Comments Add Comment

अष्ट्रेलियाबाट उठाएको रकमले गाँउमा सामुदायिक भवन

ब्रिसबेन। अष्ट्रेलियाको क्वीन्स्ल्याण्ड राज्यको टुओम्बा शहरमा बसोबास गर्ने नेपालीहरुले खोलेको सामाजिक संस्था सेल्टर फर होपको अगुवाइमा दुईबर्षदेखि विभिन्न कार्यक्रममार्फत उठाइएको रकमले भूकम्प प्रभावित लमजुङको विकट गौडा गाविसमा एउटा सामुदायिक भवन निर्माण थालिएको छ ।

नेपालमा दुई बर्षअघि भूकम्प गएपछि राहत संकलन गर्ने क्रममा खोलिएको सेल्टर फर होपले स्थानीय स्तरमा विभिन्न नेपाली अष्ट्रेलियन संस्थाहरुसँग समन्वय गरी कन्सर्ट, पदयात्रा र देउसी भैलो, सोभिनियर बेच्ने जस्ता कार्यक्रमहरु गरेर करिब १२ हजार अष्ट्रेलियन डलर संकलन गरेको थियो ।

उक्त रकमको साथै नेपालमा स्थानीय स्तरमा पनि जनश्रमदान र अन्य विभिन्न व्यक्ति तथा संस्थाबाट भौतिक सामाग्रीहरु संकलन गरेर करिव २० लाखको लागतमा गौडा गाँउमा सामुदायीक भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माणको लागि स्थानिय स्तरमा बुथमान गुरुङ्गको संयोजकत्वमा १३ सदस्यीय भवन निर्माण समिति निर्माण भएको छ भने सेल्टर फर होपका नेपाल डाइरेक्टर तथा पर्यटन व्यवसायी गोविन्द गुरुङ्गले उक्त भवन निर्माणको संयोजन गरिरहेका छन् ।

सेल्टर फर होपको नेतृत्वमा परिवर्तन

यसैबीच सेल्टर फर होपको हालै बसेको साधारण सभाले संस्थाको नेतृत्व परिवर्तन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष उज्वल गौतम, सचिवमा डा. श्रद्धा लिम्बु, कोषाध्यक्षमा एकराज अधिकारी र सदस्यहरुमा अनिता केसी, रिजु पुन र रोहनमुनी बज्राचार्य रहेका छन् ।

संस्थाले आगामी दिनमा नेपालमा गरिब तथा जेहन्दार विद्यार्थीहरु पढाउनको लागि छात्रवृत्ति कार्यक्रम र दुर्गम गाँउहरुमा नियमित स्वास्थ्य शिविर संचालन गर्न लागेको अध्यक्ष उज्वल गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment