Comments Add Comment

राजविराज घटनाः फिल्डमा जे देखियो, त्यही लेखियो

प्रहरीले चलाएको गोली लागेर सोमबार सप्तरीमा तीन जनाको ज्यान गयो । नेकपा एमालेले प्रारम्भ गरेको मेची-महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक दर्जन बढीलाई गोली लाग्यो ।

गोली लागेका मध्ये मलेठ गाविस २ का सञ्जन मेहता, मलेठ गाविस ४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साहको ज्यान गएको छ ।

मृतक मध्ये मेहताको घट्नास्थलमै ज्यान गएको हो भने मण्डललाई उपचारका लागि धरान लग्दै गर्दा र साहको उपचारका क्रममा धरानमै मृत्यु भएको हो ।

सञ्जनको टाउकोमा गोली लागेको थियो भने अन्यको छातीमा गोली लागेको छ ।

घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।

प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्द्रीय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, सञ्जय यादवसमेत लाठी चार्जबाट घाइते भएका छन् ।

झडपमा परी केही प्रहरी समेत घाइते भएका छन् ।

दर्जनौं पटक भयो झडप

एमालेको सभा राजविराजभन्दा तीन किलोमिटर उत्तर रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र चलिरहँदा बाहिर मोर्चा र प्रहरीबीच झडप भइरहेको थियो । करिब चार घण्टासम्म झडप चलेको थियो ।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अभियान औद्योगिक क्षेत्रमा पुगेर शुरु भएपछि अभियान झन् तिब्र बनेको थियो । नेता माधव नेपाल बोलिरहँदा अश्रु ग्यास र हवाई फायर शुरु भएको थियो । मान्छेलाई नै लक्षित गरी प्रहरीले गोली चलाउनु अघि करिब दुई सय राउण्ड अश्रु ग्यास र एक सय राउण्ड हवाई फायर गरिएको थियो ।

प्रदर्शनकारीले प्रहार गरेको ढुँगा लागेर चार जना प्रहरी घाइते भएपछि प्रहरी कडा रुपमा प्रस्तुत हुँदै गोली चलाउन शुरु गर्‍यो । प्रहरीले गोली चलाउँदा कसैको पेट, कसैको टाउको र शरीरको अन्य भागमा गोली लाग्यो ।

झडपका क्रममा शुरुदेखि नै सप्तरीमा एमालेको कार्यक्रम हुन नदिने अडान लिएको मधेसी मोर्चाले दिउँसो दुई बजेसम्म राजविराजमा र त्यसपछि औद्योगिक क्षेत्रमा प्रदर्शन गर्न शुरु गरेको थियो । औद्योगिक क्षेत्रदेखि दुई सय मिटर आसपास क्षेत्रमा प्रहरी परिचालन भई आवतजावतमा रोक लगाइएको थियो । प्रहरीले रोक लगाएपछि मोर्चा नेता/कार्यकर्ताहरुले औद्योगिक क्षेत्र अगाडिको गहुँ खेतमा गएर कालो झण्डासहित प्रदर्शन गरिरहेका थिए ।

प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठी चार्ज गरेका थिए भने प्रदर्शनकारीले माटाका डल्ला फ्याँक्ने क्रम दर्जनौं पटक चल्यो । भित्र कार्यक्रम भइरहँदा झडप धेरैपटक भइसकेको थियो । कार्यक्रम सकिनै लाग्दा प्रहरीले गोली चलाउन शुरु गर्‍यो । एमालेको कार्यक्रम चलिरहँदा झडप भइरहे पनि अवस्था भयावह बनिसकेको थिएन ।

सप्तरी प्रवेश गर्नुअघि एमालेले आफूहरु संयमित भएर सभा गर्ने जनाएको थियो । यहाँसम्म एमालेको अभियान आउँदा कार्यकर्ताहरु संयमित नै थिए । अभियानमा आउने बेलासम्म मोर्चा कार्यकर्ताहरु लगभग गलिसकेका थिए । यसअघि नै मोर्चाका मुख्य नेताहरुलाई प्रहरीले गिरफ्तार गरिसकेका कारण प्रहरीसँग झडप गरिरहेका कार्यकर्ताहरु घर फर्किने सुरमा थिए ।

स्थिति लगभग सामान्यजस्तै बनिसकेको थियो । मोर्चा कार्यकर्ताहरु एकै ठाउँमा बसिरहेका थिए । त्यही क्रममा प्रहरी भएतिरबाट तीन/चार जनाको संख्यामा मोर्चा कार्यकर्ता भएतिर ढुंगा हान्न शुरु गरियो । प्रहरीतिरै रहेका एमाले कार्यकर्ताहरुले एक्कासी ढुँगा फ्याँक्न शुरु गरेपछि मोर्चा कार्यकर्ताहरु आक्रोशित भए ।

एमाले कार्यकर्ताहरुले करिब पाँच मिनेटसम्म मोर्चातिर ढुंगा हानेपछि प्रहरीले केहीलाई साइड लगायो । तर, पनि एमाले कार्यकर्ताहरुले ढुंगा प्रहारलाई निरन्तरता दिए ।

झडपस्थलमा रहेका सञ्चारकर्मीहरुले प्रहरीको संरक्षणमा मास्क लगाएर आएका एमाले कार्यकर्ताहरुले ढुंँगा फ्याँकेका दृश्यहरु क्यामेरामा कैद गरेका छन् ।

प्रहरीको पुरानै कुरा

प्रहरीले घटनाको कुनै अनुसन्धान नै नगरी प्रदर्शनकारीबाट पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनुपरेको उल्लेख गरेको छ । पूर्वाञ्चलका डीआइजी रमेश भट्टराईले बिराटनगरबाटै यस्तो प्रतिक्रिया दिएका छन् ।

मोर्चा नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले प्रहरीले मोर्चालाई बदनाम गर्न यस्तो आरोप लगाएको बताए । उनले प्रहरीलाई यो कुरा प्रमाणित गरेर देखाउन चुनौति दिए ।

पानी फोहरा दिने गाडी देखाउन मात्रै

एमालेको अभियानसँगै सुरक्षाकर्मीले पानीको फोहरा दिने गाडी समेत मगाएको थियो । झडप भइरहेकै ठाउँमा यो गाडीलाई उभ्याएको थियो । तर, झडप भइरहँदा यो गाडीको प्रयोग प्रहरीले गरेनन् । एमाले कार्यकर्ताले ढुँगा फ्याँकेपछि तिब्र बनेको झडपमा प्रहरीले एक्कासी अश्रु ग्यास प्रहार शुरु गरेको थियो । यसपछि हवाई फायर र व्यक्तिलाई ताकेरै गोली चलायो ।

आयोग पदाधिकारीले सुने भाषण !

एमालेको अभियानसँगै राष्ट्रिय मानवअधिकार आयोगका पनि चार जना प्रतिनिधि सप्तरी आएका छन् । भित्र कार्यक्रम चलिरहेको र बाहिर झडप भइरहेको अवस्थामा ती प्रतिनिधिको काम के हुन्थ्यो ? यो प्रश्नको उत्तर शायद यही हुनुपर्छ कि झडपको अनुगमन गर्नुपर्‍थ्यो । तर, ती आयोगका प्रतिनिधिहरुले झडपको सुइँकोसम्म पाएनन् । उनीहरु एमाले नेताहरुको भाषण सुन्न व्यस्त भए ।

घटनापछि जिल्ला तनावग्रस्त, भारदहमा सवारी साधन तोडफोड

चारजनाको ज्यान जाने गरी भएको घटना पश्चात सप्तरी जिल्ला तनावग्रस्त बनेको छ । व्यक्तिको ज्यान जानेबित्तिकै तीनवटा मोटरसाइकल घटनास्थलमै जलाइएका छन् । जलेका दुईवटा मोटरसाइकलको नम्बर फेला पर्न सकेको छैन । अर्काे स.४ प ६०७२ नम्बरको स्कुटीमा आगजनी भएको छ ।

उता भारदहमा दुई दर्जनभन्दा बढी सवारीसाधनलाई तोड्फोड गरिएको छ । आक्रोशित रहेका मोर्चा कार्यकर्ताहरुले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई दर्जन सवारीसाधन तोडफोड गरेका छन् ।

घटनापछि अब के गर्ने ? भन्ने सन्दर्भमा मधेशी मोर्चाका नेता/कार्यकर्ताहरु राजविराजमा छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment