+
+

कर्णालीका हर्के र धनुषाका मुसहरलाई लोकतन्त्र आएन

तुल खड्का तुल खड्का
२०७३ फागुन २३ गते १६:५३

अनेकतामा एकता, होस्टेमा हैंसे, नेपाली समाजको असाधारण मौलिक पहिचान र विशेषता हो । हामी देशको शासन प्रणालीमा आमूल परिवर्तन गरेर संघात्मक राज्यमा जान उद्धत छौं । हामी अधिले संवैधानिक रुपमा संघात्मक राज्यका रुपमा दर्ज छौं । हिजो भन्दा आज, आज भन्दा भोलि दिन प्रतिदिन हाम्रा सामाजिक बन्धनहरु भत्किँदैछन् र समाजमा असहिष्णु व्यवहारका छिद्र देखिन थालेका छन् ।

एकात्मक शासन प्रणालीमा रमाइरहेका हामीले संघात्मकमा जान अथक प्रयास त गरेका छौं, तर सामाजिक प्रतिमाहरु भत्किँदैछन् कि त्यतातर्फ ध्यान दिन सकेका छैनाैं । संघीयताको पर्याप्त प्रयास गर्‍यौं तर त्यसका लागि चाहिने आधारभूत संरचना, आधार र भावनात्मक पक्षलाई बलियो बनाउन सकेनौँ ।

हामी स्टेट नेशन हो, किनकि हामीसँग बहुरुपी संस्कार र सभ्यता छन् । संघीयताको ट्रयाक खोलिसक्नै लाग्दा सामाजिक सम्बन्ध र एकताहरु टुट्ने र फुट्ने डर बाँकी नै छन् ।

हरेक परिवर्तनकारी जागरण र ताँतीमा प्रसव पीडा हुन्छ । जसरी एउटी आमालाई बच्चा जन्माउँदा पीडा र वेदना हुन्छ । तर, त्यो पीडा सधैं समाजिक जीवनमा बिझाइरहृयो भने त्यो समाज र राष्ट्रका लागि अनुत्पादक हुन्छ ।

जब-जब सामाजिक मूल्य र मान्यताहरु चुँडिन्छन्, तब-तब सामाजिक दुराचार र अप्ठेराहरुले पश्रय पाउँछन् । र, सामाजिक विश्रृखलाको परिणामस्वरुप समाजमा तनावको पैदा हुन्छ । यस प्रकारको सामाजिक तनावको वृहत्तर रुप नै समाजिक द्धन्दको कारण बन्छ ।

विगत विश्वमा कैयौँ मुलुकहरु समाजिक परिवर्तनको कुशल व्यवस्थापन गर्न नसक्दा सामाजिक द्वन्द्वको चक्रव्यूहमा फस्नुपरेको इतिहास सुरक्षित छ । लोकतान्त्रिक मूल्य र मान्यता अंंगीकार गरेको समाजमा प्रत्येक नागरिकलाई अधिकारको प्यास मेटाउने अधिकार सुरक्षित छ। साथै कर्तव्यको भोग पनि सिर्जना हुने ब्यवधान हुन्छ । आफुले पाएको अधिकारको स्वयम आफैंले संरक्षण र प्रवर्द्धन र अर्कोको अधिकारप्रति स्यालूट र सम्मानन गर्नुपर्ने नैतिक बाध्यता रहन्छ ।

समाजको रहेको सीमित स्रोत साधन र त्यसको अन्यायपूर्ण वितरणको जडबाट सामाजिक तनाव सिर्जना हुने गर्दछ । सामाजिक अवसर, स्रोत साधान र लाभहरुको समन्यायिक ढंगले वितरण गर्न नसक्दा र गर्न नजान्दा सामाजिक रोषहरुको पैदा हुन्छन् र तिनै शासन व्यवस्थाका अप्ठ्याराहरु बन्दछन् ।

पहिचानको बेवास्था, अधिकारको कटौती, आर्थिक तथा विकासात्मक लाभको वितरणमा विभेद र सामाजिक अवसरहरु ठालू (टाठाबाठा)हरुको हातमा पुग्ने गरेको वर्तमान अवस्थाबाट उन्मुक्ति नपाउने हो भने कालान्तरमा समाज ध्रुबिकृत हुने र समाज, समाजिक द्वन्द्वको मुस्लोमा होमिने खराब अवस्थाको सिर्जना हुने खतरा रहन्छ । सामाजिक दुःखेसो र सामाजिक पीडाहरुमा मल्हम लगाउँदै नजाने हो भने सामाजिक विरक्तताले पूश्रय पाई सामाजिक द्वन्द्वको प्रादुर्भाव हुने डर रहन्छ ।

कुनै पनि मुलुकमा सामाजिक जटिलतापश्चात दिगो रुपमा रहिरहने संक्रमणकाल समाजको वृहत्तर विकास र हितका लागि शुभ संकेत हुन सक्दैन । नेपाली समाजले अनेकौं किसिमका सामाजिक उथल पुथलहरुको सामना मात्रै गरेको अवस्था छ । उथल पुथलबाट प्राप्त लाभको अंशियार बन्न कसरत जारी रहेको अवस्था छ । सापेक्षिक रुपमा परिवर्तन मात्र भयो प्रगति भएन । प्रगतिविनाको परिवर्तन टुहुरो हुन्छ । निन्याउरो हुन्छ ।

द्वन्द्वका कारण र परिणाम खोज्न कुनै विश्वविद्यालय धाउनुपर्दैन । यसका लागि सिधा सिधा गाउँबस्तीहरुमा पुगेर हेरे हुन्छ । विकासको गति, सामाजिक न्यायको पक्ष, आर्थिक समाजिक उपलब्धिहरुको वितरणको अवस्था, र सामाजिक सहिष्णुताको विद्यमान अवस्था र सुशासनको स्पर्श गर्न समाजको तल्लो छेउमा उभिएर माथितिर हेर्‍यो भने देखिन्छ । टाकुरा (केन्द्र) बाट हेर्दा त नजरले भेटेसम्म समान नै लाग्छ । पहिचान र परिचयको संकट र त्यसको संरक्षण र सम्मानमा देखिएका समस्या पनि सामाजिक द्वन्द्वका रुपमा मौलाएका छन् । पछिल्लो समय सामाजिक मतभेद तीव्ररुपमा समाजको अगाडि देखापरेका छन् ।

यस प्रकारका मतभेदहरुलाई समयमा नै पहिचान गरेर निमिट्यान्न पार्न सकिएन भने कालान्तरमा द्वन्द्वको कारण बन्न सक्छन् । सामाजिक सल्लाह र पवित्रतालाई जोगाउन सकिएन, संरक्षण गर्न सकिएन र टिकाउन सकिएन भने कालान्तमा सामाजिक रोसहरु तिव्ररुपमा प्रकट भई सामाजिक सौहार्दता, सामाजिक सहिष्णुता र सामाजिक मेलमिलाप विखण्डको दिशामा उन्मूख हुने अवस्था आएमा सामाज र राष्ट्रले कल्पना नगरेको अर्को अपुरणीय क्षति व्यहोर्नुपर्ने खतरा बढ्दो छ ।

संक्रमणकालको बादलभित्र सीमित वर्गको हितका लागि राजनीतिक तथा प्रशासनिक गतिविधिहरु संचालन हुने हाम्रो-राम्रो संस्कारको अन्त्य भए भने अवस्था झनै भयानक हुने देखिन्छ ।

लोकतान्त्रिक लाभ र हिंसाहरु सीमित वर्ग, व्यक्ति र समुदायको हातमा पुग्ने र अर्को व्यक्ति-समुदाय विमूख हुनुपर्ने वर्तमान अवस्थामा कुनै संरचनात्मक र गुणात्मक परिवर्तन आएन भने औपचारिक समावेशीकरण र सीमित जनसहभागिताले अर्को खतरा निम्त्याउने सम्भावना देखिन्छ ।

ठालु, डन र इलाइटहरुले लोकतन्त्रिक मूल्य मान्यता र संस्कारको आˆनो हित अनुकुल प्रयोग गर्ने हो भने यो लोकतान्त्रिक चरित्रको विकृत रुप पँजनीतन्त्रमा रुपान्तरण हुने देखिन्छ ।

लोकतन्त्र निश्चित कोटीका पाण्डवहरु नाच्ने र उफ्रिने थलो होइन बरु यो त साझा चौतारी हो, जहाँ सबै वर्गका क्षेत्रका मानिसहरु सामूहिक रुपमा भजन कीर्तन गर्ने संगमस्थल हो । यहाँ तेरो-मेरो होइन, हामी-हाम्रो भन्ने संस्कारको विकास भएको अनुभूति गरिन्छ । र गर्न पाउनुपर्छ । जबसम्म समाज र समुदायमा लोकतान्त्रिक चिसो पस्न सक्दैन, तबसम्म लोकतन्त्र सीमित छेउमा मात्र थन्किन्छ । अन्ततः अर्को समाजिक आन्दोलनको सामना गर्नुपर्दछ ।

नेपालले प्रजातन्त्रका लागि पटकाैं पटक आन्दोलन गर्नुपर्ने अवस्था नै आउने थिएन । लोकतन्त्रको प्राप्तिका लागि मात्र नेपालले दशकौँ बिताइसकेको छ । यसको उपलब्धि कर्णालीको हर्के र धनुषाको मुसहरले प्राप्त गरेको जस्तो लाग्दैन । त्रिशुलीको किनारमा बालुवा चाल्ने र कालीगण्डकीमा किनारमा सुन खोज्नेहरुको मुहारमा रतिभर कान्ति देखिँदैन । उनीहरुलाई लोकतन्त्रको तापले छुन त के स्पर्शसम्म गर्न सकेको छैन ।

लोकतन्त्र, आर्थिक समाजिक एवं विकासात्मक लाभहरुको रस जबसम्म समाजको तल्लो तप्कामा जुन दिनसम्म पुग्दैन, त्यो दिनसम्म लोकतन्त्र निरही भइरहन्छ । लोकतन्त्र कमजोर हुनु भनेको समाज कमोजर हुनु हो । समाज कमजोर हुनु भनेको सामाजिक विश्रृंखला बढ्नु र अन्ततः सामाजिक द्वन्द्व निम्त्याउनु हो ।

लोकतन्त्रको प्रयोग र अभ्यास राज्य एक्लैले मात्र गर्ने गर्दैन यसको लागि राज्यअन्तर्गतका निकाय र आम नागरिकहरुको परस्पर छलफल र समन्वयबाट हुने गर्दछ । यसका लागि नागरिकमा नागरिक चेतना र राज्यमा लोकतन्त्रिक चेतना र चरित्रको विकास हुन आवश्यक हुन्छ । साथै समाजले परिवर्तनलाई पचाउन सक्ने क्षमताको समेत विकास हुन आवश्यक पर्दछ ।

संघीयतामा घिसि्रनै लाग्दा सामाजिक द्वन्द्वलाई न्यूनीकरण गरेर सामाजिक द्वन्द्वका तरंगहरुलाई अन्तरमनमा अन्तरघुलित पार्न सक्यौं भने हाम्रो सामाजिक परिवर्तनको अभियानको सार्थकता झल्कने र समाजले प्रगतिको स्वाद चाख्ने अवस्थाको सिर्जना हुन सक्छ । समय हुँदै र छँदै सोचौँ । सामाजिक एकता, आत्मियता र हार्दिकतालाई जोगाइराख्न तत् क्षेत्र र तहबाट आ-आफ्नो लगानी गरौँ । नेपालीहरुको एकताको भावलाई विश्व सामु फेरि परिचित गराउन संकलप गरौँ । उद्घोष गरौँ ।

नेपाललै नरहे हामीकहाँ रहौँला ? नेपालीहरुको सामाजिक अमिटता, अटुटता र अटलता जुनी-जुनी झल्किरहोस्, पंक्तिकारको शुभेक्षा ।

लेखकको बारेमा
तुल खड्का

राजनीतिशास्त्र र द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका लेखक राजनीतिक र प्रशासनिक विषयमा रूचि राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?