Comments Add Comment

अधिकांश क्याम्पसमा तालाबन्दी, स्ववियुको मनोनयन दर्ता प्रभावित


१४ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज हुनुपर्ने उम्मेदवारहरुको उम्मेदवारी दर्ता प्रभावित भएको छ । विभिन्न विद्यार्थी संगठनले क्याम्पसहरुमा गरेको तालाबन्दीले राजधानीका अधिकांश क्याम्पसमा मनोनयन दर्ता रोकिएको छ ।

काठमडौंमा थापाथली र पुल्चोक इन्निनियरिङ क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस तथा सानोठिमी शिक्षा क्याम्पसमा बाहेक राजधानीका अधिकांश क्याम्पसमा तालाबन्दी भएको नेकपा माओबादी केन्द निकट्र अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले बताए ।

अधिकांश क्याम्पसमा बैद्य तथा बिप्लब निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् भने केही क्याम्पसमा नेबि संघ र नयाँ शक्ति निकट विद्यार्थी संगठनले पनि तालाबन्दी गरेको छ । संशोधित कार्यतालिका अनुसार शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि हुँदैछ । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली अपनाइँदैछ ।

त्रिभुवन विश्वविद्यालयले सार्बजनिक गरेको कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । तर, मनोनयन दर्ता नै हुन नदिने गरी तालाबन्दी भएकाले समयमै आठ वर्ष पछि हुन लागेको निर्वाचन नै नहुने खतरा बढेको छ ।

विद्यार्थी भर्ना लगायतका विवादका कारण केही क्याम्पसहरुमा आगजनी र तालाबन्दी भएका छन् । भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका छन् । सो क्याम्पसमा स्ववियु निर्वाचन पनि अनिश्चित भएको छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा वैद्य माओवादी निकट अखिल क्रान्तिकारीले विद्यार्थीको रजिष्टर जलाएको छ । स्ववियु चुनावको लागि विद्यार्थी परिचयपत्र वितरण भइरहेका बेला क्रान्तिकारी निकट विद्यार्थीहरुले रजिष्टर खोसेर आगजनी गरेका थिए ।

त्रिवि अन्तर्गत ६० आंगिक क्याम्पसमध्ये काठमाडौं उपत्यकामात्रै २२ क्याम्पस छन् । स्ववियु निर्वाचन नजिकिएसँगै बिभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनहरुले शुक्रबार तालाबन्दी गरेका छन् ।

पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी भएको छ । क्याम्पसमा गरिएको एकमुष्ठ विद्यार्थीको फर्जी भर्ना खारेज गर्नुपर्ने, तीन विद्यार्थी संगठन (नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी)को सिण्डीकेट खारेज हुनुपर्ने लगायतका माग राखी तालाबन्दी गरिएको हो ।

अखिल क्रान्तिकारी -मोहन वैद्य), अखिल क्रन्तिकारी (विप्लव), नयाँ शक्ति विद्यार्थी युनियन लगायतले ताला लगाएका हुन् ।
संविधान संशोधन विना स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको भन्दै असन्तुष्ट मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले तराई मधेसका क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्लाहरुका प्रमुख क्याम्पसहरुमा ताला लगाइएको छ ।

धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट लगायत जिल्लाका क्याम्पसहरुमा मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचन हुन नदिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment