Comments Add Comment

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको प्रश्नः गोली किन टाउकोमा मात्र लाग्यो ?

२४ फागुन, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीन वटै सुरक्षा प्रमुखलाई प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएर सप्तरी घटनाबारे जानकारी लिएका छन् ।

निधिले नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीसँग छलफल गरेका हुन् ।

करिब डेढ घण्टा लामो छलफलमा उपप्रधान एवं गृहमन्त्री आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले भनेका थिए, ‘तपाईँहरु सबै तालिम गरेको भन्नुहुन्छ, आन्दोलनकारीको टाउको र छातीमा मात्रै कसरी गोली लाग्यो ?’

जवाफमा सशस्त्रका आईजीपी र नेपाल प्रहरीका निमित्त प्रमुखले स्थानीय प्रशासनको ऐनमा बसेर नै सोमबार गोली चलाउनु परेको जवाफ दिएका थिए ।

गृहमन्त्री निधिले सोधे, ‘परिस्थिति त्यस्तै परेको भए कम्मर मुनी गोली हान्न सकिँदैनथ्यो ?’

कहिलेकाँही परिस्थितिले तत्काल गोली चलाउनु पर्ने अवस्था आउन सक्ने भन्दै उनीहरुले त्यति बेला गोली जतासुकै लाग्न सक्ने जवाफ दिएका छन् ।

स्थानीय प्रशासन ऐनले आन्दोलन र भीड नियन्त्रण बाहिर गएमा अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनलाई गोली चलाउन आदेश दिन सक्ने अधिकार दिएको छ । र, गोली हान्नैपरेमा कम्मरभन्दा मुनिमात्रै गोली चलाउन पाइन्छ ।

‘हिजो परिस्थिति पनि नियन्त्रण बाहिर गएपछि घटना भयो,’ सुरक्षा प्रमुखहरुले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो ।

गृह मन्त्रालयका प्रवक्ता गोविन्द पन्थीले पनि सुरक्षा निकायबाट परिस्थिति अनुसार गोली चलाउनु पर्ने अवस्था आएको जवाफ दिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘तत्कालिन स्थितिमा परिस्थितिले नै गोली चलाउनु पर्ने अवस्था आएको सुरक्षा निकायले जवाफ छ । बेलुकासम्म रिपोर्ट आउँछ, त्यसपछि मात्रै सबै कुरा भन्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment