Comments Add Comment

तस्करीका सामान कैलाली भन्सारद्वारा बरामद, धनगढी ल्याउन खोज्दा स्थानीयको अवरोध

१५ फागुन, कैलाली । छोटी भन्सार कार्यालय पृथ्वीपुर लालबोझी र प्रहरीसँगको मिलेमतोमा अवैध रुपमा हुदै आइरहेको तस्करीको समानलाई कैलाली भन्सार कार्यालयबाट गएको टोलीले बरामद गरी राजश्व दाखिला गरेको छ ।

फाइल तस्वीर

नेपाल-भारत सीमा जोडिएको कैलालीको दक्षिणीभाग लालबोझीको गुलरियाघाट नाका भएर विगतदेखि नै तस्करी हुँदै आइरहेको जानकारी पाएपछि भन्सार कार्यालय कैलालीले भारतिय बजार तिकुनियामा सुराकी पठाएर अनुसन्धान थालेको भन्सार प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिए ।

उनले त्यहि सुराकीको आधारमा शनिबार साँझ भारतबाट नेपाल तर्फ सामान आइरहेको जानकारी प्राप्त भएपछि धनगढी भन्सारबाट गएको टोलीले २ ओटा ट्याक्टरमा ६६ थान पोका बनाई लोड गरेर ल्याउँदै गरेको अवस्थामा गुलरियाघाट नाकाबाट नियन्त्रणमा लिएको बताए ।

नियन्त्रणमा लिएको समानलाई सीमा प्रहरी चौकी लालबोझीमा राखेर धनगढी ल्याउने तयारी भैरहेको अवस्थामा स्थानियको अवरोधका कारण ति समानहरुको राजश्व लालबोझी मै लगिएको भन्सार प्रमुख भण्डारीले बताए ।

अवैध रुपमा नेपाल ल्याउँदै गरेको समानहरुमा लत्ताकपडा र हार्डवेयरका समान रहेको बताउँदै भन्सार प्रमुख भण्डारीले स्थानिय ब्यापारी जोगी सिं धामीले समान आफ्नो भएको भन्दै राजश्व बाफत ८ लाख ७९ हजार ६ सय १८ रुपैयाँ भन्सारलाई बुझाउने बताएको जानकारी दिए ।

विगतदेखि नै टीकापुरको खक्रौला क्षेत्रबाट प्रहरीसँगको मिलेमतोमा व्यापार गर्दै आइरहेका धामीले बेलाबेलामा लालबोझीको नाका भएर समेत अवैध रुपमा समान ओसारपसार गर्ने गरेको प्रहरीले नै बताएका छन् । उनीहरुले माथिको आदेशमा यस्तो गर्ने गरेको भनेर प्रतिकृया दिएपनि आफ्नो नाम चाँही उल्लेख नगरिदिन आग्रह गरे ।

सुदूरपश्चिममा सरुवा भएर आउने प्रहरी प्रमुखहरुले आउने वित्तिकै आफ्ना अनुकुलमा व्यक्तिहरुलाई सीमानाकामा पठाउने र उनीहरुबाट मासिक रुपमा रकम लिने गरेको विगतका दिनहरुमा समेत पुष्टि भैसकेको छ । तस्करहरुले पनि प्रहरी प्रमुखहरुलाई मोटो रकमको आश्वासन दिएर अवैधरुपमा भारतिय बजारबाट समानहरु नेपाल ल्याउने गरेका छन् । यसले एकातिर राज्यको राजश्वमा ठुलो असर परेको छ भने अर्कोतिर तस्करहरु र प्रहरी प्रमुखहरु मोटाउने काम मात्रै भएको प्रस्ट छ ।

पछिल्लो समयमा कैलालीका खक्रौला, गुलरिया, हसुलिया लगायतका सीमानाका प्रयोग गरेर तस्करहरुले अवैधरुपमा नेपालतर्फ समानहरु ल्याउने गरेको भएपछि प्रहरीले केही साना पोका बाहेक ठूलो परिणाममा समानहरु पक्राउ नगर्नुले पनि तस्कर प्रहरी मिलेमतो प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment