Comments Add Comment

रोजगारीका लागि कोरिया जानुअघि बुझ्नैपर्ने कुरा

दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट ईपीएसमार्फत लैजाने कामदारको कोटामा वृद्धि गर्दै १० हजार २ सय पुर्‍याएको छ । कोटा वृद्धि भएसँगै धेरै नेपाली युवाको कोरियाको रोजगार बजारमा जाने आकांक्षा बढेको छ ।

त्यसो त कोटा बढ्नु र भाषा परीक्षा उत्तीर्ण हुनु नै कोरिया जाने ग्यारेण्टी हैन । तर, कोटा वृद्धिले नेपालीहरु कामदारको रुपमा उल्लेख्य संख्यामा कोरिया पुग्ने अनुमान गरिएको छ ।

कोरियामा साना तथा मझौला कम्पनीहरुमा कामदार अभावलाई हटाउन २००४ को अगष्टबाट प्रवासी कामदार भित्र्याउने ईपीएस प्रणालीको सुरुवात भएको हो । ईपीएस प्रणाली कोरियाली सरकारको विशिष्ट व्यवस्था हो, जसअन्तर्गत जीटुजी अर्थात् कोरिया र कामदार पठाउने देशको सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएर प्रवासी कामदार भित्र्याइन्छ । यसमा कामदार छनोट तथा पठाउने कार्यमा निजी क्षेत्रको कुनै सहभागिता रहादैन ।

छनोट प्रणालीको पारदर्शिता तथा स्वदेशी तथा प्रवासी कामदार दुवैलाई समान कानुन यो पद्धतिको विशिष्ट पहिचान हो ।

कोरियामा ईपीएस प्रणाली अन्तर्गत कामदारको रुपमा जानेले सुरुमा तीन वर्षको भीसा प्राप्त गर्छन् । रोजगारदाताले चाहेमा थप एक वर्ष १० महिनाको अवधि काम गर्न पाइन्छ । भीसा अवधि सकिएपछि प्रवासी कामदारहरु स्वदेश फर्कियून् र वैधानिक बाटोबाट पुनः कोरिया प्रवेश गरुन् भनेर कोरियाले विशेष व्यवस्था गरेको छ । त्यस अन्तर्गत चार वर्ष १० महिनाको पूरा अवधि लगातार एउटै कम्पनीमा काम गरी भीसा अवधि सकिनुअघि स्वदेश फर्केको कामदार स्वदेश फर्केको तीन महिनाभित्र प्रतिबद्ध कामदारको रुपमा पुनः कोरियामा प्रवेश हुन सक्नेछन् ।

सुरुको तीन वर्षको अवधिमा कम्पनी परिवर्तन गरे पनि थपिएको एक वर्ष १० महिनाको करार सकिनु अगावै स्वदेश फर्केको कामदार (३९ वर्षभित्रको) लाई सीबीटी (कम्प्युटरमा आधारित परीक्षा) उत्तीर्ण गरेमा स्वदेश फर्केको ६ महिनाभित्र पुनः कोरिया प्रवेश गर्न सकिने प्रावधान रहेको छ । यसैले पुनः कोरिया प्रवेश गर्ने नेपाली कामदारहरुको संख्या पनि  उत्साहजनक छ ।

कोरियामा नेपालीहरु मूलतः सवारी साधनका पार्टपुर्जा बनाउने, वेल्डिङ गर्ने, ग्रिन्डिङ गर्ने, कलर गर्ने जस्ता औद्योगिक काम, उत्पादनमूलक कारखाना तथा कृषि क्षेत्रमा कार्यरत छन् ।  कोरियामा मासिक तलब नेपाली रुपैयाँ एक लाखभन्दा केही बढी हुन्छ भने ओभरटाइम पनि भएमा डेढ गुणा बढी रकम प्राप्त गर्न सकिन्छ । कतिपय नेपाली कामदारले मासिक दुई लाख रुपैयाँभन्दा बढी कमाउाछन् । अधिकांश कम्पनीले खाने र बस्ने सुविधा उपलब्ध गराउँछन् ।

यस्तो राम्रो तलब-सुविधा भएकोले कोरिया नेपाली कामदारहरुका लागि आकर्षक गन्तव्य बनेको छ । तर, आकर्षक गन्तव्यमा काम गर्न जाँदा चुनौती पनि कम छैन । हालका दिनमा नेपालीहरुमा दुर्घटना, मृत्यु तथा बिरामी पर्ने जस्ता समस्या देखिएका छन् ।

कोरियामा कामदारको रुपमा प्रवेश गर्नुअघि त्यसबारेमा केही जानकारी लिइराख्नु उपयुक्त हुन्छ । मेरो अनुभवको आधारमा निम्न विषय प्रस्तुत गरेको छुः

१) कोरियामा कारखानाहरुमा दिन र रात दुवै सिफ्टमा काम हुन्छ । त्यसैले प्रायः कम्पनीमा आलोपालो मिलाई सात दिन दिउँसो तथा सात दिन राति काम गर्नुपर्ने हुन्छ । अधिकांश कम्पनीमा चार-पाँच घण्टा ओभरटाइम अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । काममा लापरवाही वा ढिलाइ गरेमा रोजगारीमा समस्या पर्ने भएकोले कोरियामा कामदारको रुपमा जानेले म श्रम गर्न जाने हो र जुनसुकै समयमा श्रम गर्न तयार हुनुपर्छ भनेर बुझ्नु जरुरी छ ।

२) कोरियामा उत्पादनमूलक क्षेत्रमा अधिकांश फलाम घोट्ने, पगाल्ने, पिट्ने, रिसाइक्लिङ गर्ने कारखानाका साथै कृषि क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । कृषिमा खासगरी मिनारी (एक प्रकारको साग टिप्ने), च्याउ खेती, विभिन्न तरकारी तथा फलफूल उत्पादन पर्छन् । यस्तै, पशुपालनतर्फ गाई फार्म, सुंगुर फार्म, घोडा फार्म लगायत कुखुरा पालनतर्फ समेत काम गर्नुपर्ने हुन्छ । कोरियामा कामदारका रुपमा जानेले मैले यति पढेको छु, यसैले मैले सामान्य काम गर्नु हुन्न, मैले बंगुर छुन सक्दिनँ, घोडा छुन हुन्न जस्ता भावना राख्नु हुन्न । ती सबै कुरा बिर्सेर म मिहिनेती छु र लगनशील भएर काम गर्नेछु भन्ने कुरा मनमा राख्नु जरुरी छ ।

३) कोरियाको कृषि क्षेत्र अत्यन्तै उन्नत तथा आधुनिक भएकोले एउटै गाई तथा बंगुर फार्ममा हजारौं गाई तथा बंगुर पालन गरिएको हुन्छ । धेरै काम मेसिनले गर्ने भएकोले कामदारहरुको संख्या न्यून हुने गर्छ । प्रवासी कामदारले काम गर्ने ठाउा प्रायः साना तथा मझौला कम्पनीहरु हुन्, जसमा एक जनादेखि ३० जना वा केहीमा ५० जनासम्म कामदार हुन्छन् । कतिपय कम्पनीमा एक जना मात्र कामदार रहने अवस्था पनि हुने भएकोले तथा कतिपय कम्पनीहरु अति सुदूर तथा एकान्त स्थानमा हुने भएकोले म एक्लै पनि काम गर्न तयार छु भनेर बुझन जरुरी छ ।

४) कोरियाली रोजगारदाताहरु कामलाई माया गर्छन् । अर्थात् मिहिनेती मान्छेको इज्जत गर्छन् । तपाईं जति राम्रो काम गर्नुहुन्छ, त्यति नै माया पाउनुहुन्छ । यसको विपरीत, काम नगर्नेहरु सधैं समस्यामा पर्छन् । त्यसैले कोरियामा मेरो सबैभन्दा ठूलो पुँजी नै श्रम हो भन्ने बुझनु जरुरी छ । कोरियाली उद्योग तथा कृषि क्षेत्र अत्यन्तै उन्नत तथा उदाहरणीय भएकोले कोरियामा आफूले सिकेको सीप तथा ज्ञानलाई भविष्यमा स्वदेश फर्केर उपयोग गर्नेतर्फ पनि विचार पुर्‍याउनु जरुरी छ । अर्थात् म सधैं कोरिया बस्ने होइन, फर्केर स्वदेशमा व्यवसाय गर्नेछु भनेर आफूलाई मानसिक रुपमा तयार पार्नुपर्छ ।

५) कोरियामा कतिपय नेपाली कामदारहरु नेपालमा बिरामी भई औषधि उपचार गराइरहेको अवस्थामा कोरिया पुग्दा समस्यामा पर्ने गर्छन् । खासगरी मानसिक रोग वा डिप्रेसनका बिरामीहरु समेत कोरिया जाँदा एक्लो महसुस भई झन् बिरामी परेको पाएको छु । कुनै रोगको उपचार गराइराखिएको छ भने चिकित्सकको सल्लाह अनुसार मात्र कोरियाको यात्रा तय गर्नु उपयुक्त हुन्छ । यस्तो बिषयमा स्वयम् व्यक्ति तथा निजको अभिभावकहरुले विचार पुर्‍याउनु जरुरी छ ।

६) कोरियामा पुगेपछि सुरुमा नै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था छ । लागूपदार्थ सेवन गर्दै गरेकाहरुलाई प्रारम्भिक जाँचबाट नै (पिसाब) पत्ता लगाई फिर्ता गर्ने गरिएको पाएको छु । कतिपयलाई डिटेन्सन सेन्टरमा समेत राखिन्छ । लागूपदार्थको प्रयोग गरेमा कोरियाली कानूनमा कडा व्यवस्था रहेकोले यसतर्फ सचेत हुन आवश्यक छ ।

७) कोरियामा पुगेपछि दुई दिनको तालिम लिएपछि कम्पनीमा काम गर्न लगिन्छ । कम्पनीमा पुगेपछि आफूले सम्पादन गर्नुपर्ने काम तथा सञ्चालन गर्नुपर्ने मेसिनको बारेमा राम्रोसाग जानकारी लिएर मात्र काम थाल्नुपर्छ । अति तीव्र गतिमा सञ्चालन हुने मेसिनमा काम गर्दा औद्योगिक दुर्घटना भई अंगभंग हुने तथा ज्यान समेत हुने सम्भावना रहन्छ । सन् २०१६ मा करिब १० जना नेपालीको औद्यौगिक दुर्घटनामा अंगभंग भएको थियो भने तीन जनाको मृत्यु भएको थियो । प्रायः दुर्घटना कामदारले काम सुरु गरेकै अवस्थामा भएको पाइएको छ, ।

८) कोरियामा कामदारहरुलाई नेपालमा जस्तो बिदाको व्यवस्था छैन । हप्तामा ६ दिन काम गर्नैपर्छ । कामको चाप भएको अवस्थामा बिदाको दिन (आइतबार) पनि काम गर्नुपर्ने हुन्छ  र त्यस वापत उचित पारिश्रमिक पाइन्छ । घर बिदामा आउँदा पनि कम्पनीसाग तालमेल मिलाएर मात्र आउन पाइन्छ । बिदामा घर आउँदाको अवधिको तलब-भत्ता वा भाडा केही पनि पाइँदैन ।

९) कोरियामा प्रत्येक कम्पनीले प्रत्येक महिना कामदारको तलबको ८.३३ प्रतिशतले हुन आउने रकम बिमा कम्पनीमा बोनसको रुपमा जम्मा गरिदिन्छ । उक्त रकम एकमुष्ठ रुपमा भीसा अवधि सकेर नेपाल फर्कँदा एयरपोर्टमा अध्यागमन पार गरेपछि वा नेपाल फर्केपछि मात्र पाइन्छ । कुनै एक कम्पनीमा एक वर्षभन्दा कम काम गरेको खण्डमा बोनस (थेजिगम) पाइँदैन । तर, एक वर्षभन्दा बढी काम गरेमा दामासाहीले पाइन्छ । कोरियामा व्याख्या गर्न सकिने कारणमा बाहेक रोजगारदाताको अनुमति बिना पाँच दिनभन्दा बढी समय अनुपस्थित भएमा कामबाट निष्कान भई अवैधानिक हुने सम्भावना रहन्छ ।

१०) कोरिया प्रवेश गर्नासाथ तालिम केन्द्रमा दुई दिनको अभिमुखीकरण तालिमपछि स्वास्थ्य परीक्षण गर्ने, दुर्घटना बिमा वापतको रकम सामसुङ बिमा कम्पनीमा जम्मा गर्ने तथा ९० दिनभित्र कोरियन अध्यागमन कार्यालयबाट प्रवासी बसाइ कार्ड बनाइसक्नुपर्छ । कोरियामा आफ्नो राहदानी तथा बैंक बुक कसैलाई दिनुपर्दैन, आफैंसाग सुरक्षित रुपमा राख्नुपर्छ । नेपालमा पैसा पठाउादा बैंक मार्फत मात्र पठाउनुहुन पनि मेरो सुझाव छ ।

११) कोरियामा नेपालीहरुले भोग्नुपर्ने प्रमुख समस्या भाषा हो । त्यसकारण भाषामा दक्ष हुन सकेमा कोरियामा काम गर्न सहज हुन जान्छ । कोरिया जानु अगाडि कोरियाको सामाजिक, सांस्कृतिक तथा औद्यौगिक क्षेत्रका ज्ञान यथेष्ट रुपमा अध्ययन गरेमा राम्रो हुन्छ । यसका साथै आफूले त्यहाँ पुगेर कस्तो काम गर्नुपर्ने हो र त्यो काम गर्न आफू सक्षम छ कि छैन भन्ने विचार गर्नु आवश्यक छ । यसतर्फ अभिभावकले समेत ख्याल गर्नुपर्छ । यति कुरामा ध्यान दिएर कोरिया प्रवेश गरेमा बसाइ सुखद र सहज हुनेछ ।

(गुरुङ दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका पूर्व श्रम सहचारी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment