Comments Add Comment

मधेस मामिलामा एमालेले महसुस गरेका ४ कमजोरी

दुई नम्बर प्रदेशबाट पछि हट्ने निर्णय, अब के हुन्छ ?

२५ फागुन, सप्तरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान जारी भएपछि पहिलोपटक २ नम्बर प्रदेशको भूमीमा टेकेका थिए फागुन २३ गते सोमवार । एमालेका शीर्ष नेताहरुमध्ये माधवकुमार नेपाल र ईश्वर पोखरेल विभिन्न कार्यक्रम लिएर यसअघि २ नम्बर प्रदेशमा गए पनि ओलीले कतिपय निर्धारित कार्यक्रम अन्तिम समयमा रद्द गरेका थिए ।

यसपटक ओली आफूमात्र होइन, सिंगो एमालेको नेतृत्व साथमा लिएर राजविराज, गोलबजार, जनकपुर, जितपुरजस्ता मधेस आन्दोलन प्रभावित शहरमा जाँदै थिए । उनले आफू २ नम्बर प्रदेश प्रवेश गर्नुअघि रणनीतिक रुपमा २० जना मधेसी नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक रुपमा प्रवेश गराएका थिए । जसमा अधिकांश २ नम्बर प्रदेशकै स्थापित मधेसी नेतादेखि उदाउँदै गरेका युवासम्म छन् ।

एक नम्बर प्रदेशमा उत्साहपूर्ण जनसहभागितापछि हौसिएका ओली करीव ५ हजारको लावा लस्कर लिएर कोशी ब्यारेज पार गर्दा भारदहमा एक सय जनाको संख्यामा मधेसी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाउदै उनकै विरुद्ध चर्का नारा लगाएका थिए । ५० मिटर दूरीबाट लगाइएका ‘मधेस विरोधी ओली मूर्दावाद’ ‘ओली चोर मधेस छोड’ जस्ता नारा उनले नसुन्ने कुरै भएन ।

भारदहबाट हनुमाननगर हुँदै राजविराज प्रवेश गर्ने मार्ग ओलीले मधेसी मोर्चाकै बिरोधका कारण परिवर्तन गरेर कन्चनपुर,महुली,रुपनगर हुँदै राजविराज जाने नयाँ रुट तय गरेका थिए । राजविराज बजारमै प्रवेश गर्दा हुने तनाव टार्न बजारभन्दा यतै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेको सभा तय गर्नु भनेको ओलीले भिडन्त नचाहेको भन्ने बुझ्न सकिन्छ ।

राजमार्गभित्र नपसेको भए यो मानवीय क्षति हुने अवस्था आउने थिएन कि ? कतिपयले यो प्रश्न गरेका छन् । तर एमाले र विशेष गरी ओलीका लागि राजविराज, जनकपुर जस्ता शहरमा आफ्नो उपस्थिति देखाउनु राजनीतिक रुपमा विजयको सन्देश पनि थियो । यहि राजनीतिक बिजय खोज्दा २ नम्बर प्रदेश प्रवेश गरेकै दिन अप्रिय घटना भयो ।

पछिल्लो मधेस आन्दोलनका बेला ओलीलाई मधेसमा ‘खलनायक’का रुपमा प्रस्तुत गर्न आन्दोलनकारीले कुनै कसर बाँकी राखेनन् । ओली विरुद्ध प्यारोडी बनाउनेदेखि उनका भाषणलाई मधेस विरोधी अभिव्यक्तिका रुपमा गाउँ गाउँमा प्रचार गरिएका थिए । जसका कारण ओली मधेस विरोधी नेताका रुपमा मधेसमा एक हदसम्म स्थापित भए ।

यसबीचमा ओली २ नम्बर प्रदेशमा नजानुलाई मधेसी मोर्चाले आफ्नो बिरोधका कारण ओली मधेस प्रवेश गर्न नसकेको अर्थमा प्रचार गरिरहेको थियो । अर्कोतिर माधव नेपाल गौर र सुनसरीको हरिपुराका सभामा गएबाहेक मधेसका मुख्य शहरमा शीर्ष नेताहरु नआउँदा एमाले कार्यकर्तामा निराशा मात्र होइन रक्षात्मक अवस्थामा थिए ।

ईश्वर पोखरेल र बामदेव गौतम सप्तरी, सिराहा र धनुषाका चियापन कार्यक्रममा जाँदा समेत मोर्चा कार्यकर्ताको अवरोध सामना गर्नु परेको थियो । स्थानीय चुनाव घोषणा भइसकेको र एमालेलाई मधेस विरोधी भनेर एकोहोरो ढंगले स्थापित गर्न खोजिएको अवस्थामा मेची महाकाली अभियानको मूल लक्ष्य भनेको मधेसमा एमालेको धारणा राख्नु नै थियो ।

एमालेको अभियान शुरु हुनै लाग्दा मधेसी मोर्चाले सप्तरी र जनकपुरमा बन्द आह्वान गरेर एमालेलाई मधेस पस्न नदिने घोषणा गर्‍यो । मोर्चाका नेताहरुले एमालेलाई भन्दा पनि ओलीलाई मधेसमा पस्न नदिने बताए । सोमवार पनि राजविराजमा जब ओलीले बोल्न थाले त्यसपछि मोर्चाका प्रदर्शनकारीहरु ढुंगामुढामा उत्रिए ।

प्रदेश नम्बर २ का सन्दर्भमा एमाले नेतृत्वले समीक्षा गर्दैछ । तर, प्रदेश सीमांकनदेखि सप्तरी घटनासम्म पुग्दा एमालेले यो प्रदेशका सन्दर्भमा केही कमजोरी भएको महशुस गर्न थालेको छ । एमाले नेताहरूसँगका अनौपचारिक कुराकानीका क्रममा आफ्ना केही कमजोरी महशुस गरेको बुझ्न सकिन्छ ।

कमजोरी १

एमाले महासचिव ईश्वर पोखरेलसँग इटहरीको गोर्खा डिपार्टमेन्ट गेष्टहाउसमा हामीले कुरा गर्दा उनले पार्टी बिधानमै केही त्रुटी भएको स्वीकार गरे । विधानमा ५ उपाध्यक्ष र ५ सचिव व्यवस्था गर्दा कम्तिमा एक उपाध्यक्ष र एक सचिव मधेसीका लागि आरक्षण हुनुपर्थ्यो भन्ने महशुस अहिले आएर भएको पोखरेलले स्वीकार गरे ।

एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा लालबाबु पण्डितले माधव नेपाल प्यानलबाट र धर्मनाथप्रसाद साहले ओली प्यानलबाट प्रतिस्पर्धा गरेका थिए ।

तर, पाँचै उपाध्यक्ष खुला प्रतिस्पर्धा हुँदा बामदेव गौतम, विद्या भण्डारी, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जस्ता नेतासँग उनीहरु टिक्न सकेनन् र पराजित भए । यदि आरक्षण गरिएको भए दुईमध्ये एक उपाध्यक्ष हुने थिए ।

त्यस्तै सचिवमा पनि एमालेका चर्चित मधेसी नेता रघुवीर महासेठ पराजित भए । बिधानको त्रुटीकै कारण एमालेका १५ जना पदाधिकारीमा एकजना पनि मधेसी नेता जित्न सकेनन् । त्यसले गर्दा एमालेमा मधेसीलाई स्थान छैन भन्ने गलत सन्देश प्रवाह भएको महशुस एमाले नेतृत्वले गरेको छ । अब बिधानमा केन्द्रीय सदस्य मात्र होइन, पदाधिकारीमा पनि मधेसीका लागि आरक्षण राखिनुपर्छ भन्ने महशुस भएको महासचिव पोखरेलले बताए ।

कमजोरी २

एमालेको नवौं महाधिवेशनमा पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको स्वतः उम्मेदवार बन्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार लालबाबु पण्डित उपाध्यक्ष हारे पनि केन्द्रीय सदस्य जिते । तर धर्मनाथ साह र रघुवीर महासेठ केन्द्रीय सदस्यमा पनि पराजित भए ।

मधेसीका लागि छुट्याइएको आरक्षण कोटा बाहेक खुलातर्फ नागेन्द्र चौधरी र लालबाबु पण्डितमात्र केन्द्रीय सदस्य बने । धेरै मधेसका स्थापित नेता केन्द्रीय सदस्यमै पराजित भएपछि एमालेमा मधेसीको प्रतिनिधित्व कम भयो । मधेसकै एमाले नेताहरु पार्टीभित्र निराश बन्दै निष्कृय हुन थाले ।

एक वर्षअघि केन्द्रीय सदस्य मनोनयनमा पनि मधेसी नेताहरु परेनन् । जुली महतोलाई विद्या भण्डारीले मनोनयन गर्न खोज्दा पनि विवाद भयो । उतिबेलै मधेसका स्थापित नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेर मधेसमा क्रियाशिल बनाउनुपर्ने रहेछ भन्ने महशुस एमालेले अहिले आएर गरेको देखियो ।

जब मेची महाकाली राष्ट्रिय अभियान लिएर २ नम्बर प्रदेश प्रवेश गर्ने बेला भयो, तब एमाले नेताहरुले बिधान बिर्सिएर मधेसीहरुको सामुहिक प्रवेश गराए केन्द्रीय कमिटीमा । ठूला नेता मिलेपछि बिधान बिर्सन सकिन्छ भन्ने मान्यता पनि स्थापित गरे शीर्ष नेताले । तर मनोनित केन्द्रीय सदस्यहरु मध्ये रघुवीर र लालबाबु यादवले बाहेक अरुले सपथग्रहण नगर्दै सप्तरी घटना हुन पुग्यो । अहिले मनोनित मध्येकै कतिपय नेताहरु मोर्चाको धम्कीका कारण बिस्थापित भएका छन् ।

कमजोरी ३

एमालेले अलि पहिले नै महशुस गरेको अर्को कमजोरी भनेको २ नम्बर प्रदेशको सिमांकनमा ध्यान नदिइएको हो । प्रदेश नम्बर २ मा सप्तरीदेखि पर्साका ८ जिल्लामात्र राख्ने कांग्रेस र एमालेको सहमतिमा तत्कालै एमालेका मधेसी नेताहरुले आपत्ति जनाएका थिए । उनीहरुले यसो गर्दा २ नम्बर प्रदेशमा एमालेको राजनीति गर्न नसकिने गुनासो गरेका थिए ।

संविधान जारी गर्ने सन्दर्भमा कांग्रेससँग मिलेको एमाले नेतृत्वले त्यसबेला उनीहरुको कुरा सुनेन । अहिले आएर एमाले नेताहरु २ नम्बर प्रदेश सीमांकनमा गल्ति भएकै हो भन्छन् । २ नम्बर प्रदेशमा मकवानपुर, सिन्धुली र उदयपुरको कम्तिमा भित्री मधेस क्षेत्र समावेश गरिनुपथ्र्यो भन्ने निष्कर्षमा एमाले नेताहरु पुगेका छन् ।

एक सन्दर्भमा एमाले अध्यक्ष ओलीले हामीसँग भनेका थिए-२ नम्बर प्रदेशको सीमांकनमा हाम्रोतर्फबाट कांग्रेसलाई मनाउने नाममा कमजोरी भएकै हो । उपयुक्त समयमा उपयुक्तः विधिबाट २ नम्बर प्रदेशको सिमांकन हेरफेर गर्न सकिन्छ । सप्तरी घटनापछि एमालेले प्रदेश २ आफ्नो लागि प्रतिकुल बनेको ठहर सायद गर्नेछ ।

कमजोरी ४

एमाले नेतृत्वले खुलेआम स्वीकार गर्न नसकेको तर कहीँ न कहीँ अन्तर कुन्तरमा महशुस गरिएको कमजोरी हो-नेताहरुले मधेस र मधेसीका सन्दर्भमा बेला बखत दिएका अभिव्यक्ति । एमाले अध्यक्ष ओलीले मोर्चा सहितको बालुवाटार बैठकमा मोर्चाका नेताहरुलाई भनेका थिए-समथर भूभाग जति सबै मधेस प्रदेश बनाउने हो भने युपी विहार पनि समथर छ,त्यो पनि चाहियो भन्ने ? मेरो घरको आँगन पनि समथर छ,त्यो पनि मधेस भन्ने ?

ओलीको यो अभिव्यक्ति मधेसम्म पुग्दा मधेसीहरुलाई युपी विहार जाऊ भनियो भनेर प्रचार भयो । उनले त्यसको तत्कालै खण्डन गर्न छाडेर मोर्चाका सांसदलाई आँपको संज्ञा दिए । उनले संविधान जारी गर्ने सन्दर्भमा केही सांसदले बहिस्कार गरेको घटनालाई रुखबाट आँप झरेको अर्थमा अभिव्यक्ति दिए । तर उनले यसो भन्दा मधेसमा मान्छे मरिरहेका थिए । मधेसी मारिदा आँप झरेको कुरा गर्दा उनी विरुद्ध मधेसमा ठूलो आक्रोस बढ्यो ।

त्यस्तै हुलाकी राजमार्गको मानव साङ्लोलाई उनले माखे साङ्लो भने । आँप, युपी विहार र माखे साङलोले ओलीलाई मधेसमा मधेस विरोधी नेताको रुपमा स्थापित गरेकै हो । पछिल्लो समयमा उनले आफ्नो अभिव्यक्तिको आसय ब्याख्या गरे पनि ढिला भइसकेको थियो । यो कुरालाई मधेसका एमाले नेताहरुले पनि महशुस गरेका छन् ।

मधेस आन्दोलनमा सबैभन्दा धेरै मान्छे सुशील कोइराला प्रधानमन्त्री हुँदा मारिए । तर, मधेसमा आक्रोश ओली विरुद्ध नै चल्यो । अहिले प्रचण्ड सरकारको पालामा सप्तरीमा ४ जना मान्छे मारिए । तर मधेसी आन्दोलनकारीको आक्रमणको तारो ओली नै बनेका छन् । मधेसमा ओलीको बोलीका कारण पनि एमाले कार्यकर्ताले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको स्थानीय कार्यकर्ता बताउँछन् । ‘मान्छेलाई गोलीले भन्दा बोलीले दुखाउँछ, नेताहरुले बोल्दा शब्द चयनमा बिचार नगर्दा पनि हामीले तल दुःख पाउछौं’ एक जिल्ला नेताले भने ।

अब २ नम्बर प्रदेशमा के हुन्छ ?

एमालेले मधेसका सन्दर्भमा आफ्ना कमजोरी महशुस गरेरै मधेस केन्द्रित अभियान सन्चालन गर्न लागेको थियो । मधेसी नेताहरुको सामुहिक मनोनयन, सबै नेताहरु एकजुट भएर अभियानमा हिड्दा र चुनाव घोषणा भइसकेको अवस्थामा मधेसको एमाले पंक्तिमा उत्साह पनि जागेको थियो । तर, यो उत्साह तीन दिन पनि टिक्न सकेन ।

सप्तरी घटनापछि मधेसी आन्दोलनकारीको आक्रमणको तारो स्थानीय एमालेका मधेसी नेता कार्यकर्ता नै बनेका छन् । ठाउँ ठाउँमा उनीहरुमाथि धम्की,आक्रमण र कालोमोसो दल्ने कार्य भइरहेका छन् ।

मोर्चाले एमालेका स्थानीय नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने केन्द्रीय कार्यक्रम नै बनाएपछि जिल्लामा एमालेका नेता कार्यकर्ता असुरक्षित बनेका छन् ।

यसबीचमा पार्टीले पनि सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा निर्धारित मधेस अभियानका कार्यक्रम स्थगित गरेर हेटौंडाबाट पश्चिम लाग्ने निर्णय गरेको छ । यसबाट एमाले २ नम्बर प्रदेशमा थप रक्षात्मक बन्न पुगेको छ ।

यद्यपि एमाले सचिव प्रदीप ज्ञवाली भने रक्षात्मक बनेर भन्दा पनि मोर्चाले हिंसाको साहारा लिएकाले एमालेले त्यस क्षेत्रका कार्यक्रम स्थगन गरेको बताउछन् ।

ज्ञवालीले भन्छन्-मोर्चा जुन ढंगले हिंसात्मक ढंगले आएको छ, हिंसा उसको नीति हो भने प्रष्ट भनोस् । होइन भने सप्तरीमा मान्छेको ज्यान लिने काम मोर्चाले गरेको हो । यस्तो अवस्था एमाले हिंसाको हिस्सेदार बन्न चाहँदैन । २ नम्बर प्रदेशमा हाम्रा कार्यक्रम स्थगित भएका हुन् रद्द भएका होइनन् ।

स्रोतका अनुसार एमाले शीर्ष नेतृत्व समक्ष सरकारी संयन्त्रबाटै पुगेको सूचना निकै गम्भीर छ । स्रोतका अनुसार एमालेका नेतृत्वकै सामुहिक हत्या गर्ने वा जनकपुरसम्म पुग्दा रौतहटको गौरमा २०६३ सालमा भएजस्तै कत्लेआम गर्ने योजना बनेको सूचना एमालेले पायो । एमालेका एक नेता भन्छन्-मधेसमा हाम्रो पार्टी संगठन जस्ताको त्यस्तै छ, राजनीति त जहिले पनि गर्ने मैदान खाली छ, तर नरसंहारको योजना सफल हुन नदिन पार्टी २ नम्बर प्रदेशबाट पछि हटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment