Comments Add Comment

राजदूत सिफारिसमा काँग्रेसभित्र मतभेद, स्थानीय चुनावबारे पार्टीमा छलफल गर्न पौडेलको माग


१४ फागुन, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्दि्रय कार्य समितिको बैठक बोलाउन माग गरेको छ ।

पार्टी संचालन, सरकार संचालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न माग गर्दै वरिष्ठ नेता पौडेल पक्षले तत्काल पार्टी केन्दि्रय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित रुपमा माग गरेको हो ।

पार्टीको सदस्य समेत नरहेका व्यक्तिलाई राजदुत नियुक्तिका लागि सिफारिस गरेपछि पौडेल पक्ष सभापति देउवाप्रति झनै आक्रोशित भएको हो ।

शनिवार विहान महाराजगंजस्थित महामन्त्री डा. शंशाक कोइराला निवासमा भेला भएका पौडेल पक्षका नेताहरुले पार्टीको साख जोगाउन माग गर्दै सभापति देउवालाई केन्दि्रय समितिको बैठकमा बोलाउन लिखित रुपमा माग गर्ने निर्णय गरेको छ ।

पौडेल पक्षले पार्टीकातर्फबाट राजदुतमा सिफारिस गरिएका आशा लामा, रमेश कोइराला र भीम उदास पार्टीको सदस्य समेत नरहेकाले सो सम्बन्धमा पुनर्विचार गर्न पनि केन्दि्रय कार्य समितिको बैठक तत्काल बोलाउनुपर्ने अवस्था आएको दावी गरेको छ ।

पार्टीका सदस्य समेत नरहेका व्यक्तिहरुलाई राजदुत नियुक्ति गरेकोमा सिंगो पार्टी पंक्ति चिन्तित रहेको नेता डा. रामशरण महतले जानकारी दिए । उनले पार्टी सभापति बैधानिक ढंगले पार्टीलाई अघि बढाउन तयार नदेखिएको आरोप पनि लगाए । पौडेल पक्षधर नेताहरुले आर्थिक प्रलोभनमा परेर राजदुत नियुक्तिको सिफारिस गरेको आरोप समेत लगाएको छ ।

पौडेल पक्षीय नेताहरुले पार्टी नेतृत्वका कारण पार्टीको साख गिर्दै गएकाले त्यसलाई रोकेर पार्टीलाई गतिदिन तत्काल केन्दि्रय समितिको बैठक बोलाउनुपर्ने माग गरेको पनि जनाएको छ । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन पार्टी सभापतिलाई दवाव दिने निर्णय लिनु परेको नेता बलबहादुर केसीले जानकारी दिए ।

विद्यमान चुनौतिहरुको सामना गर्न तत्काल पार्टी सभापति देउवासँग केन्दि्रय कार्य समितिको बैठक बोलाउन माग गरिएको वरिष्ठ नेता पौडेलले जानकारी दिए । उनले पार्टीलाई विधिसम्मत ढंगले संचालन गर्नुपर्ने उल्लेख गरे ।

पौडेल पक्षले पार्टीको भातृ संगठनको निर्वाचनमा पनि देउवा पक्षले एकल निर्णय लिएको भन्दै आपत्ति जनाउँदै आएको छ । काँग्रेस भित्र पौडेल पक्षले संविधान संशोधन प्रस्ताव थाति राखेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडान पनि राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment