Comments Add Comment

कोरियन भाषा परीक्षा कसरी पास गर्ने ? यी हुन् सजिला ८ टिप्स

फाइल तस्वीर

१९ फागुन, काठमाडौं । आगामी वर्ष कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत १० हजर २ सय नेपाली कामदार लैजाने गरी कोटा तोकेपछि धेरै युवाको ध्यान यता खिचिएको छ ।

पछिल्लो वर्ष कोरियाले सानो संख्यामा मात्रै नेपाली युवालाई अवसर दिएपछि कोरियन भाषा प्रशिक्षण केन्द्रहरुमा यो वर्ष पहिलेजस्तो चाप बढेको थिएन ।

तर, यो वर्ष कामदार कोटा ह्वात्तै बढेपछि कोरिया कोरिया जाने इच्छा त्यागेका धेरै युवा कोरियन भाषा सिक्न लागेका छन् ।

जेठको अन्तिम सातामा परीक्षा हुने भएकाले नयाँ विद्यार्थीलाई कोरियन भाषा पास गर्ने गरी तयारी गर्नु चुनौतिपूर्ण छ । पहिले पढेर छाडेकाहरुलाई भने पास हुने आशा अली बढी छ । तयारी गरिरहेकाहरु भने उत्साहित छन् ।

तर, कोरियन भाषा परीक्षा उर्त्तीण गर्नु कम्ता चुनौतिपूर्ण छैन । भाषा प्रशिक्षकहरु भने तयारी राम्रोसँग गर्ने हो भने अब बाँकी तीन महिना पनि पर्याप्त हुने बताउँछन् ।
यसका लागि विद्यार्थीमा जसरी पनि पास हुने संकल्पसहित निरन्तरको मिहेनत र केही स्पेशल आइडियाहरुको प्रयोग जरुरी पर्ने उनीहरुको भनाइ छ ।

कोरियन भाषाका प्रशिक्षक उमाकान्त सापकोटाले कोरियन भाषा परीक्षालाई सहजरुपमा स्वीकारेर कडा मिहेनत गर्न विद्यार्थीलाई सुझाव दिन्छन् । कोरियन भाषा परीक्षाको चुनौति पार लगाउने उपायसहितका टिप्स यस्ता छन्ः-

१. गतिलो इन्सिच्युट र प्रशिक्षक छान्नुस्

कोरियन भाषा तरिका लगाएएर पढ्ने र सिक्न खोज्नेका लागि यो छिचोल्नै नसकिने पहाड हैन । भाषा सिक्नका लागि कक्षा लिनु त अनिवार्यजस्तै छ । त्यसैले भाषा सिक्दा राम्रो इन्सिच्युट रोज्नु पनि विद्यार्थीको पहिलो बुद्धिमतापूर्ण निर्णय हुन्छ ।

दक्ष भाषा प्रशिक्षक र संस्थाको खोजी गर्नुपर्छ ।इन्सिच्युटमा कस्ता भाषा प्रशिक्षक छन् र यसअघि संस्थाको रिजल्ट कस्तो थियो भनेर सुरुमै खोजी गर्नुपर्छ । तोकिएको पाठ्यक्रममा पढाइ हुन्छ कि हुँदैन भनेर पनि याद गर्नुपर्छ ।

केहीइन्सिच्युटको नियत अहिले कमाउने मात्रै देखिँदा विद्यार्थीको समय र लगानी त्यसैखेर जाने पनि गरेको छ । त्यसैले उत्तम प्रशिक्षक भएको र पढाउँदा बढी प्राक्टिकलमा जोड दिने भाषा सिकाउने केन्द्रको पहिचान गर्नु विद्यार्थीको पहिलो काम हुन्छ । फेरि क्लासकै भरमा मात्रै भाषा परीक्षा पास भइन्छ भन्ने सोचियो भने त्यो मूर्खता हुन्छ । आफ्नो लगनशीलता नै त्यसपछिको मुख्य हतियार हो ।

२. बोल्नुस् , सुन्नुस्, युट्युब हेर्नुस्

कोरियन भाषामा ‘बाह्रखरी’ जस्तै सिक्नु पहिलो चरणको काम हो । त्यसपछि शब्दार्थ घोक्नतर्फ लाग्नुपर्छ । सुरु-सुरुमा शब्दार्थ नघोकी सुखै छैन ।

त्यसपछि भने अडियो सुन्ने र भाषा नै बोल्ने अभ्यास नै कोरियन सिक्ने सबैभन्दा सरल उपाय हो ।

भाषाका शब्दार्थलाई सम्झने वा घोक्नमा धेरै केन्दि्रत हुनैपर्छ । कोरियन भाषामा द्वीअर्थी शब्दहरुबारे पनि क्लियर हुनुपर्छ । कक्षामा पढेका विषयलाई बारम्बार दोहोर्‍याएर पढ्नुपर्छ ।

कोरियन भाषाका लागि परीक्षा आउनुअघिको दुई महिना सबैभन्दा महत्वपूर्ण हुन्छ । यो समयमा भाषामा निपुर्ण हुन सकियो भने पास गर्न निकै सहज हुन्छ ।

जुनसुकै समयमा पनि भाषा सिक्ने गरी तारतम्य मिलाउन सक्नुपर्छ । बसमा चढ्दा पनि कोरियन भाषाका मोबाइलमार्फत अडियोहरु सुनेर हिँड्नुपर्छ ।

टीभी हेर्दा पनि कोरियन फिल्महरु हेर्नुपर्छ । यसका लागि इन्टरनेटको पनि प्रयोग गर्न सकिन्छ । युट्युबमा पनि कोरियन भाषा सिक्ने विभिन्न भिडियो तथा अडियोहरु उपलब्ध हुन्छन् । कोरियन फिल्म तथा गीत सुनेर पनि भाषालाई सुधार्न सकिन्छ । अरुका अगाडि बोल्न लजाउनुभयो वा लुकाएर पढेर नै पास गर्छु भन्नुभयो भने तपाईं सफल हुन सक्नुहुन्न ।

तपाईं कोरियन भाषालाई जति धेरै दैनिकीमा प्रयोगमा ल्याउनुहुन्छ त्यो नै तपाईंको पास गर्ने धारिलो हतियार बन्ने छ । यसो गर्दा अरुलाई दिक्क चाहिँ नलागोस् भन्नेमा सचेत भने हुनैपर्छ ।

३. एप प्रयोग गर्नुस्

अहिले स्मार्टफोनमा मोबाइल एप्समार्फत पनि तपाईं कोरियन भाषा सिक्न सक्नुहुन्छ । कोरियन भाषाका विभिन्न एप्सहरु उपलब्ध छन् । त्यसलाई मोबाइलमा डाउनलोड गरेर सिक्न सकिन्छ । सबैभन्दा प्रभावकारी पनि यही नै हुनेछ । किनभने अभ्यासमा लागि यस्ता एप्सहरु निकै उपयोगी हुन्छन् ।

एपहरुमा विभिन्न किसिमका भाषा सिकाइका विधिहरु हुन्छन् । अभ्यासका लागि पनि त्यहाँ प्रशस्तै ‘कन्टेन्ट’ हुन्छन् । रमाइलो गर्दै भाषा सिकिने भएकाले यो गेम खेल्नुजस्तै हुनेछ ।

त्यसैले यस्ता एप डानलोड गर्नुस् र फुर्सदमा यसमा रमाउनुस् । भाषा सिक्न यो निकै उपयोगी हुन्छ ।

४. साथीभाइ र आफन्तको सहयोग लिनुस्

धेरैले कोरियन भाषा परीक्षामा सबैभन्दा अप्ठेरो सुनेर चिन्ह लगाउनुपर्ने परीक्षालाई मान्छन् । पर्याप्त सुन्ने र त्यसलाई मनन गर्ने अभ्यास अत्यावश्यक हुन्छ ।

विशेष गरी उच्चारण ख्याल गर्न नसक्दा धेरै विद्यार्थीहरु यसमा चुक्छन् । तर, विभिन्न माध्यमबाट कोरियन भाषा बोलेको सुनियो र हेरियो भने विस्तारै त्यसमा अभ्यस्त भइन्छ ।

घरमै पटक-पटक परीक्षाको ट्रायल गर्ने गरेमा पनि निकै सहज हुन्छ । भाषा परीक्षाकै तयारी गरिरहेको अर्को साथीसँग पालैपालो भाषा बोल्ने, सुन्ने र परीक्षा दिने अभ्यास गर्नुपर्छ । यसले पनि निकै सहयोग पुग्छ ।

आफ्ना साथी भाइ, आफन्तसँग पनि भेट्दा सकेसम्म कोरियन भाषा बोल्न प्रयास गर्नुपर्छ । यसका लागि साथीभाइ र अन्यको सहयोग पनि माग्न सकिन्छ ।

५. परीक्षाको पूर्वयोजना बनाउनुस्

कोरियन भाषा परीक्षाको पद्दतिबारे पनि तपाईं अपडेट हुनुपर्छ । कुनै कन्फ्युजनहरु छन् भने पहिले नै हटाउनुपर्छ । त्यसैअनुसार तपाईंले परीक्षाको पूर्वयोजना बनाउनुपर्छ ।

कोरियन भाषा परीक्षामा सबै प्रश्न अप्सनसहित हुन्छ । दुई सय अंकको परीक्षामा ५० प्रश्न सोधिन्छ । २५ वटा प्रश्न पढेर र बुझेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ ।
प्रश्नको र उत्तरका लागि फरक-फरक सीट दिइएको हुन्छ । २५ वटा प्रश्नको भने अडियो सुनेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ ।

कोरियन भाषा परीक्षाको परीक्षामा ५० प्रश्नको उत्तर ७० मिनेटभित्रै दिनुपर्छ । यही नै सबैभन्दा चुनौतिपूर्ण हुन्छ । तर, धेरैले हतार गरे उत्तर दिने गर्छन् ।

हतारले भन्दा पनि परीक्षामा होसले काम लिनुपर्छ । हतारमा जानेकै प्रश्नको उत्तर पनि गलत भइदिन सक्छ । हतारमा लतारपतार हुन नदिन विद्यार्थी निकै सजग हुनुपर्छ । यसको मतलब डराउने हैन । अत्माविश्वास लिएर चनाखो हुने बानीको विकास गर्नुपर्छ ।

यो परीक्षामा उत्तर लेख्नु नपर्ने भएकाले धेरै हतार गर्नुपर्दैन । तर, समयको ख्याल भने गर्नैपर्छ । चित्र हेरेर र संकेत चिनेर लेख्ने प्रश्नहरुमा विशेष चनाखो हुनुपर्छ । कतिपय अवस्थामा उत्तर निकै सजिलो भए पनि परीक्षार्थीलाई साना कुरामा दिमाख लगाउन लगाइएको हुन्छ । त्यसतर्फ आफूले निकै ध्यान पुर्‍याउनुपर्छ ।

बोल्ने, बुझ्ने, सुन्ने र लगातार अभ्यास गर्नेलाई परीक्षामा कम्तिमा ४५ वटा प्रश्नको उत्तर मिलाउन ठूलो कठिनाइ पर्दैन । तर, यी कुनैमध्ये एउटा पक्षमा मात्रै कमजोर भए परीक्षा बिग्रन सक्छ ।

६. सम्भावित कन्फ्युनलाई अभ्यासले चिर्नुस्

त्यसैले यो भाषा परीक्षाको तयारीलाई ब्यवहारिक बनाउनुपर्छ । कण्ठ गर्नेले मात्रै भाषा परीक्षा पास गर्नै सक्दैन । भाषालाई सुनेर बुझ्ने अनि नहडबडाई उत्तर ‘क्याच’ गर्न सक्नु नै महत्वपूर्ण हुन्छ ।

अर्को महत्वपूर्ण कुरा, परीक्षामा प्रश्नको उत्तरको संरचना र बनोट लगभग एकै प्रकृतिको हुन्छ । विशेष ‘लिसनिङ’मा उस्तै उस्तै उच्चारण भएका शब्दसहित उत्तरहरु राखिन्छ । त्यसले नै परीक्षार्थीलाई धेरै कन्फ्युज गर्छ ।

त्यसैले त्यस्तै मोडलमा सुन्ने र बुझ्ने अभ्यास परीक्षा पूर्व नै मज्जाले गर्नुपर्छ । परीक्षामा हुन सक्ने कन्फ्युजनलाई अभ्यासबाटै चिर्नुपर्छ । यसका लागि भाषा प्रशिक्षकसँग सहयोग माग्न सकिन्छ । आइडिया लिन भाषा गुरुसँग समय माग्ने र पाएको समयमा त्यसलाई भरपुर उपयोग गर्ने गर्नुपर्छ ।

एउटै प्रश्नमा धेरैबेर अल्भिmनु पनि उपयुक्त हुँदैन । पछि समयको अभावले जानेको प्रश्नको उत्तर पनि बिग्रने खतरा हुन्छ ।

७. चिटिङको मानसिकता त्याग्नुस्

भाषा परीक्षामा छेउछाउमा बसेकाबाट चिटिङ गर्छु भन्ने मानसिकताले फेल मात्रै गराउँछ । कुनैपनि तरिकाले चिटिङ गर्छु भन्ने सोच्नुभएको छ भने त्यसलाई त्याग गर्नुभए हुन्छ ।

कोरियाकै मानव संशाधन विभागले परीक्षामा सीट सेटिङ गर्छ । एउटै ‘रो’ र बेञ्चमा बसेकालाई पनि प्रश्न नम्बर फरक-फरक पारेर प्रश्नपत्र वितरण गरिएको हुन्छ ।

समग्रमा एउटै प्रश्नहरु राखिए पनि प्रश्न नम्बरहरु फरक-फरक राखिएको हुन्छ । परीक्षामा पनि निकै कसिलो ब्यवस्थापन गरिएको हुन्छ । त्यसैले चिटिङको कुनै सम्भावना नै हुँदैन । यसैलाई आत्मसात गरेर परीक्षाको तयारी गर्नुपर्छ ।

कोरियाले कम्प्युटर प्रणालीबाट कपी जाँच्ने भएकाले कसैलाई आर्थिक प्रलोभनमा पारेर भाषा परीक्षा पास हुन सकिँदैन ।

८. काम र पढाइ नछाड्नुस्, ब्यवस्थापन गर्नुस्

भाषा परीक्षामा अहिलेसम्मको नतिजालाई केलाउने हो भने २३ देखि ३० वर्षसम्मका युवाले बढी भाषा परीक्षा पास गर्न सकका छन् । कुनै समयमा थोरै प्रश्न मिलाए पनि पास हुने अवस्था थियो । अहिले भने त्यो अवस्था फिटिक्कै छैन । त्यसैले तयारीलाई बेतोड गर्नुपर्छ । भाषा परीक्षा पास गर्ने धुनमा सबैथोक छाडेर लाग्नुपनि उपयुक्त होइन ।

भाषा परीक्षा पास भएका सबैले कोरिया जान पाउँदैनन् । त्यसैले आफ्नो काम र पढाईलाई ब्यवस्थापन गर्दै भाषा बढ्नुपर्छ । यसलाई छाडेर पढ्ने धेरैले पछि भिसा नआउँदा समस्या भोगेका छन् ।

लगातारको मिहेनत त पास हुनका लागि लागि आवश्य पर्छ नै, तर बुद्धिमतापूर्ण रुपमा भाषाको अभ्यास गर्ने र दैनिकीलाई नै सिक्ने अवसर बनाउने सीप भएकाहरुलाई पास गर्न बिघ्न अप्ठेरो पर्नेछैन ।

परीक्षाको तयारी गर्ने सबैलाई शुभकामना ।

प्रस्तुतीः रबिन्द्र घिमिरे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment