारीका लागि यूएई र ओमान जान्छन् । म्यानपावर कम्पनी र रोजगारदाताबाट ठगिएर दुःख पाउने कामदारहरु नेपाली राजदूतावासलाई आफ्नो उद्धारकर्ता ठान्दै शरणमा पुग्छन् ।

तर विडम्बना भन्नुपर्छ, लाखौं नेपाली श्रमिकको उद्धारकर्ता र ती देशको सिस्टमसँग लडेर निमुखा मजदुरलाई न्याय दिलाउनुपर्ने राजदूत पदमा स्वयं बैदेशिक रोजगारीका ‘ठग’ आसिन हुने भएका छन् । सरकारले हालैमात्र ओमानका लागि नेपाली राजदूत सिफारिस गरिएकी शर्मिला पराजुली ढकाल र यूएईका लागि राजदूत बन्ने प्रतिक्षामा रहेकी आशा लामाको विवरण हेर्दा उनीहरु नेपाल सरकारका निकायबाट ‘ठग’ प्रमाणित भइसकेको फेला परेको छ ।

आशाबिरुद्ध रोजगार विभागमा उजुरीका चाङ

जब ट्रयाक रिक्रुटिङ म्यानपावरविरुद्ध बैदेशिक रोजगार विभागमा उजुरीको ठूलै चाङ छ । केही उजुरीको छानविनका क्रममा म्यानपावर दोषी ठहर भएर क्षतिपूर्ति समेत तिरिसकेको पाइएको छ ।

युएईबाट फर्किएर कृष्णप्रसाद अधिकारीले आफू ठगिएको भन्दै ९ पुस, २०६९ मा उजुरी दिएका थिए । यो उजुरीमाथि छानविनका क्रममा दोषीलाई कारबाही गरिएको र पीडित अधिकारीलाई ४ लाख ४० हजार रुपैयाँ फिर्ता गरिएको विभागको रिपोर्टमा नै उल्लेख छ ।

ट्रयाक रिक्रुटिङ त्यही म्यानपावर हो, जसको सञ्चालिका आशा लामा छिन् । केही दिनअघि उनको नाम राजदूतका लागि सिफारिस भएपछि भने कम्पनीको वेबसाइटबाट उनको नाम हटाइएको छ ।

आशाको ठगी कति ?

आशाले चलाएको जब ट्रयाक रिक्रुटिङ म्यानपावरविरुद्ध पीडितको तर्फबाट ठगीका २३ मुद्दा परेका छन् । जसमध्ये चार मुद्दामा म्यानपावर दोषी ठहर भएका छन् र पीडितलाई क्षतिपूर्ति समेत तिराइएको छ ।

अरु मुद्दामा पनि सफाइ पाएको छैन । अधिकांश उजुरी प्रक्रियामा नै छन् । ट्रयाक रिक्रुटिङले ठगेको भन्दै विभागमा परेका उजुरीहरुमा २० हजारदेखि ७ लाख ६० हजारसम्म फिर्ता गराइदिन माग गरिएको छ ।

युएईबाट फर्किएकाहरुको १२ र साउदीबाट फर्किएकाहरुको ७ वटा उजुरी आशाको म्यानपावरविरुद्ध छ । त्यस्तै कुवेतबाट फर्किएर सोही म्यानपावरले ठगेको भन्दै उजुरी दिनेको संख्या ३ छ ।

कल्याण कटुवालले १ लाख १० हजार, अजय तामाङ र विनोद सुनुवारले ९०/९० हजार, रोशनप्रसाद दाहालले १ लाख ४० हजार, सन्तोष गुरुङले २० हजार, सविता नेपालीले ५५ हजार, खम्बाबहादुर भुजेल र मधुकृष्ण नापितले १ लाख ५ हजार तथा रामबहादुर विकले ८२ हजार रुपैयाँ दावी गर्दै विभागमा उजुरी दिएका छन् ।

यसैगरी कृष्ण बहादुर थापा, हरि बहादुर थापा, दाजुवआनन्द थापामगर र शुवर्ण पाठकले ८०/८० हजार, कामना तामाङले ४ लाख ४० हजार, लालबहादुर निरौलाले ९० हजार, ताराकुमार तामाङ र तुलसी श्रेष्ठले १ लाख १० हजार, बिहारी मुखीया, रामअवतार साह र राम सुगारथले ७५/७५ हजार, दिनेश क्षत्रीले १ लाख, अक्कल बहादुर बिष्टले १ लाख २० हजार निमाछिरी शेर्पाले ९० हजार, जगत विकले १ लाख तथा बिजु मगरले १ लाख ११ हजार ४ सय रुपैयाँ दावी गर्दै विभागको ढोका ढकढक्याएका छन् ।

यसमध्ये १६ वटा उजुरी दर्ता गर्ने युवाले अझै क्षतिपूर्ति पाएका नै छैनन् । विभागले उजुरीविरुद्ध अनुसन्धान भइरहेको बताएको छ । ६ वटा उजुरीकर्तालाई भने यो म्यानपावरबाट विभागले क्षतिपूर्ति भराएको छ ।

म्यानपावरवाली अर्को महामहिम !

ओमानका लागि नेपालका लागि राजदूतमा सिफारिस भएकी शर्मिला पराजुली ढकालविरुद्ध पनि वैदेशिक रोजगारीमा उजुरीको ठूलै चाङ छ ।

(यो पनि पढ्नुहोस्: राजदूत शर्मिला अर्थात् ‘म्यानपावरवाली’ महामहिम !)

ओली सरकारको पालामा राजदूत सिफारिस भए पनि उनको नाम फिर्ता लिइएको थियो । तर, प्रचण्ड सरकारले फोरम लोकतान्त्रिकको प्रस्तावमा उनलाई नै ओमानका लागि राजदूत सिफारिस गरेको छ ।

राजदूत सिफारिस प्रक्रिया सुरु हुनुअघिसम्म उनी फ्लोरिड ह्युमन रिसोर्सकी सञ्चालक थिइन् । अहिले भने यसलाई सो म्यानपावरको स्वामित्व परिवर्तन गरिएको छ ।

फ्लोरिड त्यही म्यानपावर हो, जसले आफूलाई ठगी गरेको भन्दै युएईबाट फर्किएर जनार्दन पौडेलले १२ वैशाख २०७१ मा विभागमा उजुरी दिएका थिए । छानविनका क्रममा शर्मिला पराजुलीको म्यानपावर दोषी देखिएको छ र, ३ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिएको छ ।

शर्मिलाको ठगी फेहरिस्त

शर्मिला सञ्चालक रहेको फ्लोरिड म्यानपावरविरुद्ध उजुरीको सूची पनि छोटो छैन । फ्लोरिडविरुद्ध विभागका २४ वटा उजुरी दर्ता भएका छन् ।

फ्लोरिडले विदेश जाने युवासँग ७५ हजारदेखि ३ लाख ५० हजारससम्म ठगेको उजुरी विभागको रेकर्डमा छ । फ्लोरिडले पनि मलेसिया पठाउने बाहानामा सबैभन्दा धेरै युवालाई ठगेको छ ।

मलेसियाबाट फर्किएर फ्लोरिडविरुद्ध दायर गरिएको उजुरीको संख्या १२ छ । युएईबाट फर्किएर युवा तथा उनीहरुको समूहले ११ वटा उजुरी विभागमा दर्ता गराएका छन् । धेरै उजुरीलाई आपसी सहमतिमा रकम फिर्ता गराएर मिलाइएको विभागले बताएको छ ।

फ्लोरिडविरुद्ध विभागमा दिनेश कुमार नेपालीले १ लाख १२ हजार, यज्ञ केसीले ७६ हजार, लालु परियारले २ लाख ५० हजार, तुलसी कार्कीले ७५ हजार, हरिशरण चुवानले २ लाख ७० हजार, तिलबहादुर आलेले ३ लाख, रामकुमार महतोले १ लाख ५० हजार, देउली सुनार र कमला सम्बाहाम्फेले १ लाख ४ हजार, हेमकुमार लिम्बुले १ लाख ६५ हजार, बिमल रेग्मीले १ लाख ३० हजार, भुपाल राजले ३५ हजार, जमुना कँडेलले १ लाख २७ हजार र साइँला दनुवारले १ लाख ५० हजार ठगी गरेको दावी गरेका छन् ।

यसमध्ये ५ वटा उजुरीकर्ताले अझै ठगिएको रकमको क्षतिपूर्ति पाएका छैनन् । अन्यलाई भने म्यानपावरले आफूले ठगेको स्वीकार गर्दै रकम फिर्ता गरेको वैदेशिक रोजगार विभागको रेकर्डमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment