Comments Add Comment

मधेसी जनतालाई प्रधानमन्त्रीको अपीलः आफ्ना असन्तुष्टिलाई मतपत्रमार्फत जाहेर गर्नुस्

'विखण्डनकारी सर्पका हरेक फणालाई कुल्चिइनेछ'

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसका जनतालाई आफ्ना असन्तुष्टिहरु मतपत्रमार्फत जाहेर गर्न अपील गरेका छन् ।

मंगलबार साँझ देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनप्रति सरकार प्रतिवद्ध रहेको बताए । एमालेतर्फ लक्षित गर्दै उनले एउटा पक्षको अवरोधका कारण तीन महिनादेखि संशोधनमाथि छलफल हुन नसकेको र संविधानमा नै गतिरोधमा पर्ने खतरा देखिएकाले चुनाव घोषणा गरेको बताए ।

संविधान संशोधन विधेयक अघि बढाउँदा निम्न स्तरको गाली समेत सहनु परेको भन्दै उनले संविधान संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाइने बताए ।

संशोधनप्रति आफू अहिले पनि प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ ।’

मधेस केन्द्रित दलहरुलाई पनि आवेग होइन, विवेक र राष्ट्रप्रति जिम्मेवारी देखाउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् । ‘मधेसी जनताको विकास र मधेसी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेसी जनताको दैलोमा छ । यो ऐतिहासिक अवसरलाई मधेसी जनताले एउटा उत्सवका रुपमा सहर्ष स्वीकार गर्नेमा सरकार पूर्णतः आशावादी छ,’ उनले भनेका छन् ।

उनले शान्ति सुरक्षामा कुनै कमि हुन नदिने भन्दै निर्वाचनमा एक-एक मतको सुरक्षा गर्ने बताए ।

‘विखण्डनकारी सर्पका हरेक फणालाई कुल्चिइनेछ’

प्रधानमन्त्री प्रचण्डले अहिले पनि संघीयता, गणतन्त्र जस्ता उपलब्धि उल्टाउने खेल भइरहेको बताए ।

केहीले जनताको आवेगलाई भड्काएर देशलाई नै विखण्डन गर्ने सपना देखेको भन्दै उनले भने, ‘म आज यही सम्बोधनबाट खुला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ । हिमाल होस्, पहाड होस् वा तराई, कुनै पनि अतिवाद सहन गरिने छैन ।’

प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावले संविधान र अझ सिङ्गो लोकतन्त्रकै कार्यान्वयनमा ऐतिहासिक महत्व राख्ने भन्दै यो प्रधानमन्त्री वा सरकारको मात्र परीक्षा नभएको बताए । उनले भने, ‘बरु, यो सबै राजनीतिक दलको, लोकतन्त्रको र सिंगो राष्ट्रकै परीक्षा हो ।’

उनले अघि भने, ‘झण्डै बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराई छाड्ने घोषणा गर्दा मलाई कुनै अनिश्चय र संशय होइन, बरु गौरवबोध छ । बीस वर्षसम्म कसैले सोच्नसम्म हिम्मत नगरेको यो निर्वाचन गराइछाड्ने मेरो यो आँट र विश्वासको स्रोत जनता नै हो ।’

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको भन्दै उनले बिना संशय, बिना धक, बिना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन देशवासीलाई आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment