Comments Add Comment

प्रिय पुस्तक: लेखक बित्दा एक छाक छोडेँ

पढ्नु भनेको आफूलाई अझ राम्रो बनाउने प्रयास हो । मभित्र विवेकको बीउ टुसाएदेखि अक्षरसँगको नाता निरन्तर छ ।

सामान्यतया विद्यार्थीकालमा पढाइको रफ्तार बढी हुन्छ । मेरो चाहिँ अहिलेसम्म उही रफ्तार चलिरहेको छ ।

अहिले पनि घरमा शनिबार बसेँ भने एकै दिनमा नेपाली र हिन्दी किताब चार वटासम्म पढिसक्छु । अंग्रेजी किताब पढ्न चाहिँ दुई-तीन दिन लाग्छ ।

म जे पनि पढ्छु । मलाई बढी मन पर्ने चाहिँ आत्मकथा र संस्मरणहरु हुन् । धच गोतामेका संस्मरणहरु कैयौं पटक पढेको छु । त्यसपछि आख्यानको संसारमा पस्दा आनन्द भेट्छु ।

म जस्तै स्ट्रेन्जर

म आख्यान पढ्दा निकै रमाउँछु । रसियन लेखक फ्योदोर दोस्तोएब्स्की र हिन्दीमा मोहन राकेश मन पर्छन् ।

दोस्तोएब्स्कीको निकै मन परेको उपन्यास ‘क्राइम एन्ड पनिसमेन्ट’ हो । त्यहाँ एउटा पात्रले हत्या गर्छ । पछि उसले आफ्नो अपराध महसुस गर्छ । यो किताब मैले दिल्लीमा नाटक पढ्दा जाँदा १९८५ तिर पढेको हुँ ।

त्यही समयमा पढेको अल्वेयर कामुको दार्शनिक कोटिको उपन्यास ‘द स्ट्रेन्जर’ ले पनि निकै छोयो । कता-कता उपन्यासको मुख्य पात्रसँग आफूलाई जोडेर हेर्दा पनि मन परेको हो ।

त्यसमा एउटा मान्छे हुन्छ, समाजसँग सम्बन्ध तोडेर मनमौजी हिँड्छ । एकदम सरोकारविहीन । यतिसम्म कि आमासँग पनि उसको कुनै अट्याचमेन्ट हुँदैन । हत्याको आरोपमा अन्तिममा उसलाई फासीको सजाय हुन्छ ।

यो उपन्यासलाई पछि ०४६ सालतिर मैले नाटक बनाएर  फ्रान्सेली सांस्कृतिक केन्द्रमा मञ्चन पनि गरेँ ।

नेपाली आख्यान पनि बलियो

पछिल्लो समय नेपाली आख्यानहरु राम्रा आइरहेका छन् । कुमार नगरकोटी, नयनराज पाण्डे, बुद्धिसागर जस्ता लेखकहरु आएका छन् ।

धेरैजसो लेखकहरुले समाजसँग जोडेर लेखिरहेका छन् । पहिलेका समयमा कोठामा बसेर कल्पना र अनुमानको भरमा लेख्छन् भन्ने थियो । अहिले चाहिँ लेखकहरु फिल्डमै गएर लेख्न थालेका छन् । अमर न्यौपानेका कृतिहरु त्यसका उदाहरण हुन् ।

यसका साथै नयनराज, बुद्धिसागरले पनि अलि अध्ययन गरेरै लेखेको देखिन्छ । हालै नविन विभासको कथासङ्ग्रह ‘रोल्पा सुइना’ मा पनि समाजको कुरा आएको छ ।

पछिल्लो समय टिनएजरहरुको लागि लेखिने साहित्यको बजार पनि छ । यस्तो साहित्यको सकारात्मक पाटो के छ भने, पाठक बढाउँछ ।

मेरो पठनको उद्देश्य केही गुदी कुरा खोज्नु र मन शान्त पार्नु नै है । रंगकर्मी भएको नाताले म कामको उद्देश्य राखेर पनि पढ्ने गर्छु । नाटक पढाउन मलाई नयाँ स्क्रिप्टहरु चाहिन्छ । त्यसका लागि पनि किताबहरु पढ्छु । त्यसका लागि भर्खरै पुस्तक मेलाबाट कथा र उपन्यासहरु ल्याएर धमाधम पढ्दै छु ।

गोविन्द गोठालेदेखि शङ्कर लामिछानेसम्म

मलाई गोविन्दबहादुर मल्ल ‘गोठाले’का नाटकहरु मन पर्छन् । उनले सांस्कृतिक र राजनीतिक चेतसहित नाटक लेखेका छन् । उनका सिर्जनामा नेवारी संस्कृति छताछुल्ल पाइन्छ ।

यस्तै, सात सालको क्रान्तिपछि नेपालको अवस्थालाई उनले नाटकमा ल्याएका छन । खासगरी ‘भोको घर’ संग्रहमा भएका एकाङ्की नाटकहरुमा त्यो पाइन्छ ।

मेरा अर्का मन पर्ने लेखक शंकर लामिछाने हुन् । उनी आफ्नो समयभन्दा निकै अग्रगामी मान्छे थिए । उनी कति अध्ययनशील रैछन् भनेर उनले निबन्धहरुमा उल्लेख गरेका रेफरेन्सबाट थाहा हुन्छ ।

अहिले लामिछानेकै कोटिको लेखक नगरकोटी लाग्छ । त्यसैगरी पढ्ने र लेख्ने गर्छन् उनी । लामिछानेलाई मैले भेट्न नपाउनु दुर्भाग्य लाग्छ ।

पछिल्लो समयमा मलाई उपेन्द्र सुब्बाका कविताहरु मन पर्छन् । श्रवण मुकारुङका कविता पनि गहकिलो लाग्छ ।

यथार्थले दिक्क पार्दा बच्चाहरुको किताबमा पस्छु

बढी उमेरसमूहका लागि लेखिएका गम्भीर साहित्य त पढिन्छ नै, म त बच्चाहरुको किताबमा झन् रमाउँछु ।

मेरो पठन यात्राको सुरुवात नै परीकथाहरुबाट सुरु भएको हो । बच्चा बेलामा ‘लाल हीरा’, ‘मधुमालतीको कथा’ पढियो । त्यही भएर अहिले पनि त्यस्ता कथाहरुमा मोह छ ।

पछिल्लो समयमा ‘ह्यारी पोर्टर’, ‘पर्सी ज्याक्सन’, ‘एरागन’ लगायत फिक्सन मन पर्‍यो । तिनमा सरलता र फेन्टासी हुन्छ । जीवनमा अलिकति फेन्टासी, हरर र एड्भेन्चर पनि चाहिन्छ रे ।

यस्ता किताबले भागदौडको यो दुनियाँबाट एकैछिन भए पनि बाहिर निस्किनलाई सहयोग गर्छ । कहिलेकाहीँ यथार्थबाट बाहिर निस्किनुपर्दो रै’छ । सधैं यथार्थले टेन्सन दिँदो रै’छ ।

म विरक्त भएको बेला ह्यारी पोर्टर दोहोर्‍याउँछु । अस्ति भर्खरै बाह्रौं चोटि पढेँ । मान्छेलाई बाँच्न अलिकति फेन्टासी चाहिन्छ । त्यस्तो फेन्टासी म बच्चाहरुको किताबबाट पाउँछु ।

लेखकको नाममा एक छाक छोडियो

बालसाहित्यपछि एउटा उमेरमा जासुसी उपन्यास पनि खुबै पढियो । हिन्दी जासुसी उपन्यासबाट पढाइको रफ्तार तीव्र भयो ।

मैले पाकिस्तानी लेखक इब्ने सफी ‘बीए’ का उपन्यास धेरै पढेँ । उनका किताब अनगिन्ती थिए । उनी उर्दुमा लेख्थे । हरेक महिना हिन्दीमा अनुवाद भएर उनको एउटा उपन्यास छापिन्थ्यो ।

उनको मृत्यु भएपछि एउटा पाठकको रुपमा म निकै दुःखी भएँ । आफन्त नै गुमाए जत्तिकै पीडा भयो । शोकमा परेर त्यतिबेला मैले एक छाक खाना छोडेको थिएँ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment