Comments Add Comment

इजरायलले माग्यो थप नेपाली कामदार, आवेदन खुला


२२ फागुन, काठमाडौं । इजरायलले फेरि थप ६० जना नेपाली कामदार लैजाने भएको छ । पहिलो चरणमा ५९ जना केयर गिभर लगेको इजरायलले लामो समयको अन्यौलतापछि दोस्रो चरणमा कामदार लैजान लागेको हो ।

५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग वैदेशिक रोजगार विभागले आवेदन मागेको छ । आगामी चैत ९ गतेसम्म आवेदन गर्नेमध्ये ६० जना इजरायल जान पाउनेछन् ।

पहिलो चरणमा छानिनेको भाषा परीक्षा पनि हुनेछ । योग्यता पुगेका इच्छुकले वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर शाखामा इच्छुकले आवेदन गर्न सक्नेछन् ।

शारिरिकरुपमा पनि स्वस्थ केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्ने विभागले जनाएको छ । छनोट भएका आवेदकले इजरायल पुगेपछि वृद्ध, अपाङ्ग तथा अशक्तको स्याहार सुसार गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तौल कम्तिमा ४५ केजी भएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका, उचाइ कम्तिमा ५ फिट भएका, र कम्तिमा एसएलसी पास भएकाले इजरायली भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट मान्यताप्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको केयर गिभर तालीम वा प्राक्टिकल नर्सिङ सफलतापूर्वक पूरा गरेको प्रमाणपत्र पनि आवश्यक पर्नेछ ।

यसअघि इजरायल पुगेकाले यसका लागि आवेदन दिन पाउने छैनन् । आवेदकले इण्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान गरेको हुनुपर्ने र पूर्णरूपमा स्वस्थ भएको हुनुपर्ने विभागले निकालेको सूचनामा उल्लेख छ ।

आवेदकले निवेदन दिँदा प्रहरी प्रतिवेदन, नागरिकता तथा राहदानीको फोटोकपी, २ पिपी साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, तालीमका प्रमाणपत्र पेश गर्नुपर्नेछ । इजरायल जाँदा कल्याणकारी कोष, बीमा, स्वास्थ्य परीक्षण तथा हवाई टिकटको सबै खर्च कामदारले नै बेहोर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment