Comments Add Comment

मान्यजनलाई ढोग्दा लाज लाग्ने, नागाबाबा ढोग्दा रमाउने ?

शिवरात्रिको दिन टेलिभिजनहरुले पशुपतिनाथ मन्दिरको दृश्य लाइभ गरिरहेका थिए । अनलाइन पोर्टलहरुमा पनि समाचार आइरहेका थिए । पशुपतिमा रहेका नागाबाबाहरुको नानाथरी फोटो यत्रतत्र देखेँ ।

साढे तीन वर्षको छोराले त्यस्तो फोटो देख्ला भन्ने पीरले बन्द गर्दै थिएँ, छेउमै बसेको छोराले देखेर सोधिहाल्यो, ‘त्यो बाबाजी किन नाना नलगाई बसेको मम्मी ? बाबाजीलाई लाज लाग्दैन र ?’

छोराको प्रश्नको जवाफ थिएन । इन्टरनेट बन्द गरेर कुरा अन्तै मोड्न थालेँ । तर, उसले झटपट हजुरआमालाई सुनाइहाल्यो, ‘अघि कम्युटरमा हेर्दा एउटा बाबाजी त नाङ्गै थियो हजुरआमा, छिः नाना नै नलगाएको ।’

फोटोमा नाङ्गा बाबाजी जिउभरि खरानी घसेर उभिएका थिए, शरीरमा एकधरो लुगा थिएन । लाइनमा उभिएका महिलाहरु उनको गोडामा ढोगिरहेका देखिन्थे । बाबाजी कुनै शरम नमानी सानका साथ आशीर्वाद दिँदै थिए ।
महाशिवरात्रि हिन्दुहरूले भगवान शिवको आराधना गर्ने मुख्य चाड हो । शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण भएको यो पर्वको आफ्नै महिमा छ । चार प्रमुख रात्रिमध्ये पर्ने शिवरात्रिको वर्णन पुराणहरूमा उल्लेख छ । तर, नागा बाबाहरुको कतै पनि उल्लेख गरिएको छैन ।

शिवजीको पवित्र दिनमा उपवास बसी उनको पि्रय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने भनिए पनि शिवबुटीको नाममा लागूऔषध प्रयोग गर्नेहरुको जमात बढी नै छ । तर, न लागूऔषधको प्रयोग गर्नेमाथि रोक लगाइन्छ, न त नाङ्गिएर धर्मको नाममा बर्सेनि पशुपतिनाथमा भित्रिने बावाजीहरुमाथि निगरानी गरिन्छ । दुवै कुरालाई हामीले संस्कृतिको नाममा छुट दिँदै आएका छौं ।

शिवरात्रिको दिन कति महिला दिदीबहिनीहरुले साना बालबच्चा लिएर पशुपतिनाथको दर्शन गर्न गए होलान् । अबोध बच्चाहरुले जब नागा बाबाजीहरु देखेर आमा र दिदीहरुलाई प्रश्न सोधे होला, जवाफ दिन पंक्तिकारलाई जस्तै गाह्रो पर्‍यो होला ।

हामीले टोलका गल्लीमा मानसिक असन्तुलन गुमाएकाहरु नाङ्गै हिँडेको देख्छौं । त्यस्ता मान्छे देख्दा पागललाई के भन्ने भनेर आफ्नो बाटो लाग्छौं । तर, सद्दे मान्छे धर्म र संस्कृतिको आवरणमा नाङ्गिएर पवित्र स्थलमा बर्सेनि तमासा देखाइरहँदा पनि प्रशासनले केही गर्ने आवश्यकता देख्दैन । यस्तो किन ? त्यस्ता साधुको गोडामा ढोग्ने हाम्रा दिदीबहिनी र आमाहरुलाई पनि किन शरम नलागेको होला ?

यस्ता निर्लज्ज नागाबाबाहरुको कारण कतिपय महिलाहरु शिवरात्रिमा पशुपतिनाथ जान नसकेको गुनासो सुन्ने गरिन्छ । छिमेकी भाउजूले गत वर्ष मन्दिर परिसरमा छिर्दा नागाबाबाहरु देख्नुपरेपछि यस पटक बाहिरबाटै दर्शन गरेर फर्किएको बताइन् । आठ वर्षको छोराको बारेमा उनले गुनासो गरिन्, ‘उसलाई लिएर गएपछि त्यो हविगत देख्छ अनि घरमा आएर पशुपतिमा त बाबाजीहरु नाङ्गै बस्दा रै’छन्, बाबा र हजुरबाहरु चाहिँ किन लुगा लगाउनुुहुन्छ भनेर सोध्यो भने के गर्ने ?

अधिकार र संस्कृतिको पुनरावलोकनको वकालत गर्ने महिला अधिकारकर्मीहरुको समेत यसमा कहिल्यै आवाज सुन्न पाइएको छैन । नाङ्गिनु कुनै पनि शर्तमा जायज कुरा हैन । संस्कृतिको नाममा नाङ्गिनुु त झन् संस्कृतिकै अपव्याख्या मात्र हो । समाजमा बसेपछि निश्चित दायरामा रहेर मर्यादा ख्याल गर्नुपर्छ ।

संस्कार र संस्कृति के हो र यसको जगेर्ना कसरी गर्ने भन्ने कुराको बहस एकातिर होला । तर, हाम्रो धार्मिक र सांस्कृतिक आस्थामै सन्देह हुने गरी कुनै पनि अशोभनीय हर्कत मञ्जुर हुन सक्दैन । धार्मिक परिसरमा यस्ता नागाबाबालाई रमिता देखाउन छुट दिइए पनि मन्दिर पुग्ने दर्शनार्थी महिलाहरुले ती सबै देख्नु र शरम मान्नु नपरोस् ।
प्रकृतिले छुट्याइदिएको मान्छेको दुई जात छ, महिला र पुरुष । म यस्तो हुँ भनेर नाङ्गिएर देखाउन कुनै बहानामा आवश्यक पर्दैनथ्यो । यस्तो हर्कत भइसकेपछि पनि यसमाथि केही निगरानी गर्न त पक्कै सकिन्थ्यो होला, तर त्यसतर्फ पहल हुन सकेन ।

छिमेकी देशबाट आएका बाबाजीहरुलाई शिवरात्रि सकिएपछि दक्षिणा दिँदै ससम्मान बिदा गर्ने गरिन्छ । त्यो बेला अर्को वर्षको शिवरात्रिमा यस्तो हुलियामा नआउन आग्रह गर्न सकिन्थ्यो हेला । पशुपति क्षेत्र विकास कोष छ, संस्कृतिको वकालत गर्ने विभिन्न निकायहरु छन् । तर, आजसम्म नागाबाबाहरुको बारेमा कसैले बोलेको पाइएन । आफन्तको साथमा मन्दिर पुगेका भक्तजनहरुले नागाबाबा देखेर शिर निहुराउनु र लाजले रातोपिरो बन्नु नपरोस् भनेर कोसँग गुनासो गर्ने ?

संस्कृति र संस्कारको नाममा जे-जति कुरीतिले निरन्तरता पाएका छन्, त्यस्ता कदमको विरोध गर्नैपर्छ । पुण्य प्राप्तिका लागि नागा बाबाको गोडा ढोगेर हामी कतै पुग्दैनौं

हाम्रा दिदीबहिनीहरु नागाबाबाको गोडामा शिर झुकाएर ढोग्दा पुण्य मिलेको आभाष गर्छौं । निकै खुसी हुन्छौं । तर, आफन्त र मान्यजनको गोडामा ढोग्दा हेपिएको, दबिएको र संस्कृतिको नाममा विभेद खेप्नुपरेको ठान्छौं । हाम्रो कुन धर्मग्रन्थमा नाङ्गिएका बाबाजीको गोडामा महिलाले ढोग्नुपर्छ भन्ने उल्लेख गरिएको छ ?

केही समयअघि अनलाइनखबरमा ‘मैले सासूको गोडा किन ढोग्ने ?’ सम्बन्धमा मेरो लेख प्रकाशित भयो । त्यो लेख हाम्रा धेरै आधुनिक महिलाहरुलाई निकै मन परेछ । उहाँहरुको मनमा वर्षौंदेखि गुम्सिएको भावना पोख्ने ठाउँ कतै नपाएको अवस्थामा त्यो लेख भावना बिसाउने ठाउँ नै साबित भयो भन्दा फरक पर्दैन । त्यो लेख पढिसकेर प्रतिउत्तर प्रकाशित गरेपछि पंक्तिकारमाथि आधुनिक-शिक्षित शहरिया महिलाहरु यसरी खनिनुभयो, त्यसको बयान शब्दमा गरिसाध्य छैन ।

सासूलाई पात्र मात्र बनाइएको लेखको आशय अनेक कोणबाट लगाइयो । अहिलेका सासूहरु त्यति अबुझ र बुहारी दलाउने खालका पक्कै पनि छैनन् । पहिले के-कस्तो थियो, समाज कसरी चलेको थियो भन्ने कुरा अहिले हाम्रो लागि इतिहास बनिसके । त्यो इतिहासको सम्मान गर्दै हामी आफू सुधि्रने कि त्यही पुरानै ढर्रामा टेकेर गालीगलौज र टीकाटिप्पणी गर्ने ?

कोही व्यक्तिले आफूभन्दा माथिल्लो तहको पदाधिकारी, मान्यजन र नातागोता कोही कसैलाई सम्बोधन गर्दा, सम्मान गर्दा, सद्भाव राख्दा कसैको पनि इज्जत र प्रतिष्ठा गिर्दैन । हामी यिनै कुरामा आफ्नो अधिकार र हैसियत दाँजेर ठूलो बन्न खोज्छौं । समाजका गन्यमान्य महिलाहरुले स्वस्थानी व्रतकथाको उछित्तो काड्छन् । उनीहरु स्वस्थानी व्रतकथामा महिलाहरु हेपिएका, बालविवाह र अनमेल विवाह गरेका, महिला हिंसाका कथाहरुलाई धर्म र संस्कारको नाममा पढाइन्छ भन्दै सार्वजनिक रुपमा कडि्कन्छन् ।

स्वस्थानी व्रतकथा अहिलेको २१औं शताब्दीमा, गणतन्त्र आइसकेको देशका हाम्रा सभासदले सविधानसभामा लेखेका पक्कै होइनन् । त्यसमा तत्कालीन समयको इतिहास बोलिएको छ । अहिले हामी त्यसको खण्डन गर्दै ७० वर्षका शिव शर्मा ब्राहृमणलाई बालविवाह र अनमेल विवाहको मुद्दामा किन सजाय दिलाइएन भनेर सोध्छौं । जालन्धरकी पत्नीको सतित्व हरण गर्ने विष्णुलाई किन सजाय गरिएन भन्दै वकालत गर्छौं ।

स्वस्थानी मात्रै होइन, धेरै धार्मिक ग्रन्थहरुमा महिलाको भूमिका तत्कालीन समयमा गौण देखाइएको छ । त्यसलाई तत्कालीन समाजको ऐना भनेर बुझ्नुपर्ने हुन्छ ।

कतिपय चेतनशील महिलाहरु स्वस्थानीको प्रसाद छोरालाई मात्र खुवाउनु भनियो, छोरीको महत्व दर्शाइएन भन्ने गुनासो गर्छन् । तिनै महिलाहरु अहिलेको जमानामा छोरा पाउन कति छोरीको गर्भमै हत्या गर्न सहयोगी बन्छन् । यस्तो अवस्थामा त्यो बेलामा यस्तो किन भएन, त्यस्तो किन भयो भन्ने वादविवाद गरेर कसलाई फाइदा होला ? हामीले त इतिहासबाट वर्तमानमा पाठ सिक्न सक्नुपर्छ । पुराना कुरीति र कुप्रथाको विरोध मात्रै नगरी त्यसलाई सच्याउँदै जानुपर्छ ।

हाम्रा कुनै धार्मिक ग्रन्थमा महिलाहरु महिनावारी हुनुलाई पाप भनिएको छैन । महिलाले छोएकै कारण भगवान् रिसाउने पनि भनिएको छैन । तर, सुदूरपश्चिम भेगका महिलाहरुलाई अहिले पनि छाउघरमा राख्ने प्रचलन छ । यो संस्कृति होइन, कुप्रथाको निरन्तरता हो । अहिले सरकारले ऐन बनाएरै त्यो प्रथालाई निरुत्साहित गर्ने जमर्को गरेको छ । छोरीले काजक्रिया गर्न हुँदैन भनिथ्यो, पछिल्लो समय गर्न थालेका छन् । महिला मलामी जान हँुदैन भनिथ्यो, जान थालेका छन् । सतिप्रथाको अन्त्य भइसकेको छ ।

समाजमा सबै कुरा एकैपटक टपक्क टिपेर राख्दैमा परिवर्तन हुँदैन । तर, संस्कृति र संस्कारको नाममा जे-जति कुरीतिले निरन्तरता पाएका छन्, त्यस्ता कदमको विरोध गर्नैपर्छ । पुण्य प्राप्तिका लागि नागा बाबाको गोडा ढोगेर हामी कतै पुग्दैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment