Comments Add Comment

सँझ्या साहित्यमा न्याय र मानवताको खोजी

काठमाडौं । सँझ्या साहित्यको फागुन शृङ्खलामा ५० र ६० को मध्य दशकदेखि साहित्य सिर्जनामा सक्रिय तीन कविहरु प्रस्तुत भए ।

आख्यान, कविता र गीत लेखनमा ५० को दशकदेखि देखिएका राजुबाबु श्रेष्ठ, राम्रा कविता लेखे पनि बजारु हल्लादेखि पर रहेका उमेश अकिञ्चन र पछिल्लो समय सक्रिय देखिएकी लक्ष्मी रुम्बाले फरक स्वादका कविता सुनाए ।

भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिरमा शनिबार आयोजित कार्यक्रममा पहिलो चरणमा कवि राजुबाबु मञ्चमा उभिए । उनले ‘सपनाको बस्ती’, ‘जङ्गी पिलर र मेरो गाउँ’, ‘नाङ्गाहरूको जुलुश’ लगायत कविता प्रस्तुत गरे । ‘देउतासँग’ शीर्षकको कवितामा उनले अहिंसाको आग्रह गर्दै मानवतावादी दृष्टिकोण व्यक्त गरे –

म मन्दिरको ढोकामा उभिएर हेरिरहेको छु
बोका डोर्‍याएर बसेका भक्तहरू
पूजाको थाली बोकेर उभिएका भक्तहरू
बोका देखेर प्रफुल्लित पूजारीका आँखाहरू
मन्दिरको प्राङ्गणमा रगतको आहाल बनेको छ
रगतमा डुबेका छन् फूलहरू
रगतमा मुछिएका छन् अक्षताहरू
मलाई रगतमा फूल लतपतिएको 
पटक्कै मन परेको छैन 

कवि अकिञ्चनले ‘जोगबनी’, ‘सोल्टिनी शहर’, ‘दृष्टिकोण’ लगायत चुनिएका कविता पस्किए । ‘बाराक ओबामा’ कवितामा उनले सीमान्तकृत समुदायको संघर्षशील यात्राको कथा हाल्दै जीवनमा परिवर्तनको सम्भावना औंल्याए –

कहाँकहाँ हिँडिनँ म 
जङ्गलमा हराएको एक्लो यात्री जस्तो 
इन्डोनेसियाका बाटाहरू
नैरबीका बस्तीहरू
सिकागोका पाठशालाहरू
टाइमस्क्वायरको घुमिरहने घडीको काँटाले झैं
कति धेरै काटेँ मैले सपनाको चक्कर
मेरो यात्रा उड्दै खस्दै गर्ने चङ्गा जस्तो
तर
जीवन न ओरालैओरालै ओरालो
हिँडे पनि उक्लिँदो रहेछ 
जीवन त अँध्यारो सुरुङभित्र छिरे पनि
सूर्यजत्रो उज्यालोले पर्खिँदो रहेछ ।

लक्ष्मी रुम्बाले कविता मार्फत सामाजिक न्याय र स्वतन्त्रताको खोजी गरिन् –

‘के यो कुरूप समयलाई उखेल्न सक्छ
– कोम्हेन्दोको मंगोलियन आँखाले ?
जो पीडाको चरम सीमामा पनि चम्किरहन्छ ।
के यो अव्यवस्था बदल्न सक्छ
– कोम्हेन्दोको मौन आवाजले ?
जो वर्षौदेखि हुङ्कार छोडिरहेछ स्वतन्त्रताको ।’

कार्यक्रममा वैदेशिक रोजगारीको दक्षिण कोरियामा पुगेर हाल बिदा मनाउन नेपाल आइपुगेका सुरेन्द्र कार्की ‘अञ्जान काइँला’ को बोनस कविता पनि श्रोताले सुन्न पाएका थिए ।

सोही कार्यक्रममा नेपाल तथा नेपाली भाषाको साहित्य सिर्जनामा ६ दशक खर्चिएका क्यान्सर पीडित रामशेखर नकर्मीको उपचार खर्चका लागि आह्वान गरिए अनुसार उपस्थित सर्जकहरुबाटै ३३ हजार पाँच सय संकलन भयो । संकलित रकम सँझ्या साहित्यका अभियन्ताहरु अभय श्रेष्ठ, रामगोपाल आशुतोष र हरिहर तिमल्सिनाले नकर्मीका कान्छा छोरालाई हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment