Comments Add Comment

नौ वर्षे बालक आइएसका कट्टर समर्थक !


सानो मुख, गोलो अनुहार र सुन्दर आँखा । हेर्दा निकै स्मार्ट देखिन्छन् । बीच-बीचमा जिज्ञासा तेर्स्याउँछन् । खासमा जिज्ञासाले गर्दा नै उनले आफूलाई समस्यामा पारेका छन् ।

हारुन (नाम परिवर्तन) आफ्नी आमा र थुप्रै दाजुभाइहरुसँग लण्डनमा बस्छन् । पश्चिमी लन्डनको एउटा प्राथमिक स्कुलमा पढ्छन् ।

अधिकारीहरुका अनुसार उनले करिब एक वर्ष अगाडि एक दिन स्कुलको भरिभराउ कक्षामा उभिएर भनेका थिए कि उनी इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनलाई समर्थन गर्छन् । त्यसपछि स्कुल प्रशासनले सरकारलाई सम्पर्क गर्‍यो र उनलाई सुधार्नका लागि एउटा कार्यक्रममा राखियो । यस कार्यक्रममा ती व्यक्तिहरुलाई सुधारिन्छ जो कट्टरपन्थि बन्ने खतरा हुन्छ ।

हारुन भन्छन्, ‘मैले पेरिस हमलाको खबर टेलिभिजनमा हेरेको थिएँ । त्यसपछि कम्युटरअगाडि बसेर गुगलमा आइएसआइएस खोज्न थालेँ । गुगलले मलाई बीबीसी न्यूजमा लग्यो । मैले सबै कुरा पढेँ र च्यानल ४ को साइटमा आइएसका जवानहरुलाई देखेँ ।’

हारुन त्यसपछि अन्य वेबसाइटहरुमा पनि गए । सामाजिक सञ्जालमा जोडिएका व्यक्तिहरुको भनाइ छ कि त्यहाँ जिहादी र उनीहरुको क्रुरता देखेर हारुन कट्टरपन्थी बन्ने खतरा बढेर गयो । हारुन भन्छन्, ‘मैले क्रुरतापूर्वक हत्या गरिएका केही भिडियो देखेँ । मैले उनीहरुले मानिसहरुलाई जलाइएको देखेँ । मानिसहरुलाई पछाडि हात बाँधेर ल्याइएको थियो । उनीहरुलाई पिटेर जबरजस्ती भुईंमा बसाइयो । त्यसपछि उनीहरुको शिर काटियो ।’

मानिसहरुलाई कट्टर बन्नबाट रोक्नका लागि २०१२ मा कार्यक्रम सुरु गरिएको थियो । त्यसयता १ हजार व्यक्तिहरु यहाँ आइसकेका छन् । उनीहरुमा किशोर र युवाहरु धेरै थिए ।

खासमा चरम दक्षिणपन्थी साइटहरुमा इस्लामलाई गलत तरिकाबाट देखाइएको थियो र हारुनले ती साइटहरु हेरे ।
हारुन भन्छन्, ‘म साताको अन्तिममा यी सबै कुराहरु पढ्ने गर्थेँ । त्यतिबेला सबैजना बाहिर जान्थे र घर पूरै खाली हुन्थ्यो । म स्कुलको कम्प्युटरमा बसेर पनि खोजी नीति गर्थेँ ।’

बच्चाहरु आपसमा झगडा गर्दा उनी भन्थे कि इस्लामिक स्टेटभन्दा शक्तिशाली हिजबुल्ला हुन् । कक्षाका थुप्रै बच्चाहरुलाई आइएसको बारेमा थाहा थियो किनकी उनीहरु मध्यपूर्वबाट आएका थिए । विशेषज्ञहरुले पछि पत्ता लगाए कि हारुनलाई परेशान गरिन्थ्यो । उनीहरुको भनाइमा परेशान गरिने कारणले गर्दा हारुन एक्लिँदै गए र इस्लामिक स्टेटमा उनको अभिरुची बढ्दै गयो ।

हारुनलाई सम्झना छ, एक दिन मरियम नामकी एक महिला उनको घरमा आइन् । मरियम यस्ता बच्चाहरुलाई ठीक गर्ने काम गर्छिन् । सामाजिक कार्यकर्ताले हारुनलाई भने कि उनी ती चीजहरुको सूची बनाउन्, जसले उनलाई खुशी मिल्छ । उनले सूचीमा लेखे, शान्ति, परिवार, इस्लाम र युद्ध । उनलाई अर्को सूची बनाउन भनियो, जेसँग उनलाई डर लाग्छ । उनले लेखे, इस्लामिक स्टेट र स्कुल ।

सुधार कार्यक्रममा हारुनलाई भनियो कि कसैले पनि खराब चीज, खराब साइटहरु हेर्नु हुँदैन । मरियम जोड दिएर भन्छिन्, ‘हामी यो भन्दैनौं कि हारुन आतंकवादी नै बन्नेछन् । हामी यो भन्छौं कि उनी यस्तो हुने आशंका छ ।’

हारुन पहिलेजस्तै अहिले पनि कौतूहलले भरिएका बालक हुन् । उनी भविष्यमा एकाउन्टेन्ट वा वकिल बन्न चाहेको बताउँछन् । उनी अलिकति रोकिन्छन् र मुस्कुराएर यसमा पत्रकार पनि जोड्छन् ।

– बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment