Comments Add Comment

तरुण दलका नेताको निर्देशनः सबै क्याम्पसमा ताला लगाऊ, चुनाव बिथोल

ताला खोलेर चुनाव गर्ने सहमति अलपत्र, ल क्याम्पसको ताला अखिलले फुटायो

तरुण दल अध्यक्ष जीतजंग बस्नेत

१५ फागुन, काठमाडौं । उपत्यकाका अधिकांश क्याम्पसमा स्ववियु चुनावको उम्मेदवारी मनोनयन रोक्न सत्तारुढ कांग्रेसकै नेताहरु संलग्न रहेको खुलासा भएको छ ।

कांग्रेस पार्टीका नेतादेखि तरुण दल अध्यक्ष जीतजंग बस्नेतसम्मले तालाबन्दी गर्न विद्यार्थी नेतालाई उकासेको नेवि संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज थापाले पार्टी नेतृत्वलाई जानकारी गराएका छन् ।

त्रिवि पदाधिकारीलाई पनि नेविसंघका नेताहरुले तालाबन्दी संस्थागत नभई केही व्यक्तिले लगाएकाले ताला फोडेर निर्वाचन प्रक्रिया अघि बढाए नेविसंघले सघाउने आश्वासन दिएको स्रोतले जनाएको छ । सोही अनुसार त्रिचन्द्र क्याम्पसमा ताला खुलेको छ ।

नेवि संघभित्रको आन्तरिक विवाद र कांग्रेसको रामचन्द्र पौडेल पक्षको असहयोगका कारण नेविसंघ स्ववियु चुनाव बिरोधी देखिएको भन्दै नेविसंघ नेताहरुले आपत्ति प्रकट गरेका हुन् । महामन्त्री कुन्दन काफ्ले पक्षले आफ्नै उम्मेदवारको प्यानल खडा गरेको छ ।

रामचन्द्र पौडेल पक्षले २८ वर्षे उमेर हदकै विरोध गर्दै तालाबन्दी गरेको थियो । २८ वर्षे लाग्दा पौडेल पक्षधर स्ववियुका धेरै आकांक्षी उम्मेदवार बन्नबाट बञ्चित भएकाले उनीहरु चुनावै हुन नदिने र अध्यक्ष नैनसिंह महरलाई पनि असफल बनाउने खेलमा लागेको आरोप छ ।

तालाबन्दी गराउन तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले नै युवा परिचालन गरेको नेविसंघ स्रोतले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनी शनिवार साँझसम्म पनि जावलाखेलको गार्डेन रेष्टुरेन्टमा बसेर सबै क्याम्पसमा तालाबन्दी गर्न र चुनाव बिथोल्न कार्यकर्तालाई निर्देशन दिइरहेका थिए ।

स्ववियुमा कांग्रेसका नेतापिच्छे उम्मेदवार भएकाले विवाद मिलाउन नसकिएको नेविसंघ नेतृत्वले जनाएको छ ।

नेविसंघको अध्यक्ष हुन नपाएका बस्नेत महरलाई जसरी पनि असफल पार्न चाहन्छन् । अहिले नेविसंघमा चुनावको पक्षमा अध्यक्ष महर, महामन्त्री सरोज थापालगायत देखिन्छन् । उपाध्यक्ष उर्मिला थपलिया पक्ष चुनावकै विपक्षमा छ भने महामन्त्री कुन्दन काफ्ले पक्षले आफ्ना पक्षका उम्मेदवार नपाए चुनाव हुन नदिने रणनीति बनाएको छ ।

नेवि संघको आन्तरिक विवादको असर समग्र निर्वाचनमा देखिनु दुर्भाग्य भएको अनेरास्ववियुका उपाध्यक्ष तथा स्ववियु काउन्सिलका अध्यक्ष महेश बर्तौलाले बताए । उनले भने- ‘हामी र अखिल क्रान्तिकारी चुनाव गराउने पक्षमा छौं, नेविसंघले चुनाव भाँड्न अराजकता देखायो ।’

ल क्याम्पसको ताला फोडियो

यसैबीच नेपाल ल क्याम्पसमा नेविसंघले लगाएको ताला अनेरास्वविुका विद्यार्थीले फोडेका छन् । तर, ताला फोडेपछि झडप हुन थालेकाले क्याम्पस प्रशासनले निर्वाचन गराउन नसक्ने भन्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगन गरेको छ ।

तालाबन्दी भएका अन्य क्याम्पसमा पनि सहमति वा ताला फुटाएर सोमबार बिहान १० बजेसम्म उम्मेदवारी मनोनयनका लागि त्रिविले समय तोकेको छ । तर, अपरान्ह साढे २ बजेसम्म नेविसंघले लगाएको तालामध्ये त्रिचन्द्रको मात्र खुलेको छ ।

ताला खोलेर निर्वाचन प्रक्रिया अघि बढाउन क्याम्पस प्रशासन र विश्वविद्यालयले तदारुकता नदेखाएको विद्यार्थी संगठनको आरोप छ । काठमाडौंका अधिकांश क्याम्पसमा नेविसंघले ताला लगाएको छ भने केहीमा अन्य संगठनले लगाएका छन् ।

कुन क्याम्पसमा कसको तालाबन्दी ?

त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये अधिकांशमा ताला लागेको अवस्था छ । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको छ । अन्तिम सेमेस्टरका विद्यार्थीले भर्ना पाउनुपर्ने माग उनीहरुको छ ।

नेविसंघले सबैभन्दा धेरै क्याम्पसमा तालाबन्दी गरेको छ । त्रिचन्द्र, आरआर, शंकरदेव, पब्लिक युथ, पशुपति बहुमुखी, पाटन संयुक्त क्याम्पसमा नेवि संघको तालाबन्दी छ । त्यहाँ अन्य साना संगठनले पनि आ-आफ्नो ताल्चा थपेका छन् ।

त्यस्तै थापाथली इञ्जिनियरिङ क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल, नेपाल कमर्श क्याम्पस मीनभवनमा पनि नेवि संघ लगायतको तालाबन्दी छ । शंकरदेवमा विप्लव र वैद्यका विद्यार्थी संगठनले पनि ताल्चा लगाएका छन् । त्यस्तै पद्मकन्या क्याम्पसमा लागाइएको तालाबन्दी खुलेको छ ।

कुनै न कुनै बहानामा विद्यार्थी संगठनहरुले नै तालाबन्दी, आगजनी गर्ने कार्य गरेकाले चुनाव गराउन अप्ठेरो परेको शिक्षाध्यक्ष सुधा त्रिपाठीले बताइन् । उनले त्रिवि चुनाव रोक्ने पक्षमा नरहेको समेत प्रष्ट पारेकी छन् ।

काठमाडौं बाहिरका ठूला क्याम्पसमध्ये पृथ्वीनारायण क्याम्पस पोखरा, भैरहवा बहुमुखी, बुटवललगायतका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । अन्य साना सामुदायिक क्याम्पसहरुमा पनि उम्मेदवारी दर्ता भएको छ । दुई नम्बर प्रदेशका कतिपय क्याम्पसमा मधेसी मोर्चा आवद्ध विद्यार्थीले तालाबन्दी गरेका कारण चुनाव प्रभावित भएको छ ।

एमालेसम्वद्ध अनेरास्ववियुले अछामको मंगलसेन र भैरहवा क्याम्पसमा तालाबन्दी छ ।

तर, तालाबन्दी फोरेर चुनाव गराउन सुरक्षा व्यवस्था मिलाउने आश्वासन सरकारले दिएकाले निर्वाचन प्रक्रिया अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment