Comments Add Comment

स्थलगत रिपोर्टः राजविराजमा गोली चल्दा केपी ओली स्तब्ध

काँकडभिट्टदेखिको 'क्याराभान' राजविराज पुगेर यसरी बिथोलियो

२४ फागुन (कञ्चनपुर, सप्तरी) ।  पूर्वक्षेत्रका सुरक्षा प्रमुखहरुले एमालेको मेची महाकाली अभियान सुनसरीबाट सप्तरीतर्फ अघि बढ्ने पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताहरुलाई राजविराजको अवस्थाबारे ‘ब्रिफिङ’ गरे । फागुन २२ गते साँझ सुरक्षा अधिकारीहरुको रिपोर्ट सुनेपछि एमालेले राजविराज प्रवेशको रुट र कार्यक्रमस्थल परिवर्तन गर्‍यो ।

इटहरीको गोर्खा डिमार्टमेन्ट सेन्टरको छैठौं तल्लामा बसेको स्थायी कमिटी बैठकले हनुमाननगरबाट राजविराज प्रवेश गर्दा जनधनको क्षति हुने निष्कर्ष निकाल्दै एमाले बाहुल्य रहेको रुपनगर क्षेत्रबाट आमसभास्थलमा पुग्ने सुरक्षित अवतरणको बाटो रोज्यो । फागुन २३ गते विहान पनि सुरक्षा अधिकारीहरुले एमालेका नेताहरुलाई राजविराज आसपासको अवस्थाको जानकारी दिइरहेकै थिए ।

गोली चल्दा ओली स्तब्ध

जे नहोस् भनेर एमाले नेताहरुले अभियानको रुट र सभास्थल परिवर्तन गर्नेदेखि हदैसम्मको संयम अपनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए, आखिर त्यही चाहिँ भयो ।

एमाले सचिव योगेश भट्टराई आफैं उभिएर कार्यकर्तालाई चुपचाप आ-आफ्नो सवारी साधनमा बस्न निर्देशन दिइरहेका थिए । प्रहरीले नियन्त्रण गर्न सकिने संख्यामै मोर्चाका प्रदर्शनकारी थिए ।

सबैतिर छरिएका प्रदर्शनकारीहरुको टाउको गन्ने हो भने पनि एक हजार भन्दा बढी थिएनन् । जबकि एमालेका सभाका सहभागी र अभियानका टोलीका मान्छेहरु समेत गन्दा करीव १० हजारको हाराहारीमा थिए ।

एमाले नेताहरुले राजविराजमा शक्ति प्रदर्शन गरियो भन्दै प्रतिष्ठाको जित भएको महशुस गरिरहेकै बेला गोली चलेपछि अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु स्तब्ध देखिन्थे । उनीहरुले ढुंगा हान्ने मोर्चा कार्यकर्तामाथि जाई नलाग्न कार्यकर्तालाई कडा नियन्त्रणमा राखेका थिए । बरु इनरुवामा मोर्चाको कालोझण्डा खोसेर लखेट्ने काम भएको थियो । तर, राजविराजमा सबै कार्यकर्ता नियन्त्रणमै थिए ।

प्रचण्ड ओली वार्ताः षडयन्त्रको अभास

अन्ततः जसरी पनि राजविराजमा मान्छे मारेर परिस्थिति भड्काउने योजना सफल भएको भन्दै एमाले नेताहरु रुपनगरमा पुगेर समिक्षा गर्न बाध्य भए । यसबीचमा ओलीले प्रधानमन्त्री प्रचण्ड र सुरक्षा अधिकारीहरु सबैसँग कुरा गरेपछि ‘ठूलै षडयन्त्रको आभास’ पाइएको बि्रफिङ बैठकमा गरे । प्रचण्डले ओलीलाई बाँकी कार्यक्रम स्थगित गरेर काठमाडौं आइदिन विनम्र आग्रह नै गरे ।

सरकारी संयन्त्रसँगको कुराकानीमा सोमवार राजविराजमा अझ ठूलो संख्यामा मान्छे मार्ने योजना बनाइएको, तर एमालेको संयमले कम क्षति भएको ठहर गरेपछि सिराहा, जनकपुरलगायत २ नम्बर प्रदेशका निर्धारित कार्यक्रम स्थगन गर्ने निचोडमा एमाले नेताहरु पुगे ।

त्यसपछि ओलीसहित प्रमुख नेताहरुलाई रातारात प्रहरीले इटहरी र विराटनगर पुर्‍यायो । अभियानका अन्य सहभागीहरु विभिन्न रुट हुँदै बर्दिबास, गाईघाट वा पूर्वतिर लागे ।

राजविराजका होटल रहस्यमय बुकिङ

राजविराजका प्रायः होटलहरु रहस्यमय रुपमा २२ गते नै बुक भएपछि प्रहरीले त्यसको अनुसन्धान गर्‍यो । गाउँ गाउँबाट र अन्यत्र जिल्लाबाट आएका मोर्चा कार्यकर्ताहरुले होटल बुक गरेको थाहा पाएपछि एमालेको भन्दा ठूलो मास मोर्चाको हुने अनुमान लगाइयो । राजविराजका अधिकांश होटलमा अपरिचित व्यक्तिहरु बसेका थिए भने केही होटल एमालेका कार्यकर्ताले बुक गरेका थिए ।

अपरान्ह एमालेको अभियान इनरुवाबाट अघि बढ्दा प्रहरीले एमाले नेताहरुलाई थप सूचना दिए-मोर्चाका कार्यकर्ताहरु ५/७ सयको संख्यामा छन् । तपाईहरुको मास जतिसक्दो ठूलो बनाउनुस, उनीहरु आफैं पाखा लाग्छन् ।

प्रदर्शनकारीहरुको संख्या कम भएकाले राजविराजमा कुनै अप्रिय घटना नहुने अनुमान सबैको थियो । सामान्य कालोझण्डा र नाराबाजीलाई एमालेका नेताहरुले पनि गाडीबाटै हेरेर सामान्यरुपमै लिएका थिए ।

राजमार्गका कालो र सेतो झण्डा बराबर

आफ्नो शक्ति देखाउन एमाले सप्तरीले कञ्चनपुर, फत्तेपुर, रुपनी, महुली लगायतका गाउँ गाउँबाट बसमा समर्थक र कार्यकर्ता ओसारेर राजमार्गमा जम्मा गरे ।
स्थानीय कार्यकर्ता र शुभेच्छुकसहितको केन्द्रीय टोली अघि बढ्दा दश/बीस जनाको संख्यामा उभिएर कालो झण्डा देखाउने बाहेक सडकमा कुनै अवरोध थिएन । राजमार्गमा कालोझण्डा देखाउनेहरुको संख्या कहिँ पनि २०/३० जना भन्दा बढी थिएन ।

एमालेको अभियान सुनसरी कटेर कोशी ब्यारेजबाट सप्तरीतर्फ अघि बढ्दा सबैभन्दा ठूलो बिरोध प्रदर्शन भारदहमा देखियो । जहाँ बढीमा एक सयजनाको संख्यामा प्रदर्शनकारीहरुले कालोझण्डा देखाएर एमाले र केपी ओलीविरुद्ध नाराबाजी गरिरहेका थिए ।

राजमार्गमा एमालेका अभियानको स्वागतमा सूर्य चिन्ह अंकित सेतो झण्डा र बिरोधमा कालो झण्डासहित उभिनेहरुको संख्या लगभग उस्तै उस्तै थियो । कतिपय ठाउँमा स्वागत र बिरोध गर्नेहरु मिलेरै आ-आफ्नो कर्तव्य पूरा गरिरहेका देखिन्थे ।

राजविराजको सभाःएमाले नेताको उत्साह

एमालेको अभियान राजविराज नजिक गजेन्द्रनारायण सिंह औद्योगिक केन्द्रमा प्रवेश गरुञ्जेल पनि परिस्थिति सामान्य नै थियो । मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले चार पाँच सय मिटर परै गहुँ खेततिर रोकेर राखेको थियो । अभियानका क्रममा झापा, मोरङ र सुनसरीका सभाहरु भन्दा राजविराजको सभा निकै व्यवस्थित र मास पनि उल्लेख्य थियो ।

तीन दिनका क्रमममा भएका सभामध्ये विराटचोकको भन्दा पनि ठूलो मास राजविराजमा देखिएपछि एमाले नेताहरु पनि उत्साहित देखिएका थिए । अन्यत्रका सभाहरु सडकमा भएका थिए, सप्तरीको सभा ठूलो मैदानमा भएको थियो र मान्छेहरुले बसेरै भाषण सुनेका थिए । एमालेले जितेको सप्तरी क्षेत्र नम्बर ४ लगायत आसपासका क्षेत्रबाट मधेसी समुदाय पनि उल्लेख्य संख्यामा एमालेको सभामा पुगेका थिए ।

एमालेभित्रका मधेसीको आक्रोस

एमाले नेताहरुले मैथिलीमै भाषण गरेर आफूहरु मधेस बिरोधी होइनौं भन्ने पुष्टि गर्न खोजे । तर, केन्द्रका एमाले नेता भन्दा जिल्ला तहका मधेसी मूलका एमाले नेताहरु मधेसी मोर्चाप्रति बढी आक्रामक देखिए । मोर्चाको ज्यादती खेप्नु परेकाले पनि उनीहरुमा आक्रोश देखिएको हुन सक्छ । उता विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका नेताहरुले पनि केपी ओली र एमालेविरुद्ध नाराबाजी गरेर उस्तै आक्रोश पोखिरहेका थिए ।

करीब एक घण्टाको सभा सकिँदासम्म गाउँ गाउँबाट जुलुससहित आएका समर्थक र कार्यकर्ताहरु सभास्थलभित्र प्रवेश गरिरहेका थिए । कतिपय ठाउँमा मोर्चाका कार्यकर्ताले एमालेको अभियानमा आउन अवरोध गरेको र कुटपिट समेत गरेको भन्दै एमाले जिल्ला सचिव शम्भु यादवले मञ्चबाटै आपत्ति जनाए ।
राजविराज जाने सडकमा तनाव जारी रहेकाले एमाले नेताहरु जतिसक्दो चाँडो कार्यक्रम सकेर कञ्चनपुर जान चाहान्थे ।

गाडी तोडफोडः मोटरसाइकलमा आगजनी

यसबीचमा केही प्रदर्शनकारीले औद्योगिक क्षेत्र बाहिर सडकमा लहरै रोकिएका करीव दुई दर्जन सवारी साधनमा तोडफोड गरे । एउटा मोटरसाइकल दनदनी बलिरहेको थियो । जब एमालेको सभा शान्तिपूर्ण रुपमा सकिएर अभियान टोली फर्किन लाग्यो, तब रहस्यमय रुपमा परिस्थिति भड्काइयो ।

पार्किङ गरिएका गाडीहरु फुटाइए । सभास्थलभित्र रहेका एमाले कार्यकर्ता बाहिर आउन खोज्दा प्रहरीले र एमालेकै नेताहरुले रोकेर परिस्थिति बिगि्रन नदिने प्रयास गरेको देखिन्थ्यो । तर, परिस्थिति यसरी भड्काइयो कि एकाएक आगजनी र पेट्रोल बम प्रहार भयो । एमालेका नेताहरु औद्योगिक क्षेत्रको मैदानबाट बाहिर निस्कनै लाग्दा बाहिर सडकमा चार/पाँचपटक गोली चलेको आवाज आयो ।

अश्रुग्याँस र हवाइ फायर गरेको अनुमान त्यतिबेला गलत सावित भयो, जतिबेला सडकमा प्रदर्शनकारीको मृत्यु भइसकेको थियो । करीव डेढ हजारको संख्यामा परिचालित सुरक्षाकर्मीले सहजरुपमै एमालेको अभियान टोलीलाई राजमार्गसम्म लैजान सक्ने अवस्था हुँदाहुँदै गोली किन चल्यो ? एमालेका नेताहरु नै अचम्मित भए ।

गोली किन चल्यो ? रहस्यमय

ओली र प्रचण्डबीच ठूलै षडयन्त्रको आभासको कुरा किन भयो ? आखिर कार्यक्रम सकिएर एमाले टोली फर्किएपछि किन गोली चल्यो ? यसका पछाडि गम्भीर राजनीतिक अन्तर्य लुकेको एमाले नेताहरुले गरे । अर्को गौर हत्याकाण्ड मच्चाउने षडयन्त्र भइरहेको बुझेपछि एमालेले २ नम्बर प्रदेशका अरु कार्यक्रम तीन दिनलाई स्थगन गरेको एमालेका एकजना पदाधिकारीले बताए ।

राजविराज घटनापछि बिभिन्न कित्ताका बुद्धिजीवी विश्लेषकहरुले आ- आफ्नै ढंगले बुद्धिविलास गर्ने मौका पाएका छन् । तर, काँकडभिट्टदेखि राजविराजसम्मका सबै घटनाक्रमको एक प्रत्यक्षदर्शीको आँखाबाट हेर्दा के देखियो भने-एमालेको अभियानलाई राजविराजदेखि जनकपुरसम्म पुग्दा ठूलो ‘सेबोटेज’ गर्ने र २ नम्बर प्रदेशमा चुनाव हुन सक्दैन भन्ने कुरा सिद्ध गर्ने प्रयत्न थियो, यसमा मोर्चा मोहरा मात्रै बनेको हो ।

मात्रिका पौडेल

प्रदर्शनकारीहरु कुनै दल विशेषका थिएनन् । प्रायः १५/१६ वर्षका किशोर थिए । प्रदर्शनलाई हिंसात्मक बनाउन गृहमन्त्री बिमलेन्द्र निधीकै पार्टीका कार्यकर्ता पनि सहभागी रहेको स्थानीय पत्रकारले देखे ।

राजविराजको सभालाई एमाले र एमाले बिरोधी दुवै पक्षले प्रतिष्ठाको विषय बनाए । आफ्नो कारणले हिंसा नहोस भनेर एमाले एक कदम पछि हट्यो । तर, बिरोधी पक्ष झनै आक्रामक बन्दा यस्तो घटना भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

रक्तपातको योजना कसले थाहा पायो ?

कुनै न कुनै रुपमा परिस्थितिलाई भड्काएर रक्तपात मच्चाउने योजना यसअघि नै बनिसकेको थियो । यसको आभास प्रधानमन्त्री प्रचण्डले पाइसकेका रहेछन् । सायद गृहमन्त्रीले झनै राम्रोसँग बुझेका थिए । तर, एमाले नेतृत्वले यो अभास किन घटना भएपछि मात्र पायो ? कि यस्तो हुन्छ भन्दाभन्दै पनि राजविराजको सभालाई आफ्नो प्रतिष्ठा बनायो ? यसको जवाफ आउन जरुरी छ ।

राजविराज घटना नियोजित थियो भन्नेमा कुनै विमति छैन । तर, यसको आभास ढिलो पाउनु एमाले नेतृत्वको कमजोरी हो । मधेसी मोर्चालाई कुनै पनि निहुँ नदिने एमालेको योजना २ नम्बर प्रदेश प्रवेश गरेको पहिलो दिनमै असफल हुनुमा गृहमन्त्रीको पनि अप्रत्यक्ष योगदान रहेको आशंका सत्तारुढ गठबन्धनभित्रै पनि भइसकेको छ । यो घटनामा कसको के कमजोरी रहृयो ? सरकारले निष्पक्ष छानविन गरेर यथार्थ सार्वजनिक गर्नुपर्छ ।

एमाले राजविराज जानु हुँदैन थियो, एमाले मधेस पसेकै कारण यस्तो घटना भयो भन्ने तर्क गर्ने हो भने नेपालमा राजनीतिक दलका पसलहरु बन्द गरे हुन्छ । कुनै एउटा राजनीतिक पार्टी आफ्ना धारणा लिएर देशको कुनै निश्चित भूभागमा जानुहुँदैन भन्ने हो भने यो मुलुकमा लोकतन्त्र नै चाहिँदैन भने हुन्छ ।

मोर्चाको आवरणमा निषेधको राजनीति

यदि एमालेलाई मधेस विरोधी भनेर उसको कार्यक्रमको बिरोधमात्र गर्ने उद्देश्य थियो भने, मोर्चा त्यसमा सफल भइसकेको थियो । इनरुवादेखि नै बिभिन्न ठाउँमा सांकेतिक रुपमा मोर्चा कार्यकर्ताले कालोझण्डा सहित विरोध गरेकै थिए । एमाले नेताहरुले ती सबै बिरोध प्रदर्शन आफ्नै आँखाले देखका थिए र कानले सुनेका थिए । ओली विरुद्ध व्यक्तिगत नारा उनी आफैंले सुनेर मुस्कुराएकै थिए ।

लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई कार्यक्रम गर्नै नदिने, निश्चित भूभागमा छिर्नै नदिने चरित्रले भोलि यो देशका कुनै पनि भूभागमा कुनै न कुनै पार्टीलाई अर्को पार्टीले छेक्न सक्छ । यो संस्कार बसाउन खोज्नु दुर्भाग्यपूर्ण हो ।

सप्तरीमा एमालेले पनि चुनाव जितेको छ, जबकि मोर्चाले सबै क्षेत्रमा हारेको छ । त्यहाँ एमालेलाई कार्यक्रम नै गर्न दिन्नौं भन्नु निषेधको राजनीति हो ।
हिजो एमालेलाई राजविराज पस्न नदिन हिंसात्मक घटना गराउनेहरुले भोलि कांग्रेस र माओवादीलाई पनि बाँकी राख्दैनन् । त्यस्तै मधेसी मोर्चा आवद्ध दलहरुलाई पनि अर्को ठाउँमा त्यस्तै अवरोध हुन सक्छ । यो प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुँदैन, जुन प्रवृत्ति मोर्चाको आवरणमा राजविराज लगायत २ नम्बर प्रदेशमा देखाउन खोजियो ।

एमाले र मोर्चा को दोषी ?

आज कुनै एक दलमाथि भएको व्यवहारमा ताली बजाउनेहरुले भोलि आफैंमाथि पर्दा साहानुभूति दिने कोही पनि नपाउन सक्छन् । एमालेले यो अवस्थामा राजविराजमा प्रतिष्ठाको सवाल बनाएर सभा गर्नु हुन्थ्यो कि हुन्नथ्यो ? यो प्रश्न गर्न सकिन्छ । तर, एक डेढ महिनाअघि नै निर्धारित एउटा पार्टीको कार्यक्रम बिथोल्न अर्को पक्षले दुई दिनअघि हड्ताल आह्वान गरेर परिस्थितिलाई तनावपूर्ण बनाउनु लोकतान्त्रिक चरित्र होइन ।

एमालेले कार्यक्रम गरेपछि त्यही ठाउँमा त्योभन्दा ठूलो मास जम्मा गरेर उनीहरुले एमालेको भण्डाफोर गर्न सक्थे । एमाले मधेस विरोधी हो भनेर उनीहरुले राजमार्गमा कालोझण्डा देखाएकै थिए । लोकतन्त्रमा बिरोधको जुन स्वरुप छ, त्यो अवसर पाउँदा पाउँदै कार्यक्रम सकिएपछि तोडफोड, आगजनी र पेट्रोल बम प्रहार गर्नुले आन्दोलनकारीको उद्देश्य एमालेको बिरोध गर्नुमात्रै थिएन भन्ने देखाएको छ ।

द्वन्द्व व्यवसायीको शहीद खेती

निषेधको राजनीति गर्न उकास्नेहरुबाट जिम्मेवार दल र नेताहरु सचेत हुनैपर्छ । राजविराज घटना एमालेको हठ भन्दा बढी मधेसी मोर्चाको आवरणमा मधेसमा अशान्ति मच्चाएर द्वन्द्व व्यवसाय चलाउन खोज्नेहरुको नियोजित षडयन्त्रको परिणाम हो । शहीद जति जनताको घरमा भित्रिउन्, शाहदातको मूल्य आफूले असुल्न पाउँ भन्ने मान्यता बोक्ने द्वन्द्व व्यवसायीहरुले मधेसलाई अझै आफ्नो जिम्दारी बनाउँदैछन् ।

आज एमाले र मोर्चा आम्ने साम्ने भए पनि यसको अन्तर्य अरु नै छ, जुन कुरा प्रचण्डले बुझेर ओलीलाई बुझाए । तर, बुझीबुझी गोली चलाउन आदेश दिनेको नियत सफा नभएसम्म, मधेसमा चुनावको वातावरण बन्ने छैन र २ नम्बर प्रदेश बाँदरको घाउ जस्तै हुनेछ ।

किनकि पछिल्ला बिरोध र प्रदर्शनहरु मोर्चाका नाममा भए पनि त्यसको नेपथ्यमा अरु नै छन् । जुन कुरा बुझेर पनि मोर्चाका नेताहरुलाई ‘नखाउँ भने दिनभरिको शिकार’ जस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment