Comments Add Comment

दल दर्ता गरेको भन्दै मधेसी मोर्चाको बैठकमा अशोक राईलाई केरकार

१७ फागुन, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचन आयोगमा दल दर्ता नगर्ने निर्णय गरेको छ ।

तर, मोर्चामा आवद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले भने एमालेलाई उछिन्दै दल दर्ता गरेपछि मधेसी मोर्चामा खैलाबैला मच्चिएको छ । फोरमले आइतबार आयोगमा पुगेर दल दर्ता गराएको थियो ।

तमलोपा कार्यालय विजुलीबजारमा मंगलबार बसेको मधेसी मोर्चाको बैठकमा अन्य दलले फोरममाथि प्रश्न उठाए ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दल दर्ता भएको खबर आएको भन्दै कसरी यस्तो भयो भनेका थिए ।

लगतै फोरम गणतान्त्रिकका राजकिशोर यादवले भने फोरममाथि दोहोरो चरित्र देखाएको आरोप लगाए । संशोधन नभएसम्म चुनावमा भाग नलिने भन्दा भन्दै किन दल दर्ता गरेको भन्दै उनले कडा प्रश्न गरेका थिए ।

मधेसी मोर्चामा आवद्ध अधिकांश दलका नेताहरुले बैठकमा उपस्थित संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलाई दल दर्तालाई लिएर केरकार पारेका छन् ।

जवाफमा राईले भने यसबारे आफू समेत अनविज्ञ रहेको भन्दै के भएको रहेछ बुझ्ने र अर्को बैठकमा जानकारी दिने बताएको एक नेताले बताएका छन् ।

सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने निर्णयमा आफूहरु कायमै रहेको उनले बताए ।

निर्वाचन आयोगले दल दर्ताका लागि भोलि बुधबारसम्मको समय दिएको छ । यसअघि नै आयोगको क्षेत्रीय तथा जिल्ला कार्यालयमा दर्ता भएका दलहरुलाई केन्द्रमा दर्ताका लागि आयोगले तीन दिनको समय दिएर सूचना निकालेको छ ।

आयोगका अनुसार ११० दलले आफू क्रियाशील रहेको जिल्लामा दर्ता गराइसकेका छन् । र, कुनै दलले केन्द्रमा दर्ता नगरेपनि चुनाव लड्न रोक लाग्नेछैन ।

साथै मधेसी मोर्चामा आवद्ध सबै दल यो ११० दलमा पर्ने आयोग स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment