Comments Add Comment

‘स्थानीय चुनावमा चन्दाको माग हुन्छ, उद्योगीले म्यानेज गर्न जानेका छौं’

चुनावपछि अर्थतन्त्र चलायमान हुन्छः हरिभक्त शर्मा

१३ फागुन, काठमाडौं । गत सोमबार नेपाल उद्योग परिसंघले स्वदेशी तथा विदेशी लगानीकर्तालाई सोल्टी होटलमा भेला गराएर पूर्वाधार सम्मेलन गर्दैगर्दा सरकारले बैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा गर्‍यो । राजनीतिक दलहरुले माग्ने चन्दाबाट भयभित भएर बसिरहेका उद्योगी व्यवसायीहरु यो चुनावबारे के सोच्दैछन् ? हामीले यसबारे नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मासँग केही जान्ने प्रयास गरेका छौं ।

स्थानीय चुनाव नजिकिँदैछ, अब राजनीतिक दलले चन्दा आतंक मच्चाउने सम्भावना कति छ ? यसबाट तपाई उद्योगी व्यवसायीहरु कतिको त्रसित हुनुभएको छ ?

चन्दा आतंक भनेरै यसलाई हामीले नकारात्मक बनाउनुहुँदैन । चुनावसँगै चन्दा माग हुन्छ, त्यो पहिलेदेखि नै हुँदै आएको हो । नेेपाली उद्योगीहरुले विभिन्न चुनाव भोगिसकेका छन् । जसका कारण उनीहरुले यसलाई म्यानेज गर्न जानिसकेका छन् । किनकि नेपाली उद्योगीहरु चुनावसँग अभ्यस्त भइसकेका छन् ।

साथै हामीले पनि राजनीतिक दलहरुलाई अब उद्योगधन्दालाई नै असर पर्ने गरी कुनै रकमको माग नगर्नुहोस् भनेर आग्रह गर्ने सोचमा छौं । नेपाल चन्दाबाट ग्रसित भएको राष्ट्र हो । हामी आशावादी रहेका छौं कि राजनीतिक दलहरुले उद्योगीलाई असर पर्ने गरी चन्दा माग्ने छैनन् ।

स्थानीय चुनाव घोषणाले यसले उद्योग क्षेत्रमा के कति खुसीयाली छाएको छ ?

स्थानीय चुनाव नभएका कारण स्थानीय स्तरका समस्या सुल्झाउन अहिले उद्योगीहरुलाई निकै कठिन छ ।  जनप्रतिनिधिको अभावका कारण अहिले सबैभन्दा दु:ख पाएको भनेको उद्योग क्षेत्र नै हो । किनकि स्थानीय स्तरमा देखिएका समस्या जनतासँग मिलाइदिने जनप्रतिनिधि  स्थानीय स्तरमा उपलब्ध छैनन् । उनीहरुको अभावका कारण हामीले जेजस्तो समस्या भोग्नुपरेको छ, चुनावपछि समस्या सुल्झाउन सहज हुनेछ भन्नेमा आशावादी छौ । यसैकारण पनि हामी खुशी छौं ।

अब हुने स्थानीय चुनावले अर्थतन्त्रमा के कस्तो सकारात्मक र नकारात्मक असर पर्न सक्छ ?

चुनावका कारण सुरुका दिनमा उद्योगहरु सञ्चालनका लागि केही असहज स्थिति पैदा  हुने देखेका छांै । त्यसैले गर्दा सुरुका दिनमा अर्थतन्त्रमा केही असर देखिन सक्छ ।

तर, चुनाव सम्पन्न भएपछि उद्योगहरु सहजरुपमा सञ्चालन हुन थाल्छन् । त्यसले फेरि अर्थतन्त्रलाई सकारात्मक बाटोतिर डोर्‍याउँछ ।

चुनाव सम्पन्न भएपछि स्थानीय स्तरमा उद्योगहरुले राम्रोसँग काम गर्न सक्छन् । जब स्थानीय क्षेत्रमा उद्योगहरु राम्रोसँग सञ्चालन हुन थाल्छन्, त्यसपछि उक्त स्थानमा रोजगारीको सिर्जना हुन्छ । यसरी रोजगारी सिर्जना भएसँगै अर्थतन्त्र पुनः चलायमान र गतिशील हुन्छ । त्यसैले हामी अहिले क्षणिक रुपको कठिनाइ भोगेर भए पनि त्यसपछि तय हुने वातावरण देखेर खुसी भएका हौं ।

हामी नेपालका राजनीतिक दलहरुले चुनावलाई गम्भीररुपले लिउन् र यसलाई सम्पन्न गरुन् भन्ने चाहन्छौं । स्थानीय  तहको चुनावमा जनताको भावना र प्रतिनिधित्व दुबैलाई समावेश गर्न राजनीतिक दलहरु सफल होउन् भन्ने पनि हाम्रो चाहना छ ।

नेपालका राजनीतिक दलहरु लामो समय संघर्षमा मात्रै केन्द्रित रहे । अब हामी राजनीतिक दलहरुसँग के अपेक्षा राख्छौं भने दलहरु अब संघर्षमा मात्रै होइन, निकास पनि खोज्न लाग्नेछन् ।

चुनावपछि लगानीमा बृद्धि हुने आशा गर्न सकिन्छ ?

चुनावपछि स्थानीय स्तरमा जनप्रतिनिधि हुनेछन् । उनीहरुको उपस्थितिका कारण   उद्योगहरुले स्थानीय क्षेत्रमा भोग्नुपरेका समस्या समाधान हुनेछन् भन्ने हाम्रो अपेक्षा छ । यसरी उचित वातावरण तय भएपछि निश्चय पनि लगानीमा बृद्धि हुन्छ ।

अहिले स्थानीय स्तरमा देखिएका समस्याका कारण कैयन उद्योगधन्दा चल्न सकेका छैनन् । चुनावपछि भने हामी त्यस्तो समस्या हुनेछैन भन्ने आशामा रहेका छौं ।

अहिले उद्योगहरुले जनप्रतिनिधिको अभावमा कस्ता समस्या भोग्नु परिरहेको छ ?

स्थानीय स्तरमा उद्योग सञ्चालन गर्दा वा रोजगारी सिर्जना गर्दा समस्या भोग्नु परेको छ । उद्योगको क्षमता अभिवृद्धि गर्न पनि सहज वातावरण छैन । उद्योगी र स्थानीय जनताका वीचमा बसेर समस्याको समाधान  निकाल्न्ने स्थानीय संरचना नै छैन ।

अहिले स्थानीय स्तरमा यसरी देखिएका समस्या समाधान गर्न काठमाडौं नै आउनुपर्ने बाध्यता छ । अनि यो समस्या लिएर काठमाडौं आउँदा पनि केन्द्रमा रहेको मानिसले स्थानीय स्तरको समस्या बुझ्दैन ।

स्थानीय स्तरको चुनावपछि उक्त क्षेत्रबाट निर्वाचित भएको जनप्रनिधिलाई  त त्यो क्षेत्रको विकास गर्ने वाध्यता पनि हुन्छ । त्यसैले जनप्रतिधिलाई यस्ता समस्या समाधान गरेर विकास गर्नका लागि दुबै पक्षलाई राखेर समस्या समाधान गर्नुपर्ने बाध्यता हुन्छ । किनकि जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही हुन्छन् ।

नेपालमा त अहिले संघीय संरचना स्थापनालाई सघाउने गरी  चुनाव गर्न लागिएको छ । यो चुनावपछि विकासको काम अघि बढ्नेछ भन्नेमा हामी अहिले आशावादी भएका छौं ।

तपाईहरुले यसैसाता पूर्वाधार सम्मेलन सम्पन्न गर्नुभएको छ, सम्मेलन चल्दै गर्दा सरकारबाट चुनाव घोषणा भयो । तपाईको सम्मेलनमा भाग लिन आएका विदेशी लगानीकर्ताले यसमा कस्तो प्रतिक्रिया जनाए ?

चुनाव गर्न लागेसँगै उनीहरुमा पनि उत्साह पलाएको छ । उनीहरुमा अब नेपाल पनि उद्योगको क्षेत्रमा लगानी गर्न उचित स्थान हो भन्ने अवधारणाको विकास भएको मैले पाएको छु ।

अहिले हाम्रो सम्मेलनमा विदेशका ठूला उद्योगीहरु तथा त्यस्ता उद्योगमा व्यवस्थापनको जिम्मा सम्हालेका ब्यक्तिहरु पनि सहभागी भएका छन् । यही सहभागिताले पनि जान्न सकिन्छ कि विदेशीहरु नेपालमा लगानी गर्न चाहिरहेका छन् । नेपालमा लगानी गर्ने अब वातावरण बन्दैछ भन्ने उनीहरुमा सन्देश गएको हामीले पाएका छौं  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment