Comments Add Comment

मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि ट्रम्पले चाले पहिलो कदम, डिजाइनको प्रस्ताव आह्वान

१५ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।

 

पर्खाल डिजाइनका लागि ट्रम्प प्रशासनले निर्माण कम्पनीहरुसँग प्रस्ताव आह्वान गरेको छ । अमेरिकी भन्सार तथा सीमा संरक्षण विभागले अर्को महिना स्वीकार गर्ने गरी शुक्रबार प्रारम्भिक प्रस्ताव मागेको हो ।

विभागले पर्खालको नमूनाका लागि आउँदो मार्च ६ वा त्यसको आसपासमा अर्को बोलपत्र माग गर्ने जनाएको छ ।

मार्च २० सम्ममा पर्खालका लागि उत्कृष्ट डिजाइनको मूल्यांकन तथा छनोट गरिने छ । संघीय सरकारको वेबसाइटमा उल्लेखित विवरणअनुसार पर्खालको अनुमानित लागतसहितको प्रस्ताव कम्पनीहरुसँग माग गरिएको छ ।

ट्रम्पले यसअघि पर्खालका लागि १२ अर्ब डलर खर्च हुने बताए तापनि संसदका रिपब्लिकन सभामुख पाउल रायन र सिनेटका नेता मिच म्याककोन्नेलले यसलाई १५ अर्ब डलर लाग्ने अनुमान सार्वजनिक गरेका छन् ।

गभरमेन्ट एकाउन्टेबिलिटी अफिसका अनुसार पैदलयात्रुलाई रोक्ने बार बनाउन प्रतिमाइल ६५ लाख डलर लाग्ने छ भने सवारीसाधनलाई अवरोध गर्ने पर्खालका लागि प्रतिमाइल १८ लाख डलर लाग्ने छ ।

पैदल यात्रुका लागि ३५४ माइल र सवारीसाधका लागि ३ सय माइल पर्खाल उठाउनुपर्ने हुन्छ । मध्ये अपि्रलसम्ममा ठेकेदार कम्पनीको टुंगो लाग्ने बताइएको छ ।

‘तालिकाभन्दा अत्यन्तै चाँडो यो सुरु हुन गइरहेको छ’ राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा भनेका थिए ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागका एक प्रवक्ताले शुक्रबार प्रकाशित गरिएको बोलपत्र ट्रम्पले प्रस्ताव गरेको पर्खाल निर्माणको पहिलो कदम भएको बताए ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीको एउटा आन्तरिक प्रतिवेदनले पर्खाल निर्माणका लागि २१ अर्ब ६० करोड डलर लागत पर्ने र ३ वर्ष लाग्ने अनुमान गरेको छ । यसलाई तीन चरणमा निर्माण गरिने र सन् २०२० सम्ममा सम्पन्न हुने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment