Comments Add Comment

यसकारण १३ सय आसपासबाट फर्कने गरेको छ नेप्से


१८ फागुन, काठमाडौं । नेप्से यसअघि जस्तै १३ सय बिन्दु मुनि पुगेर फेरी फर्किएको छ । नेप्से १२९९ बाट १७ अंकले बढेर १३१६ बिन्दुमा आइपुगेको छ ।
तर यस दिन कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ । मंगलबारको तुलनामा कारोबार रकम ३९ प्रतिशतले घटेर ३२ करोडमा सिमित भएको छ । यस दिन वित्त बाहेक अन्य सबै समूहको परिसूचक बढेको छ ।

सयको अंक मनोबैज्ञानिक तहको रुपमा लिइने कारणले मात्र नेप्से बढेको देखिदैन् ।

यस्ता छन् कारण:
१२५० देखि १२७५ बिन्दुको आसपास नेप्सेले एकभन्दा बढि पटक टेवा पाउँने गरेको छ । यसअघिसम्म यो टेवा बिन्दु दरिलो नदेखिएपनि यसै वर्ष पटक पटक यो बिन्दु आसपास नेप्से पुगेर फर्कने गरेकोले हाल यो बिन्दु दरिलो टेवाको रुपमा देखिएको भने छ । यद्यपी १३७० को आसपास पनि नेप्सेले पटक पटक प्रतिरोध पाउँने गरेकोले वृद्धि यो विन्दुमा पुगेर नेप्सेको वृद्धिमा भने ब्रेक लाग्ने वा सुस्ति आउने सम्भावना रहन्छ ।

‘सर्ट टर्म’ लगानीकर्ताहरुले यो बिन्दुलाई लगानीको लागि आधार बिन्दु बनाउने गरेका छन् । यसअघि पनि यो बिन्दुमा नेप्से आएपछि सेयर खरिद गर्ने र १३७५ को आसपासमा पुग्दा नाफा सुरक्षित गर्न थाल्ने प्रवृत्ति देखिदै आएको छ । तर, बजार जोखिममा आधारित हुने भएकोले सधै यही चक्र दोहोरिने अवस्था आएन भने जोखिमको सम्भावना रहने छ । यस बाहेक समग्र बजार बाहेक कम्पनीको मूल्यलाई प्रभाव पार्ने अन्य कारण पनि हुने भएकोले सर्तकता भने अपनाउँनु पर्छ ।

अघिल्लो पटक फागुन १ गते नेप्से १२५२ मा हुँदा छिमेक लघुवित्तमा लगानी गरेकाले १ साता अर्थात् फागुन ८ गते नेप्से १३६९ बिन्दुमा पुग्दा नै १९ प्रतिशतले नाफा प्राप्त गर्न सके । कम्पनीको ८ सय ९१ मूल्य थियो बढेर १०६० रुपैयाँ पुगेको थियो । प्रिमियर इन्स्योरेन्सको सेयरमा पनि साता दिनमा नै २९ प्रतिशतले वृद्धि देखिएको थियो ।

त्यस्तै, ग्लोबल आइएमइ बैंकको त्यसताका ३६३ सम्ममा किन्न पाइएको सेयर १३ प्रतिशत नाफा लिएर ४ सय १० रुपैयाँ सम्ममा बिक्री भएको देखिन्थ्यो । सेञ्चुरी, सानिमा, प्रभु मै पनि यही अवधिमा १० प्रतिशत नाफा देखिएको थियो ।

यसपटकको नयाँ कारण :

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ बाँडफाँट आगामी साताभित्र हुने खबरहरु आएकाले यसमा लगानी भएको ५२ अर्ब मध्ये केही रकम बजारमा फर्कने अपेक्षा पनि लगानीकर्तामा रहेको देखिन्छ । हरेक आवेदनमा नपरेर फिर्ता हुने मध्ये करीब २५ प्रतिशत रकम बजारमा आउँने अनुमान गरिन्छ । यसै आधारमा पनि बजारमा पैसा फर्कने अपेक्षा लगानीकर्तामा रहेको देखिन्छ ।

यद्यपी हालै युनाइटेड मोदी जलविद्युत्को प्राथमिक सेयर आउन लागेको र कतिपय कम्पनीको हकप्रद पनि पाइप लाइनमा रहेकोले यसपटक पनि २५ प्रतिशत नै पुँजी फर्कन्छ नै भन्ने आधार भने रहँदैन् ।

निक्षेपको व्याजदरमा सुधार नहुनु र सेयर धितो कर्जामा सहजता नआएकोले यसको प्रभाव भने रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment